अघिल्लो बुलमा ८ हजार पुगेको हिमालयन डिष्टिलरी १३ सयमा झर्यो, अवको बुलमा के होला ? (विश्लेषण)

  • अरुण सापकोटा
  • 2024 May Wed 21:24
अघिल्लो बुलमा ८ हजार पुगेको हिमालयन डिष्टिलरी १३ सयमा झर्यो, अवको बुलमा के होला ? (विश्लेषण)

काठमाडौं । कुनै समयमा लगानीकर्तालाई शेयर बजारबाट करोडपति बनाएको हिमालयन डिष्टिलरीको शेयर मूल्य अहिले चार वर्ष यताकै सर्वाधिक तल्लो विन्दुमा छ । २०७८ भदौमा कम्पनीको शेयर मूल्य ७ हजार ९३८ रुपैयाँ पुगेमा आज १३०१ रुपैयाँमा झरेको छ ।

कम्पनीको शेयर मूल्य ८ हजार ९३८ पुगेको दिन नेप्से सूचक पनि अहिलेसम्मकै सर्वाधिक ३१९९ अंकमा थियो । नेप्से सूचक जति जति तल झर्यो कम्पनीको शेयर मूल्य पनि ओरालो झर्यो । तर अहिले शेयर बजार सर्वाधिक तल्लो विन्दुमा झरेर क्रमिक रुपमा सुधार हुने क्रममा छ । अर्थात शेयर बजारले बुलिस ट्रेण्ड पक्रिनका लागि शक्ति सञ्चय गरिरहेको छ ।

विगत दुई महिनामा नेप्से सूचक खासै सुधार नदेखिदा नदेखिदै केहि कम्पनीको शेयर मूल्यले भने नेटो काटिसकेको छ तर हिमायलयन डिष्टिलरीका शेयरधनीहरु बढ्ने आशामा ‘उल्टै घट्दा’ चकित छन् । कम्पनीको शेयरमा खासै लगानीकर्ताको आकर्षण देखिदैन ।

अघिल्लो बुलमा सर्वाधिक बढ्नुका कारण

हिमालयन डिष्ट्रिलरी त्यतिवेला लगानीकर्ताको आखामा पर्यो जतिवेला २० प्रतिशतबाट ६८ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले २०७६ कार्तिकमा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ६८ प्रतिशत नगद लाभांश दिए पछि ठुला लगानीकर्ताको पहिलो रोजाइमा परेको थियो । २०७५/७६ को मुनाफाबाट २० प्रतिशत नगद दियो । तर २०७६/७७, २०७७/७८ र २०७८/७९ मा लगातार सत प्रतिशत लाभांश दियो । यहि अवधिमा लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको हो । यसरी ३८ करोड ५६ लाख चुक्ता पूँजीबाट बोनस शेयर दिएरै कम्पनीले २ अर्ब ६७ करोड पुर्याएको छ । कम्पनीले बोनस शेयर र नगद लाभांश दुबै दिएरै लगानीकर्तालाई मोहित बनायो ।

ओरालो यात्रा

बोनस शेयरका कारण जुन गतिमा कम्पनीको शेयर मूल्य उचालियो बोनस शेयर सूचिकृत पश्चात सोहि गतिमा ओरालो झर्यो । कम्पनीले २०७६ माघ महिनामा पहिलो पटक ५० प्रतिशत बोनस शेयर र ५२.६३ प्रतिशत नगद सहित कुल १०२.६३ प्रतिशत बोनस शेयर घोषणा गर्यो । यस पछिका वर्षमा कम्पनीले क्रमश ५० प्रतिशत, ७५ प्रतिशत, ६० प्रतिशत र यस वर्ष १० प्रतिशत बोनस शेयर दियो ।

यदि कसै सँग २०७६ सालमा हिमालयन डिष्ट्रलरीको १०० कित्ता शेयर थियो भने आजका दिनमा उ सँग ६९३ कित्ता पुगिसकेको छ । यसरी दोस्रो बजारमा कम्पनीको शेयर सप्लाइ झण्डै ७ गुणाले बढेको छ । बोनस शेयर दिदै गर्दा नेप्सेले शेयर मूल्य पनि समायोजन गर्दै जान्छ । यसरी हरेक वर्ष बोनस शेयरको बुक क्लोज पछि हुने मूल्य समायोजनले पनि ८ हजारबाट लगातार घट्न पुगेको हो । मूल्य बढ्न कम्पनीले पूँजी बढाए अनुसार मुनाफा बढाउन सक्नु पर्छ तर कम्पनीले मुनाफा बढाएर प्रतिशेयर बढाउन सकेन । अवका वर्षमा कम्पनीले उक्त लाभांश दिन पहिलाको भन्दा ७ गुणा भन्दा बढि मुनाफा आर्जन गर्नु पर्छ ।

जवकी कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार मुनाफा  ६३ प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्ममा जम्मा २१ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५७ करोड ६६ लाख रुपैयाँ थियो । यस सँगै प्रतिशेयर आम्दानी १० रुपैयाँमा झरेको छ । यहि तथ्याङ्कले कम्पनीको शेयर मूल्यमा ठुलो धक्का पुर्याएको हो ।

शेयरधनीलाई लोभ्याउने जगेडा कोष पनि लगभग रित्तीएको छ । जगेडा कोषमा जम्मा ५२ करोड ८२ लाख रुपैयाँ मात्रै छ । कम्पनीले उत्पादन क्षमता बढाउन जुन मात्रामा लगानी गर्यो आर्थिक मन्दीका कारण क्षमता अनुसार उत्पादन गरेर बजारमा बिक्री गर्न सकेको छैन । कम्पनीले यसै वर्ष केहि नयाँ ब्राण्ड बजारमा ल्याएको छ । यसबाट मुनाफामा केहि साथ दिने प्रक्षेपण गरिए पनि पुराना ब्राण्डकै उत्पादन बिक्री भइरहेको छैन । आर्थिक मन्दी र उपभोक्ताको उपभोग क्षमतामा ह्रास आउदा बिक्री घटेको कम्पनीको व्यवस्थापकीय विश्लेषण रहेको छ ।

जवसम्म कम्पनीले आफ्नो क्षमता अनुसार आफ्नो उत्पादन बजारमा बिक्री गर्न सक्दैन तवसम्म कम्पनीको आम्दानीमा ठुलो प्रभाव पर्ने देखिदैन । सन् १९८५ मा स्थापना भएको हिमालयन डिष्ट्रिलरी नेपालको मदिरा बजारमा लिडिङ कम्पनी हो । नेपालको लिक्वाए बजारमा ४० प्रतिशत हिस्सा रहेको कम्पनीको दाबी छ । कम्पनीको वीरगञ्जमा एक करोड १७ लाख लिटर उत्पादन क्षमता रहेको उद्योग रहेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर उत्पादन गर्दै आइरहेको कम्पनीले आफ्नो क्षमता अनुसार उत्पादन गरेर बिक्री गर्न पाउने हो भने अहिलेको भन्दा धेरै लाभांश दिन सक्ने क्षमता राख्छ ।

कम्पनीले बोनस शेयर दिएर मुनाफालाई वाहिर जान दिएन । तर यसरी रोकिएको रकम अर्थात पूँजीलाई थप प्लान्ट बढाउन सकेको देखिदैन । कम्पनीले दोस्रो बजारमा मूल्य बढाउनैका लागि लगातार बोनस शेयर दियो । यस अवधिमा सञ्चालकहरुले नै शेयर बिक्री गर्ने क्रममा नेपाल धितोपत्र बोर्डले कारबाही गरेको घटनाले पनि पुष्टी हुन्छ ।

थोरै पूँजी भएको प्रिभिजेज लिदै आकर्षक बोनस दिएर कम्पनीले विगतका ५ वर्षमा शेयरधनीलाई आकर्षित गर्यो । सो अवधिमा केहि लगानीकर्ताले करोडौ कमाए पनि तर कयौ लगानीकर्ता आजका दिनमा पनि डुबेर बसेका छन् । जसले महंगोमा शेयर खरिद गरेका थिए उनिहरुलाई रिकभर हुन धेरै समय लाग्ने निश्चित छ ।

अझै पनि कम्पनीको शेयर पूँजी अन्य कम्पनीहरुको तुलनामा कम नै देखिन्छ । बैंक, बीमा र लगानी क्षेत्रका कम्पनीको तुलनामा कम्पनीको शेयर पूँजी धेरै सानो छ । यसले गर्दा अवका दिनमा पनि ठुला लगानीकर्ताले कम्पनीको शेयरमा खेल्ने ठाउँ बाँकी नै छ । त्यो भन्दा पहिला कम्पनीले मुनाफा सँगै प्रतिशेयर आम्दानी बढाउन सक्नु पर्छ । अन्यथा कम्पनीले पुरानो विरासत फर्काउन धेरै मुस्किल छ ।   

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया