बाणिज्य बैंकहरुको नाफा हेरेर लगानीकर्ता कन्फ्युज, बृद्धिदर धेरै देखाउन मर्ज गरिएका बैंकको बिवरण गायव

  • BFIS News
  • 2023 Aug Sun 13:47
बाणिज्य बैंकहरुको नाफा हेरेर लगानीकर्ता कन्फ्युज, बृद्धिदर धेरै देखाउन मर्ज गरिएका बैंकको बिवरण गायव

काठमाडौं । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय हेरेर लगानीकर्ता अलमलमा परेका छन् । बैंकहरुको प्रस्तुतीले गर्दा कतिपय लगानीकर्ताहरु भ्रममा परिरहेका छन् । बैंकहरुले मर्जर भन्दा अगाडिको विवरणलाई लुकाएर आफ्नो वित्तीय विवरणमा अप्रत्यासित सुधार भएको देखाइ रहेका छन् । कानुनी रुपमा यो गलत नभए पनि मर्जर पछि एउटा बैंकको मात्रै वित्तीय विवरणलाई तुलना गर्दा भ्रममा पर्ने अवस्था सिर्जना भएको हो । 

एक वर्षको अवधिमा ६ वटा बाणिज्य बैंक मर्ज भए । मर्जर पछि प्राप्ति गर्ने बैंकले आफ्नो अघिल्लो वर्षको विवरण सँग मात्रै तुलना गर्दा यस्तो देखिएको हो । मर्जर हुने वित्तीकै स्वभाविक रुपमा बैंकको हरेक सूचकमा सुधार देखिन्छ । तर त्यो तुलना गरिने तथ्याङ्क तुलना गर्न योग्य विवरणमा गरिएको छैन भने लगानीकर्ता र आम सरोकारवाला पक्षहरुलाई भ्रमित बनाउने काम मात्रै हुन्छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण गलत भन्न खोजिएको होइन तर जसरी बैंकहरुले आफ्नो वित्तिय विवरणमा सुधार भएको देखाइरहेका छन् त्यसले लगानीकर्तालाई भ्रमित बनायो र यथार्थ चित्रण हुन सकेन मात्रै भन्न खोजिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा विद्यमान २० वटा बाणिज्य बैंकहरुको मुनाफा ७० अर्ब १७ करोड रुपैयाँ रहेको छ । जवकी गएको आर्थिक वर्ष २०७८/७९ मा तत्कालिन समयका बाणिज्य बैंकहरुको कुल मुनाफा ६७ अर्ब ७१ करोड थियो । जवकी अहिले बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा तथ्याङ्क निकाल्दा २० बाणिज्य बैंकहरुको मुनाफा २४ प्रतिशतले बृद्धि भएको देखिन्छ । यहाँ मर्जरका क्रममा विलय भएका ६ वटा बाणिज्य बैंकको ११ अर्ब ५४ करोड मुनाफा गायव भएको छ । यदि यो ११ अर्ब ५४ करोडलाई पनि कुल मुनाफामा जोड्ने हो भने जम्मा ३.६३ प्रतिशतले मात्रै सुधार देखिन्छ । यस्तो तथ्याङ्कले बैंकहरुमा बृद्धि भएको भन्दा पनि फुलेको जस्तो देखियो ।  

यस वर्ष सर्वाधिक धेरै मुनाफा आर्जन गरेको नविल बैंकको बृद्धिदर ७६.८६ प्रतिशत छ । नविल बैंकको हकमा भने यो आरोप लागु हुँदैन । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर २०७९ असार २७ गतेदेखि एकिकृत कारोबार गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाशिक वित्तीय विवरणमै एकिकृत कारोबार जोडिएको हुनाले नविलको बृद्धिदरलाई आक्रामक बृद्धि भन्न सकिन्छ । वास्तवमा बैंकले मर्जरबाट सिनर्जी क्रियट गर्यो । नविलले एक वर्षमै सर्वाधिक धेरै ७ अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै अन्य बैंकसँगको दुरीलाई फराकिलो बनाएको छ । जवकी गएको यहि समयमा एनआइसीले नविललाई टक्कर दिएको थियो ।

दोस्रो धेरै मुनाफा आर्जन गरेको ग्लोबल आइएमईले भने साविक बैंक अफ काठमाडौंको विवरणलाई छिपाएको छ । यसले गर्दा बैंकको मुनाफा ४६.२६ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ । गएको वर्ष साविक बैंक अफ काठमाण्डूले एक अर्ब ८१ करोड मुनाफा आर्जन गरेको थियो । यो मुनाफा गत वर्षको सूचिबाट हराउदा तथ्याङले अर्कै रुप लिएको हो ।

तेस्रो धेरै मुनाफा आर्जन गर्ने बाणिज्य बैंकको बृद्धिदर १४.५४ प्रतिशत छ । बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै चौथो धेरै मुनाफा आर्जन गर्ने एनआइसी एशियाको १०.३५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड छ । पाचौ धेरै मुनाफा आर्जन गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि साविक मेगा बैंकको मुनाफा गायव गरिदिएको छ । साविक मेगा बैंकको अघिल्लो वर्षको यहि अवधिमा २ अर्ब ८३ करोड मुनाफा थियो ।

छैठौ धेरै मुनाफा आर्जन गरेको स्ट्याण्डर्ड चार्टर्डले भने चमत्कार गरेको छ । मर्जर विनानै बैंकले ५६ प्रतिशतले मुनाफा बढाएर ३ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ । सातौ धेरै मुनाफा आर्जन गरेको नेपाल बैंकको १६.७० प्रतिशतले बढेर तीन अर्ब ४१ करोड आर्जन गरेको छ । त्यस्तै आठौ धेरै मुनाफा आर्जन गरेको एनएमबी बैंकको पनि ३.६३ प्रतिशतले मात्रै बढेर तीन अर्ब ४१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । एभरेष्ट बैंकले पनि मर्जर विनानै ३६ प्रतिशतले सुधार गर्दै तीन अर्ब ३९ करोड आर्जन गरेको हो ।

सिभिल बैंकलाई प्राप्ति गरेर हिमालयन बैंकले यस वर्ष तीन अर्ब २६ करोड रुपैयाँ मुनाफा गरेको छ । यसमा पनि साविक सिभिल बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको एक अर्ब ३८ करोड तुलनात्मक तथ्याङ्कबाट हटेको छ ।

मर्जरमा सामेल नभएका सिद्धार्थ बैंकले ९.९१ प्रतिशतले मुनाफा बढाउदै तीन अर्ब १९ करोड आर्जन गरेको छ । कृषि विकास बैंकले यस वर्ष ३९.२५ प्रतिशतले मुनाफा बढाउदै तीन अर्ब ९ करोड आर्जन गरेको छ ।

साविक सेञ्चुरीलाई गाभेको प्रभु बैंकले पनि तथ्याङ्क लुकाएर ४८ प्रतिशत मुनाफा बढेको देखाएको छ । साविक सेञ्चुरी बैंकको एक अर्ब २५ करोड मुनाफा हराएको छ । मर्जर पछि प्रभुले २ अर्ब ८२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

मर्जर नगरेको सानिमा बैंकको २५ प्रतिशतको अर्गानिक ग्रोथ छ । बैंकले २५ प्रतिशतले मुनाफा बढाउदै २ अर्ब ६१ करोड आर्जन गरेको छ । प्राइमको भने १८.८१ प्रतिशतले घटेर २ अर्ब २६ करोडमा झरेको छ ।

लक्ष्मी सनराइज बैंकको मुनाफा ४९ प्रतिशतले सुधार भएको देखिदै गर्दा साविक सनराइज बैंकको २ अर्ब १५ करोड छैन । मर्जर पछि बैंकको मुनाफा २ अर्ब २६ करोड छ । जवकी साविक लक्ष्मीको मुनाफा १ अर्ब ६० करोड थियो । यसले गर्दा यो मर्जरले पनि तथ्याङ्कलाई भ्रमित बनाएको छ ।

यता कुमारी बैंकले एनसिसी बैंक गाभ्दा पनि मुनाफा २४ प्रतिशतले घटेको छ । साविक एनसिसी बैंककै मुनाफा २ अर्ब २ करोड थियो । यसले गर्दा यस मर्जरबाट बैंकले सिनर्जी ल्याउन सकेको छैन । मर्जर पछि पनि बैंकको मुनाफा जम्मा १ अर्ब ९५ करोड मात्रै छ ।

अन्य मर्जरमा सामेल नभएका नेपाल एसबिआइले ३६.८३ प्रतिशतले बढार २ अर्ब २४ करोड, सिटिजन बैंकले १०.४१ प्रतिशतले बढाएर २ अर्ब २१ करोड र सर्वाधिक कम मुनाफा आर्जन गरेको माछापुच्छ्रे बैंकले पनि ९.७५ प्रतिशतले बढाएर एक अर्ब ८५ करोड आर्जन गरेको छ ।

यसरी लगानीकर्ताहरुलाई भ्रमित हुने हुने अवस्थालाई निराकरण गर्न नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले मर्जर अगाडीको दुबै कम्पनीको साविकको अवस्थालाई पनि प्रकाशन गर्नु पर्ने व्यवस्था गरिदिने हो भने केहि हदसम्म भ्रम निरुपण हुने विज्ञहरु बताउछन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार