राजनीतिक दबाबका बीच राम्रो बजेट आयो, प्रतिक्रिया सकारात्मक आएकोले 'रिल्याक्स' छु : अर्थमन्त्री

  • BFIS News
  • 2024 May Wed 14:38
राजनीतिक दबाबका बीच राम्रो बजेट आयो, प्रतिक्रिया सकारात्मक आएकोले 'रिल्याक्स' छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समग्र क्षेत्रबाट बजेटबारे राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्। आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बजेट पेस गर्नुअघि राजनीतिक दबाब रहेको र मंगलबार सहज रुपमा बजेट पेश गर्न पाउँदा रिल्याक्स फिल भएको बताए।

‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भने, ‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

उनले अगाडि भने, 'संसद्‍मा प्रतिपक्षले सहकारी छानबिनको मुद्दामा नाराबाजी गरिरहेकाले बजेट वक्तव्य कसरी गर्ने भन्ने अन्योल थियो। अहिले प्रतिपक्ष, सञ्चारमाध्यमबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ। बजेट निर्माण र प्रस्तुतिमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’

अर्थमन्त्री पुनले आफूसहित अर्थसचिव, राजस्वसचिवले अहोरात्र खटेर बजेर ल्याएको जानकारी दिए। मन्त्री पुनले बजेटका लागि बिहान साढे ३ बजेसम्म मन्त्रालयमै बसेर काम गरेको बताए।

यसैबीच उनले स्पन्ज आइरनमा कसैको अनुहार हेरेर करका दर हेरफेर नगरेको दाबी पनि गरे। उनले कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको पनि बताए। पुनले स्क्र्यापमा १ प्रतिशत, स्पन्जमा २.५ प्रतिशत र बिलेटमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको बताएका छन्।  

अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताए। उनले युवामा देशभित्रै अवसर खोज्ने प्रयास गरिएको बताए।

‘देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं,’ उनले भने, ‘हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो । हाम्रो भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको छ ।’

पुनले बजेट मार्फत निजी क्षेत्रको मनोबल बढाउने कोसिस गरिएको पनि दाबी गरे । ‘हाम्रा सीमाले साथ दिएसम्म निजी क्षेत्रमैत्री बनाउने कोसिस गरेका छौं । अब ठूला पूर्वाधार सरकार एक्लैले बनाउन सक्दैन, अब यसमा निजी क्षेत्रको उपस्थिति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।

पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको पनि बताए। नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे।

“आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस  गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ”, अर्थमन्त्री पुनले भने।

आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको उनले बताए।


 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार