Nepal Life

आफ्नै कम्पनीको आइपिओ ल्याउने सोच बनाएका कवि फुँयाल ३७ वर्षकै उमेरमा जीवन बीमा कम्पनीको सिइओ 

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Aug Fri 22:34
आफ्नै कम्पनीको आइपिओ ल्याउने सोच बनाएका कवि फुँयाल ३७ वर्षकै उमेरमा जीवन बीमा कम्पनीको सिइओ 
National Life

हरेक चुनौतीलाई स्वीकार गर्दै छोटो समयमै सिइओ

‘कन्फर्ट जोनले मानिसलाई प्यासिभ बनाउछ’

काठमाडौं । सफलता कडा परिश्रम, अटुट सङ्कल्प र समर्पणको परिणाम हो । जसले हरेक चुनौतीलाई आत्मसाथ गर्दै आइपर्ने कठिनाइ सँग जुझेर अगाडी बढ्छ उसैले सफलताको शिखर चुम्न सक्छ । यसमा न त उमेर, न त लामो अनुभवकै आवश्यकता पर्दछ ।

NIMB

नेपालको जीवन बीमा क्षेत्रमा छोटो समयमै आफुलाई स्थापित गर्न सफल आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल ३७ वर्षको उमेरमै प्रमुख कार्यकारी अधिकृत जस्तो महत्वपुर्ण पदमा पुग्न सफल भएका थिए । उनले यति सानै उमेरमा पाएको यति ठुलो जिम्मेवारीलाई यति राम्रो सँग सम्पन्न गरे कि उनलाई ५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको आइएमई लाइफको सञ्चालक समितिले ले दोस्रो कार्यकालको लागि पुनः नियुक्ति गर्यो । 

काठमाडौंको गोलढुङ्गामा जन्मिएका कवि फुँयालको सानैदेखि चुनौती लिने स्वभाव थियो । ठेक्का पट्टा तथा निर्माणको क्षेत्रमा दरिनु भएका बुबालाई नै साथ दिने उनको अठोट थियो । फरक खालको स्वभाव भएका फुँयालले बुबाले सञ्चालन गर्नु भएको ठेक्कापट्टाका काममा आफै पुग्ने र हर-हिसाव राख्थे । उनलाई अझै पनि याद छ ‘६/७ कक्षामा पढ्दा खेरि नै टेण्डर फारम भरेको तथा आवश्यक प्रकृया पुरा गरेको ।’  

एसएलसी तथा प्लस टु दिए पछिको खालि समयमा बुबाकै आयोजनामा काम गर्थे । बुबाले लिनु भएको हरेक आयोजनालाई निर्धारित समय भन्दा अगाडी नै सक्काएर चकित बनाइदिन्थे । अर्थशास्त्र पढ्दा ‘अपरच्युनिटी कस्ट’ बुझेका उनले ‘जति समय व्यतित हुन्छ त्यसले खर्च पनि उत्तिकै बढाउने हुँदा जति सक्दो छिटो सक्नु पर्छ है’ भनेर प्रपर म्यानेजमा विश्वास राख्थे । यति मात्रै नभइ ‘टाइम भ्यालु अफ मनि’लाई बुझेका उनले कुनै समयमा बुबाको निर्माण सेवा कम्पनीलाई पब्लिक लिमिटेड बनाएर आइपिओ निष्काशन गर्नेसम्मको सोच बनाएका थिए ।

उनले दिपज्योति स्कुलबाट एसएलसी उत्तीर्ण गरे । केएमसीबाट व्यवस्थापन संकायमा प्लस टु र बिबिएसम्मको अध्ययनले उनको जीवनमा ठुलै परिवर्तन ल्यायो । पढाइमा तीक्ष्ण दाइबाट प्रभावित फुँयालले दाइकै अनुरोधमा बिबिए पढ्ने निधो गरे । जसले उनको जीवनलाई नै ‘यु ट्रन’ गर्यो । बुबाको कामलाई अगाडी बढाउने सोच बनाएका फुँयालले अन्ततः बैंक वित्तीय क्षेत्रमा काम गर्ने निधो गर्दै केएफएबाट स्नातकोत्तर पुरा गरे ।

आफुलाई आइपर्ने जुनसुकै टाक्सलाई जसरी पनि पुरा गर्नु पर्छ भन्ने स्वभावकै कारण उनले जति पनि ठाउँमा काम गरेका छन् ति सबै ठाउँमा सफलता हासिल गरेरै बाहिरिएका छन् । उनि भन्छन् ‘हिजो बुबाका कुनै काम होस् या त पढ्दा दिइएका जिम्मेवारी नै किन नहोस्, जागिरकै सिलसिलामा पाएका जुनसुकै जिम्मेवारीलाई म जसरी पनि पुरा गर्थे ।’

उनको बैंक वित्तीय संस्था क्षेत्रको करिअर भने लक्ष्मी बैंकमा इन्ट्रनसिपबाट सुरुवात भयो । जतिबेला उनि एसएमइको अनुसन्धान गर्नका सुजित कुमार शाक्यको नेतृत्वमा रहेको टिममा पुगेका थिए । अहिले शाक्य नविल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । इन्ट्रनमै गए पनि उनले जिम्मेवारीका साथ काम गरे । त्यस वर्ष २००८ को जनावरीमा लक्ष्मी बैंकमा जागिरको सुरुवात भयो । त्यो पनि सामान्य ट्रेनि एसिस्टेन्टबाटै । करिव ६ महिना काम गरिसके पछि उनको राष्ट्रिय बीमा संस्थानमा नाम निस्कियो । लक्ष्मी बैंक जानु भन्दा अगाडी नै उनले संस्थानमा जागिरको लागि परीक्षा दिइसकेका थिए । संस्थानमा नाम निस्किए पछि उनले बैंक छाडिदिए ।

लामो समयदेखि लेखापरीक्षण हुन नसकेको संस्थानले आन्तरिक लेखापरीक्षणका लागि कम्प्युटरको लागि कर्मचारी मागेको थियो । यस अवधिमा उनले रिकन्सिलेसनका काम, पेण्डिङ भएका विभिन्न कामहरु गरे । ‘संस्थानमा मलाई एउटा टाक्सका लागि राखिए पनि छिटो सक्काउनु पर्ने कामहरुमा मलाई असाइन हुन्थ्यो । मोटर बीमामा थर्ड पार्टी अनिवार्य भए पछि ति सबै थुप्रिएका काम दिनु भयो । आन्तरिक लेखापरीक्षणका क्रममा बाणिज्य बैंकका रिकन्सिलेसनका कामहरु म आफैले पुरा गर्थे ।’

बैंकबाट आएको केटो हो छिटो छ भन्दै छिटो सिध्याउनैका लागि उनलाई प्राय काम दिइन्थ्यो । यस अवधिमा उनले सरकारी निकायको संस्थामा काम कसरी हुन्छ र त्यसको सबै वातावरणलाई नजिकबाट नियाले । करिव डेढ वर्ष काम गरे पछि उनि संस्थानबाट बाहिरिए र निजी क्षेत्रको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी त्यसमा पनि अफिसर लेभलमा प्रवेश गरे ।

उनले प्राइम लाइफमा पनि यति राम्रो काम गरे जसले गर्दा डेपुटी म्यानेजरसम्म भए । तत्कालिन प्रमुख कार्यकारी अधिकृत रेस्टा झाको नेतृत्वमा विभागीय प्रमुखको रुपमा काम गरे । अझ सेल्समा समेत काम गर्ने अवसर पाए । त्यसमा पनि बैदेशिक रोजगार, लघु बीमा, संस्थागत बीमा, बैंकास्योरेन्सको नेतृत्व सम्हाले । विशेष गरि माइक्रो पोलिसीमा उनलाई असाइन गरिएको थियो । सन् २००९/१० तिरै सहकारी मार्फत पनि बीमा गर्न सकिन्छ भनेर उनले धेरै वटा योजना बनाए । यसमा नयाँ प्रोडक्टको टेस्टिङ गर्ने पाइलटिङ गर्ने काम भयो । बैदेशिक रोजगार बीमा र संस्थागत बीमाको क्षेत्रमा राम्रो काम भयो । यसले उनमा अझै काम प्रतिको निखारता ल्यायो ।

यहि अवधिमा उनी बंगलादेशको डेल्टा लाइफमा १० दिन जतिको ‘अन दि जव ट्रेनिङ’मा गए । प्राइम लाइफले माइक्रो पोलिसीमा काम गर्ने भए पछि यसमा कसरी काम हुन्छ, बजारीकरण कसरी हुन्छ, सञ्चालनको अभ्यास कसरी हुन्छ, मुनाफा कसरी आउछ, व्यवसायिक मोडल कस्तो हो, कसरी काम भइरहेको छ भनेर जान्ने बुझ्ने जनशक्ति चाहिने भयो । यसै सिलसिलामा उनले यो अवसर प्राप्त गरेका थिए ।

बंगलादेशमा गएर आए पछि माइक्रो पोलिसी निर्माणको प्रारम्भिक चरणमा धेरै काम गरे । दुःखको कुरा उनले कार्यान्वयन गर्न पाएनन् । तीन वर्षको अनुभव पछि प्राइम लाइफ पनि छाडिदिए । आफैले केहि गर्ने सोच सहित काम अगाडी बढाए तर त्यसले खासै ठुलो अर्थ राख्न सकेन । अन्तत उनि २०७० सालमा बीमा क्षेत्रमै फर्किए र सूर्य लाइफमा प्रवेश गरे । सूर्य लाइफमा पनि वैदेशिक रोजगार बीमा, कर्पोरेट बीमा हुँदै नेपालभरका सेल्स हेडको जिम्मेवारी पाए । यहीबाट उच्च व्यवस्थापकीय जिम्मेवारीको यात्रा सुरु भयो । उनि भन्छन् ‘टिममा काम गर्ने अवसर मिल्यो । जतिबेला मनोजलाल कर्णले छाडेर गइसके पनि कम्पनीमा नयाँ टिमको फर्मेसन हुने क्रममा थियो । करिव ४ वर्ष काम गरेर उनि सिटिजन लाइफमा प्रवेश गरे ।

उनले सिटिजन लाइफको सुरुवाती दिनदेखि नै उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर प्राप्त गरे । यसरी विगतको अनुभवलाई उपयोग गर्दै कम्पनीलाई स्थापित गराउने चरणमै उनि समावेश भए । उनले सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, शिखर इन्स्योरेन्स कम्पनीका दिप प्रकाश पाण्डे सँग काम गरे । कम्पनीको अफिसियल व्याक अफदेखि लिएर संस्थागत तहमा पोषक राज पौडेल र दिप प्रकाश पाण्डेको नेतृत्वमा काम भयो भने फ्रन्टलाइनरका रुपमा उनि आफै अगाडी बढे । जसमा नयाँ कर्मचारी नियुक्ति गर्ने, सेल्स पोलिसी बनाउने, एजेन्सी च्यानल तयार पार्ने, सेल्सलाई अगाडी बढाउने रणनीतिका क्षेत्रमा काम गरे ।

शाखा सञ्जालको संरचना तथा शाखा खोल्ने कुराहरूमै उनि अग्रसर भए । कम्पनीको सेटअपदेखि लिएर छलाङ मार्नेसम्मका रणनीतिक भुमिकामा उनि दत्तचित्त भएर लागि परे । यहाँ पनि करिव ३ वर्ष जति काम पुरा गरे ।

यसरी आफुलाई छिटो छिटो छलाङ मार्दा मार्दै उनले आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीका लागि अवसर प्राप्त गरे । अवसर गुमाउन चाहेनन् । उमेर ३७ वर्ष थियो । जतिबेला सिटिजन लाइफमा उनले बर्चश्व नै कामय गरिसकेका थिए । समग्रमा टिम धेरै राम्रो थियो । ट्युनिङ अझै राम्रो थियो । संस्था छाड्ने कुनै मनस्थिति नै थिएन । तर एक्कासी उनलाई सिइओको जिम्मेवारीका लागि अफर आयो ।

उनको करिअरमा जहिले पनि अर्को ठाउँमा राम्रो अवसर प्राप्त भए पछि मात्रै जागिर छाड्नु परेको छ । अवसरलाई नगुमाउने स्वभावले नै उनलाई यहाँसम्मको अवस्थामा ल्याइपुर्याएको हो । उनको जीवनमा अर्को सबैभन्दा महत्वपुर्ण पक्ष ‘पाइसकेको जिम्मेवारीलाई जसरी पनि पुरा गर्ने ।’

यहि कारणले उनि सबैभन्दा सानो उमेरका प्रमुख कार्यकारी अधिकृतहरु भित्र पर्न सफल भए । परिवार तथा नजिकका साथि भाइ सबैले उनलाई जहिले पनि ‘किन दुख गरेर संस्था स्टेवल भए पछि मज्जाले काम गर्ने समयमा जागिर छाड्छौ ?’ भनेर सोध्ने गर्छन् । उनि भन्छन् ‘नयाँ चिज गरिएन भने परिवर्तन हुँदैन । कन्फर्म जोनमा बसेर न त इनोभेसन हुन सक्छ न त केहि सिक्ने मौका नै पाइन्छ । टिम सँग घुल्ने तथा छलाङ मार्ने कुरालाई कन्फर्म जोनले प्यासिभ बनाउँछ ।’

उनि आइएमई लाइफमा आउनु भन्दा अगाडी कम्पनी ठिक ठिकै अवस्थामा थियो तर जति गर्नु पर्ने हो त्यति गर्न सकेको थिएन । २० वटा कम्पनी मध्ये १६/१७ औं स्थानमै थियो । उनलाई कम्पनीमा काम गर्न सक्ने ठाउँ धेरै रहेको र केहि परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास निर्माण भयो । अर्को तर्फ संस्थाको ब्राण्ड राम्रो थियो साथै कुनै सार्वजनिक चासोका मुद्दा पनि थिएनन् भने पछि किन काम नगर्ने त भन्ने भयो । सिटिजन लाइफमा लामै अवधी बस्ने सोचका बाबजुद पनि उनि अन्ततः आइएमई लाइफमा प्रमुख कार्यकारी अधिकृतको अग्नी परीक्षामा होमिए ।

करिअरको छोटो समयमा पढेका, सिकेका, भोगेका कुराहरुलाई आत्मसाथ गर्दै उनि हरेक क्षणमा रिलेट गर्छन् । लामो अनुभवले मानिसमा पक्कै पनि निखारता ल्याउँछ तर छोटो अनुभवलाई पनि विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन विश्लेषण तथा सुझ बुझका लागि अगाडी बढियो भने त्यसले राम्रो नतिजा ल्याउन सक्छ भन्ने कुरालाई उनले प्रमाणित गरिदिएका छन् ।

उनले केएफए मार्फत १३७ घण्टाको विशेष बैंकिङ कोर्ष पुरा गरेका थिए । जतिबेला उनले व्यवस्थापकीय तहका कर्मचारीलाई चाहिने मौद्रिक नीतिदेखि लिएर क्यामेल एनालाइसिस, बैंकको बजेट निर्माण, एलसी कसरी खोल्नेसम्मका एडभान्स लेभलको तालिम लिने मौका पाएका थिए । जसले उनको म्यानेजरियल स्किल बढाउन जीवन पर्यन्त मद्दत पुर्याइरहेको छ । यो कोर्ष केएफए र केएमसीको सहकार्यमा तयार भएको थियो । यहि तालिमले उनको जीवनमा आमूल परिवर्तन ल्याइदियो । बुबाको निर्माण सेवा सम्बन्धी कम्पनीलाई आइपिओ निष्काशन गर्नेसम्मको सोच बनाएका उनले बीमा क्षेत्रमा करिअर बनाएर छोटो समयमा पदका हिसावले सर्वाधिक ठुलो प्रमुख कार्यकारी अधिकृतको एक कार्यकाल पुरा गरेर अर्को कार्यकालको लागि पनि जिम्मेवारी पाइसकेका छन् । यो भन्दा ठुलो उपलब्धी र सफलता उनका लागि अरु केहि रहेन ।

उनले आइएमई लाइफको बागडोर सम्हालिसके पछि हरेक वर्षको ग्रोथ एकदमै राम्रो छ । सिइओ फुँयालको आक्रामक छलाङ सँगै कम्पनीले पनि राम्रै छलाङ मारिरहेको छ । उमेरका हिसावले धेरै सिनियर दिनेश अमात्य तथा समकक्षीहरु गणेश चौलागाई, सुदिप राना, जगत बोहरा सँगको ट्युनिङ र टिमवर्कले कम्पनीलाई अझ धेरै अगाडी बढाउन सकिएको उनि बताउछन् ।

उनि सहितको टिमले कम्पनीलाई दीर्घकालिन रुपमा अगाडी बढाउने कुराहरुमा धेरै काम गरिरहेको छ । कम्पनीले सूचना प्रविधिलाई आत्मसाथ गर्दै एआइबाट चल्ने च्याट बोट, मोबाइल एपदेखि लिएर वेवसाइटमा पनि धेरै परिवर्तन ल्याएको छ ।

कम्पनीले छिट्टै अनलाइनबाटै खरिद गर्न सकिने गरि 'बेस्ट अन' भन्ने प्रोडक्ट लन्च गर्दैछ । आइएमई लाइफको अवको कोर्ष पुर्ण रुपमा अटोमेसनमा लैजाने रहेको उनि बताउछन् । पछिल्लो चार वर्षमा कम्पनीले राम्रो आधार निर्माण गरिसकेको हुँदा अवको चार वर्षमा नयाँ छलाङ मार्नेमा उनि विश्वस्त छन् ।

अहिले नै कम्पनीका २० प्रतिशत बीमित तथा सेवाग्राही डिजिटल प्लेटफर्ममा आइसकेका छन् । अवका दिनमा नयाँ व्यवसायलाई पनि यस्तो प्लेटफर्ममा लगिने योजना रहेको छ । हिजोका दिनमा कम्पनीको सफलताको सूचकमा व्यवसाय भित्र्याउनु मात्रै केपिआइ (कि पर्फमेन्स इन्डिकेटर) हुन्थ्यो तर आजका दिनमा अन्य सूचकलाई पनि हेर्न थालिएको छ । आइएमई लाइफले पनि हरेक सूचकलाई राम्रो बनाउने प्रयास गरिरहेको छ । व्यवसाय मात्रै नभएर मुनाफालाई पनि हेर्न थालिएको छ ।

यसै वर्ष कम्पनीले सत प्रतिशत मुनाफा बढाएको छ । उनि आइसके पछि जीवन बीमा कोषमा धेरै गुणाले बृद्धि भइसकेको छ । बीमा पोलिसीलाई मोडिफाइ गर्दै बीमितले पाउने बोनसदरमा स्ट्रेन्देन गर्ने काम भएको छ । हिजोका दिनमा बीमा पोलिसीको फाइदा मृत्यु पछि मात्रै हुने खालको थियो भने अहिले आफु जिवित रहदै हुन सक्ने सम्भावित दुर्घटना, रोग लगायतका जोखिमलाई समेत कभरेज हुने गरि पोलिसी तयार भएका छन् ।

भोलिका दिनमा जीवन बीमा आम मानिसको दैनिकी हुनु पर्ने र यसका लागि आइएमई लाइफले धेरै हदसम्म काम गर्दै अगाडी बढ्ने उनको योजना रहेको छ । अहिले पनि उनि बीमित जीवित रहदै धेरै फाइदा पाउन सक्ने गरि काम गर्नु पर्ने सोचका साथ अगाडी बढेका छन् । म्यादी तथा सावधिक जीवन बीमा मार्फत हरेक नेपालीको घरमा आइएमई लाइफ पुर्याउने उनको सोच छ । उनि विहान ९ बजे अफिस आइसक्छन् भने घरमा पुग्दा लगभग १० बजेको हुन्छ । उनि मात्रै होइन पुरै टिम नै कम्पनीलाई सफलताको शिखरमा पुर्याउन तल्लिन छ ।

एक अर्ब ४० करोडमा स्थापना भएको कम्पनीले एक अर्बको लाभांश नै दिइसकेको छ । प्रिमियममा आइपिओ निष्काशन गर्ने पहिलो कम्पनी बनेको आइएमईले सेयरधनीबाट प्राप्त भएको प्रिमियमबाट आफ्नो क्षमता बढाएको छ । यसबाट शेयरधनी मात्रै नभएर बीमितहरुलाई पनि राम्रो फाइदा पुर्याएको छ । फुँयाल भन्छन् ‘प्रिमियममा शेयर निष्काशन गर्दै गर्दा शेयरधनी मात्रै होइन आगामी दिनमा बीमितले पाउने बोनसदरमा पनि बृद्धि हुने आकलन गरेका छौ ।’

बीमितले पाउने बोनसदरमा पनि विगत ४ वर्षको अवधिमा ३० प्रतिशत भन्दा माथिले बृद्धि भएको छ । कतिपय बीमा पोलिसीमा ७०/८० प्रतिशतले पनि बढेको छ । अझ आउने दिनमा बोनसदर बढ्ने छ । यति धेरै उपलब्धी हासिल गर्दै गर्दा आइएमई लाइफले संख्यामा मात्रै होइन गुणस्तरमा पनि ध्यान दिदै आएको छ । हिजोका दिनमा बीमा पोलिसी निर्माण गर्दा तय गरिएका कतिपय प्यारा मिटरले पनि राम्रो काम गरेको छ । कम्पनीले पोलिसी निर्माण गर्दै गर्दा मोर्टालिटी, प्रोफिटाब्लिटी, अण्डराइटिङ प्रफिटमा पनि ध्यान दिएको थियो । यसले बीमाङ्किय मूल्याङ्कनका क्रममा राम्रै मुनाफा देखाउन थालिसकेको छ । हिजोका दिनमा पोलिसी निर्माण गर्दा ६ प्रतिशतको इल्ड राखिएको थियो । तर इन्डष्ट्रि एभरेज भन्दा माथि १० प्रतिशत हाराहारी छ ।

कम्पनीले लगानीलाई विविधीकरण गर्न खोजिरहेको छ । जस्तै जलविद्युत, कृषि, रियल सेक्टर लगायतका क्षेत्रमा जाने तयारी भइरहेको उनले जानकारी दिए । नेपाल बीमा प्राधिकरणले दिएको मापदण्डका आधारमा कम्पनीले लगानी गर्दै आएको छ ।

कम्पनीले ७ वर्षको अवधिमा जीवन बीमा कोषमा ९ अर्ब ९९ करोड जम्मा पार्न सफल भएको छ । यस कोषमा पछिल्लो चार वर्षको हिस्सा नै ८० प्रतिशत भन्दा माथि छ । आगामी ४ वर्षमा जीवन बीमा कोष २५ अर्ब भन्दा माथि पुग्ने उनले प्रक्षेपण गरेका छन् । जति वेलासम्ममा कम्पनीले धेरै वटा कम्पनीहरुलाई पछाडि पारिसक्नेछ । तर मर्जर पछि ठुला बनेका कम्पनीका अगाडी भने आइएमई लाइफको आधार केहि सानो नै देखिएला ।

कम्पनीले व्यवसायको आकार भन्दा पनि गुणस्तरलाई ध्यान दिन थालिसकेको छ । कम्पनीले अहिले च्याटवट मार्फत सेवा प्रवाह गर्दै आएको छ भने भोलिका दिनमा केहि सेकेन्ड भित्रै सबै कुराहरुको रेस्पोन्स गर्दै मिल्नेसम्मका काम डिजिटल प्ल्याटफर्मबाटै गर्नेछ ।

पोलिसी बिक्री पछिको सेवामा पनि कसरी चुस्त दुरुस्त बनाउने भनेर काम भइरहेको उनि बताउछन् । एकदमै झण्झट रहित र सरलीकृत रुपमा सेवा प्रवाह गर्ने नै कम्पनीको उद्देश्य रहेको छ । चाहे त्यो मृत्यु दाबी होस् या अन्य कुनै किसिमका दाबी नै किन नहुन छिटो भन्दा छिटो सक्काउने गरि प्रणालीको विकास गर्ने उनको अठोट छ ।

कम्पनीले दुरदराजका रहेका अभिकर्ता तथा बीमितलाई च्याटबोटबाटै सेवा प्रवाह गर्दै आइरहेको छ । सामान्य कामहरु जस्तै बीमा पोलिसीको प्रमाणपत्र हराएमा, कर छुटको सुविधा लिनका लागि रसिद चाहिएमा, प्रस्तावकको नाम परिवर्तन गर्नु परेमा, दाबी भुक्तानीको प्रकृया अगाडी बढाउनु परेमा, बीमितको बारेमा बुझ्नु परेमा, अभिकर्ताले आफ्नो कोडबाट भएका व्यवसाय लगायतका सबै कुराहरु एआइबाट सञ्चालित च्याटबोटबाटै प्राप्त गर्न सक्छन् । यसमा केहि प्यारामिटर फिट गरिएको हुन्छ । ति सूचना पाए पछि च्याटबोटबाटै मानव रहित सुविधा लिन सकिन्छ ।

कम्पनीले आफ्ना कोर सिस्टमलाई परिवर्तन गरेको छ । कम्पनीले लघु बीमालाई पनि विशेष प्राथमिकता दिदै आएको छ । दुरदराजका रहेका लघुवित्त वित्तीय संस्था तथा सहकारीहरू आफैले अनलाइन मार्फत कम्पनीको पोलिसी जारी गर्न सक्ने प्रविधिको विकास गरेको छ । यसरी आइएमई लाइफ सँग आवद्ध भएका संघ संस्था, सहकारी तथा लघुवित्त वित्तीय संस्थाले कम्पनीले दिएको युजर आइडी लिएर आफैले पोलिसी जारी गर्न सक्छन् ।

आजका दिनमा आइएमई लाइफ सँग ४० हजार अभिकर्ता मध्ये कम्पनीलाई बीमा पोलिसी  प्रदान गरिरहने सक्रिय अभिकर्ताको संख्या भने  २० हजार भन्दा छन् । यसमा पनि ७ सय हाराहारी एजेन्सी म्यानेजर रहेका छन् । जसले आइएमई लाइफकै लागि काम गर्छन् । उनीहरु मध्ये करिव २ सय जनाले आफ्नो करिअर नै बीमा बनाएका छन् । जसले पुर्ण कालिन भएर काम गरिरहेका छन् । उनले आफु कम्पनीमा भित्रिने वित्तिकै अभिकर्ताहरुलाई इम्पावर गराउनु पर्छ भन्दै क्षमता अभिबृद्धिमा काम सुरु गरेका थिए ।

आइएमई लाइफको आफ्नै तालिमको टिम रहेको छ । जसले विश्वस्तरीय आइएमई लाइफ सेल्स ट्रेनिङ गराउने गरेको छ । यसले भर्खरै आएका अभिकर्तालाई पनि सहजै काम गर्न सक्ने बनाउँछ । साथै अभिकर्ताहरुले मोबाइल एप मार्फत सबै काम गर्न सक्ने गरि काम सुरु गरिसकेको छ । यसलाई आइएमई लाइफ सेल्स स्किल ट्रेनिङ भनिन्छ । यसबाट ५०० भन्दा धेरैले तालिम दिएर पास आउट गराइसकेका छन् । उनले भने ‘अभिकर्ता पेशालाई कसरी दीर्घकालिन अवधिसम्म अगाडी बढाउन सकिन्छ भनेर क्षमता अभिबृद्धिको काम गर्दै आएका छौ । यसले गर्दा लामो अवधिका लागि अझ पूर्णकालीन अवधिको काम गर्ने अभिकर्ताको संख्यामा बृद्धि भइरहेको छ ।’

नेपालको जीवन बीमा क्षेत्रमा सानो उमेरमै स्थापित फुँयाल प्रति कम्पनीले ठुलो अपेक्षा राखेको छ । उनि अहिलेसम्म जति पनि कम्पनीमा काम गरे कुनै पनि स्थानमा ४ वर्ष काम गरेका थिएनन् तर उनले प्रमुख कार्यकारी अधिकृत भए पछि सर्वाधिक लामो समय आइएमई लाइफमा विताए । अवको चार वर्षको यात्राले उनि सामान्य कर्मचारीका लागि नभइ कुशल नेतृत्वकै लागि जन्मिएको पुष्टी हुनेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया