पढाइमा तीक्ष्ण ओम केसीले सरकारी जागिर छाडेर रोजेको अभिकर्ताको बाटो, नेपाल लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउन सफल
- पुरुषोत्तम सुवेदी
- 2023 Aug Sat 10:55
काठमाडौं । लाखौ मानिसहरुको भिडमा आफुलाई पहिलो नम्बरमा उभ्याउनु जो कोहीको सपना हुन्छ । तर त्यो सपना सबैको पुरा हुँदैन । सपना त्यो मानिसको पुरा हुन्छ जसले आफ्नो सम्पुर्ण जीवनलाई निष्ठापुर्वक इमान्दार भएर आफुलाई काममा समर्पित गराउन सक्छ ।
नेपालको सर्वाधिक ठुलो र हरेक सूचकमा नम्बरवान नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ वर्षदेखि कहिले नम्वार वान त कहिले टपटेन भित्र रहेर व्यवसाय भित्र्याउनु जो कोहीका लागि सम्भव छैन । नेपालकै दुर्गम भुभाग रुकुमबाट देशको राजधानी काठमाडौंमा जीवन बीमा व्यवसाय गर्नु ओम केसीका लागि कम्ता चुनौतीपुर्ण थिएन । उनले हरेक चुनौतीलाई चिर्दै २०५८ सालदेखि अनवरत रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक धेरै जीवन बीमा व्यवसाय भित्र्याउदै आएका छन् ।
रुकुमको सामान्य परिवारमा जन्मिएका केसीको बुबा सरकारी जागिरे थिए । सरकारी जागिरे बुबाले आफ्ना छोराछोरीको पढाइमा कुनै कसर बाँकी राखेका थिएनन् । खरिदार सुब्बा हुँदै अधिकृतबाट अवकास प्राप्त गरेका उनको बुबाले गाविस सचिव, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी संस्थान हुँदै जिल्ला प्रशासनमा काम गरे ।
दुई दाजुभाइ र एक बहिनी मध्ये जेठो छोरा केसी पढाइमा अबब्ल थिए । उनले प्राथमिक शिक्षा घर नजिकैको स्कुल जनहित प्राविबाट र माध्यमिक तहको अध्ययन त्रिभुवन जनता माध्यमिक विद्यालयबाट पुरा गरे ।
रुकमबाट एसएलसी सकेर २०५१ सालमा १४ वर्षकै उमेरमा काठमाडौं आए । सानो ठिमी कलेजमा आइएड म्याथ र साइन्स विषय लिएर अध्ययन सुरु गरे । पढाइमा तिक्ष्ण केसीले अर्थशास्त्र र नेपाली विषयमा आइ.ए. पनि गरे । ताहचल क्याम्पसबाट गणित विषयमा बि.एड. सँगै सरस्वती क्याम्पसबाट अर्थशास्त्र विषयमा बि.ए. उत्तीर्ण गरे । जनसंख्या विषयमा शिक्षा शास्त्रबाट स्नातकोत्तर पुरा गरे ।
काठमाडौंको बसाइ विना काम त्यति सहज हुने कुरै भएन । त्यसैले उनले सबैभन्दा पहिला बुढानिलकण्ठ स्कुलबाट जागिर सुरु गरे । तर त्यहाँ उनि धेरै समय टिक्न सकेनन् । आइएड पढ्दा पढ्दै केसी जागिरको सिलसिलामा पढाउन सिन्धुपाल्चोक पुगे । करिव तीन चार महिना पढाए । तर टिक्न सकेनन् । उनि काठमाडौं फर्किए ।
यत्तीकै आइएडको परिक्षा सकियो । पढाउनैका लागि उनि आफ्नै गृह जिल्ला रुकुम पुगे । रुकुमको पशुपति माबीमा ८ कक्षासम्म गणित र विज्ञान पढाए । करिव उनले ७/८ महिना पढाए पछि आइएडको नतिजा आयो । पढाइलाई निरन्तरता दिन उनि पुनः काठमाडौं फर्किए ।
काठमाडौं आए पछि लैनचौर बसेर ताहचल पढ्न थाले । विहान ताहचलमा बिएड र दिउसो सरस्वती क्याम्पसमा बिए गरे । यस अवधिमा उनले खर्च धान्न होम ट्युसन पढाए । होम ट्युसनबाट पनि उनले राम्रै आम्दानी गर्थे । स्नातक पढुन्जेल होम ट्युसन पढाएरै खर्च धाने ।
स्नातक पढाइ सक्ने वित्तीकै उनि जागिरमा प्रवेश गरे । यत्तीकैमा नयाँ बजारमा रहेको नेटवर्किङ कम्पनी ‘फ्रि इन्टरनेशनल कन्सेप्ट मार्केटिङ नेपाल’मा काम गर्ने अवसर प्रात गरे । जनरल म्यानेजरको रुपमा काम सुरु गरे । अध्ययनशिल र भद्र स्वभावका केसीलाई कम्पनीले सुरुमै ठुलो जिम्मेवारी दियो । यो नेटवर्किङ कम्पनी थियो । यसको पोखरा, चितवन, बुटवल, विराटनगर, विर्तामोड. नेपालगञ्जमा शाखा कार्यालय थियो । यसको ‘कन्ट्री अफिस’ नयाँ बजारमा थियो । उनि कन्ट्रिम्यानेजर थिए । उनले करिव साढे दुई वर्ष काम गरे । स्नातकको परीक्षा दिएर काम सुरु गरेका केसीले काम गर्दा गर्दै स्नातकोत्तर पुरा गरे ।
आइएड पढ्दा पढ्दै माधव सरले केसीको बीमा गरिदिएका थिए । हरेक वर्ष बीमा शुल्क बुझाउदै जादा उनलाई बीमा बारे खुव चासो भयो । यहि चासोलाई पुरा गर्न तालिममा लिने इच्छा भयो । त्यतिवेला दुई वटा मात्रै जीवन बीमा कम्पनी थिए । राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ । रामशाह पथबाट २०५७ सालमा बीमा समितिको तालिम लिए । तालिम लिए पछि कहाँ जाने भन्दै गर्दा राष्ट्रिय बीमा संस्थान नै जाउ भन्ने भयो । पहिलो एक वर्ष राष्ट्रिय बीमा संस्थानमा काम गरे । त्यतिवेला नै उनको ४७ वटा पोलिसी थियो ।
राष्ट्रिय बीमा संस्थानमा काम गर्दा गर्दै कमलराज गौतमले केसीलाई २०५८ साल असार १७ गते नेपाल लाइफमा भित्र्याए । त्यतिवेला उनि सामान्य अभिकर्ताको रुपमा फाट्ट फुट्ट मात्रै काम गर्थे । यतिकैमा होम बहादुर श्रेष्ठ वीरगञ्जबाट काठमाडौ शाखामा शाखा प्रमुखमा सरुवा भएर आए ।
उनले केसीलाई बीमा गर्नु पर्यो भन्दै हरेक दिन झकझक्याउन थाले । श्रेष्ठले झकझक्याउने मात्रै नभएर बीमा पोलिसी ल्याउनु पर्यो भनेर हरेक दिन प्रोत्साहन गर्न थाले । यतिवेलासम्म केसी फ्रि इन्टरनेशनल कन्सेप्ट मार्केटिङ नेपालमै काम गर्थे ।
यतिवेला उनको नेटवर्क धेरै राम्रो थियो । बीमाका लागि प्रस्ताव गर्दा कुनै पनि कर्मचारीले नाइ भन्ने अवस्था थिएन । फ्रि इन्टरनेशनल कन्सेप्ट मार्केटिङ नेपालले नेपालभर हरेक किसिमका समाग्री बिक्री गर्ने भएकाले उनि मातहतका कर्मचारीले सम्मान गर्ने नै भए । काम लिनकै लागि भए पनि नजिकिन्थे । यहि सम्बन्धलाई व्यवायिक बनाउन उनि सफल भए ।
फ्रि इन्टरनेशनल कन्सेप्ट मार्केटिङ नेपाल केसीका लागि हरेक हिसावले जीवनको टर्निङ प्वाइन्ट बन्यो । उनले जागिर मात्रै गरेनन् धेरै सिक्ने मौका पनि पाए । मर्केटिङ पेसा आफैमा कठिन पेशा हो । उनले नजिकबाट बजारलाई मात्रै नियालेनन् भारतमा गएर मार्केटिङ सम्बन्धी तालिम समेत लिने अवसर प्राप्त गरे । तालिमका क्रममा मागलाई कसरी क्यास गर्नेदेखि लिएर मार्केटिङ विषयमा राम्रो ज्ञान हासिल गरे । यसले उनको मार्केटिङ स्किलमा निखारता ल्यायो । यस अवधिमा उनले मार्केटङलाई राम्रो सँग बुझ्ने अवसर प्राप्त गरे ।
जागिर खाएर एक महिनामा निश्चित तलब कुर्नु भन्दा मार्केटिङ गरेर आफुले सोचेको पुरा गर्न सकिन्छ भन्ने कुरा याँहीबाट अनुभुत गरे । उनलाई सुरुकै दिनमा नेपाल लाइफबाट जागिर खाने अवसर प्राप्त नभएको होइन । अरु कम्पनीबाट पनि जागिरका लागि ठुलो अफर आयो । उनि भन्छन् ‘जागिर खादा दायरा साघुरिन्छ । जति काम गरे पनि निश्चित तलब भन्दा धेरै आउदैन । तर आफुले चाहेको जति कमाउन सम्भव हुने कुरै भएन ।’
आफैले केहि गरियो भने आफुले चाहेको जति गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । त्यसैले उनले तीन वर्ष जति जागिर गरे पछि अरुको बन्देजमा रहेर जागिर नखाने निधो गरे । यहि निर्णयले उनलाई आज यो उचाइमा ल्यायो । तर उनको यो निर्णय प्रति परिवारलाई खासै चित्त बुझिरहेको थिएन । बुबा र परिवारको आग्रहमा उनले लोकसेवाको परीक्षा पनि दिए । पहिलो चोटीमै उनले नासुको लिखित परीक्षा उत्तीर्ण गरे । लोकसेवाले अन्तर्वार्ताको लागि बोलायो । तर उनि गएनन् ।
त्यतिवेला नासुको तलब ४ हजार ९०० थियो । जवकी उनले फ्रि इन्टरनेशनल कन्सेप्ट मार्केटिङ नेपालमा २१ हजार ७०० रुपैयाँ बुझ्थे । दुई तीन वर्षदेखि २१ हजार ७०० रुपैयाँ तलब बुझ्दै आएका केसीलाई नासुको तलबले आकर्षित गर्न सकेन । अन्तत उनले नासुको अन्तर्वार्तामा नजाने निधो गरे । उनि भन्छन् ‘बुबाको जस्तै जीवन बिताउन ठिक होला तर काठमाडौंमा हाइफाइ गरेर घर गाडी जोड्ने सपना पुरा हुदैन थियो । यसका लागि कि त दुई नम्बरी काम गर्नु पर्छ । त्यो मेरो स्वाभिमानले दिदैन ।’
उनलाई ‘सत्य बोलेर परिश्रम गरेर काठमाडौंमा घर गाडी जोड्ने, छोरा छोरीलाई राम्रो सँग पढाउने हो भने अभिकर्ता पेशा नै ठिक छ’ भन्ने लाग्यो । २०६२ फागुनमा विवाह गरे । विबाह पश्चात उनले अन्य सम्पुर्ण पेशालाई पुर्ण रुपमा छाडिदिए । २०५८ देखि २०६२ सम्म उनले फाट्ट फुट्ट बीमा गराउथे । यस अवधिमा उनले विभिन्न स्थानमा पार्टटाइम काम गरे । होम ट्युसन पढाए ।
जव नेपाल लाइफले 'प्रमोसन सिस्टम' ल्यायो त्यस लगत्तै उनि बिजनेस कोर्डिनेटर भए । त्यस पछि 'एजेन्सी म्यानेजर' सिस्टम ल्यायो । यो सिस्टममा पनि उनि पाँचौ नम्बरको एजेन्सी म्यानेजर भए । यस्तो प्रणालीले जीवन बीमा व्यवासयमा पुर्णकालिन काम गर्छु भन्ने अभिकर्तालाई संरक्षण गर्यो । यस पछि केसीले कहिले पनि पछाडी फर्केर हेर्नु परेन ।
उनि भन्छन् ‘चाहेको समयमा बीमा गराउने काम गर्न सकियो । यति बजेदेखि यति बजेसम्म काम गर्नु पर्छ भन्ने भएन ।’ उनको स्वभाव स्वतन्त्रता रुचाउने किसिमको छ । यसले गर्दा कसैको अण्डरमा बसेर काम गर्नु पर्ने बाध्यता रहेन । परिवारको दायित्वहरु पुरा गर्न कहिले पनि अरुलाई गुहार्नु परेन । उनले छोटो समयमै काठमाडौंमा घर गाडी जोड्न सफल भए । जवकी यो उपलब्धी सरकारी जागिर वा अन्य कुनै पनि जागिर गरेर सम्भव थिएन् ।
अभिकर्ता पेशामा पुर्णकालिन रुपमा काम गर्न थालेको ५ वर्षमा धुम्बाराहीमा घर बनाउन सफल भए । घर सँगै गाडी जोड्नु सामान्य परिवारको सपना भन्दा बाहिरको कुरा थियो । तर केसीको लगनशिलता र इमान्दारिताले यो सबै सम्भव भयो ।
उनि भन्छन् ‘बीमा क्षेत्रमा टिक्नका लागि पहिलो कुरा इमान्दारिता चाहिन्छ । यस सँगै लगनशिता चाहियो । अभिकर्ता मात्रै होइन अन्य जुनसुकै पेशामा निरन्तरता छैन भने उसले सफलता हासिल गर्न सक्दैन । पेशा प्रति इमान्दार हुनु पर्छ र गद्दारी गर्नु हुँदैन ।’
रुकुमको सामान्य परिवारमा जन्मिएका केसीले काठमाडौं जस्तो विरानो ठाउँमा आएर आफुलाई ‘नम्बर वान’ बनाउनु जो सुकैका लागि चासो विषय हुने नै भयो । उनि यस्तो समयमा बीमा व्यवसायमा प्रवेश गरेका थिए जति वेला माओवादी युद्ध चरम उत्सकर्षमा थियो । त्यसमा पनि उनि युद्धको उद्घोष गरेको ठाँउ रुकुमबाट आएका थिए ।
रुकुम भन्ने वित्तीकै जो कोही डराउने सयम थियो । यस्तो परिस्थितिमा पनि सफल बनाउने एक मात्र कारण थियो उनको व्यवहार, लगनशिलता र इमान्दारिता । उनि पेशाप्रति निष्ठावान थिए । कुनै छलकपट गरेर प्रिमियम संकलन गरिहालौ पैसा कमाइहालौ भन्ने सोच बनाएर अगाडी बढेनन् ।
सहयोगी भावनाका केसी आफु नजिकका जो कोहीलाई साह्रो गाह्रोमा मद्दत गर्न पछाडी हट्दैनन् । काठमाडौंमै स्थापित मान्छेहरुलाई पनि आफूलेसकेको ढाडस र साथ दिन्छन् । निश्वार्थ भावना सहितको सहयोगले जो कोहि उनको आग्रहलाई नकार्न सक्दैनन् । यहि कारणले आजसम्म पनि उनि बीमा उद्योगमा टिकिरहेका छन् ।
उनि कहिले पनि चिनेका वा नचिनेको जोसुकैलाई आफु बीमा कम्पनीमा अभिकर्ताको काम गर्छु भनेर सुरुमै चिनाउदैनन । सबैभन्दा पहिला उनि हरेक मानिसहरु सँग पारिवारिक व्यवहार गर्छन् ।
जीवन बीमा व्यवसायमा लागेको २३/२४ वर्षको अवधिमा उनले अहिलेसम्म एउटा पनि फोर्सफुल्ली बीमा गराएका छैनन् । जो कोहीलाई उनि निस्वार्थ रुपमा बीमाको बारेमा राम्रो सँग बुझाउछन् । उनको पहिलो उद्देश्य हरेक व्यक्तिलाई बीमाको बारेमा जनचेतना जगाउनु हो । उनि भन्छन् ‘जवसम्म मानिसले बीमाको बारेमा बुझ्दैन तवसम्म उसलाई बीमा मात्रै गराएर कुनै अर्थ हुँदैन ।’ उनले थपे, यदि कसैले बीमाको बारेमा गलत बुझेको रहेछ भने उनिहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा बुझाउने प्रयास गर्छु ।
यहि स्वभावका कारण केसीले आफ्नो अभिकर्ता जीवनमा ५ हजार भन्दा धेरैलाई बीमा गराउन सफल भइसकेका छन् । उनि आफैले १७ सय भन्दा धेरैलाई अभिकर्ता बनाएका छन् । एजेन्सी म्यानेजर प्रणालीमा उनि मातहत एक सय भन्दा धेरै एजेन्सी म्यानेजर हरेका छन् । हाल औषतमा दैनिक तीन जनाको पोलिसी परिपक्क हुने गरेको छ । कहिले एक जना पनि हुँदैन कहिले ६/७ जनाको हुन्छ । यस हिसावले औषतमा दैनिक ३ जनाको पोलिसी परिपक्व हुन थालिसकेको केसी बताउछन् । उनले थपे, एकै दिन १७ वटासम्म पोलिसी परिपक्व भएको छ ।
केसीले बीमितको सञ्जाल यति बलियो बनाएका छन् कि उनिहरुले आफ्नो परिवारका कुनै पनि सदश्यको बीमा गराउनु पर्यो भने फोन गरेर बोलाइहाल्छन् । हाल उनले वर्षमा एक करोड भन्दा धेरै प्रथम बीमा शुल्क संकलन गर्छन् । यो प्रिमियम लगभग पुरानै बीमितको सम्पर्कबाट प्राप्त हुने गरेको छ ।
परिपक्व भएको बीमा मध्ये २५ प्रतिशत रकमलाई नयाँ व्यवसायमा कन्भर्ट गर्न उनि सफल भइरहेका छन् । उनले केहि वर्षदेखि यो सर्कल भन्दा बाहिर गएर बीमाको बारेमा बुझाउदै बीमा गरिदिनु पर्यो भन्दै जानु परेको छैन । उनि भन्छन् ‘हामीले ठुलो भोलुम हेर्ने भन्दा पनि गुणस्तरिय सेवा प्रवाह गर्न सक्नु पर्छ । सुरुमा अलि धेरै परिश्रम गर्नु पर्ला किनभने म कोहु भनेर चिनाउनु पर्छ । राम्रो सँग बीमाको बारेमा बुझाएर एक सय जनालाई मात्रै बीमा गराउन सकियो भने उनिहरु मार्फत नै नयाँ व्यवसाय आउछ । उनिहरु वरिपरिकै मानिसहरुलाई बीमा गराउन सकिन्छ ।’
केसीले सुरुवाति दिनदेखि नै बीमाको लागि एउटै मानिसहरुलाई धेरै पटक भनिरहनु परेन । बीमा नबुझेको छ भने उनि तत्काल बुझाउने प्रयास गर्छन् । उनको एक चरणको प्रशिक्षण पछि उक्त व्यक्तिले बीमा गर्ने या नगर्ने निर्णय लिइहाल्छ । यसले गर्दा एउटै व्यक्तिकोमा धेरै पटक कहिले पनि धाउनु नपरेको उनले बताए ।
बीमा गरिसकेकालाई पनि उनि बीमाको बारेमा राम्ररी बुझादिन्छन् साथै साथै अरुको बीमा गर्दा बुझेर मात्रै गर्नु होला भनेर सुझाव दिन्छन् । कहिले पनि म सँग र मेरै कम्पनीमा बीमा गर्नु पर्यो भन्दैनन । तर जो सँग बीमाको बारेमा कुराकानी हुन्छ उनिहरु सबै केसीको बुझाउन सक्ने कलाबाट प्रभावित हुन्छन् ।
सुरु सुरुमा आफुले पढाउने विद्यार्थीको अभिभावककोमा पुग्थे । उनि भन्छन् ‘एउटा शिक्षकले भने पछि नकार्न नसकेर पनि धेरैले बीमा गर्नु भयो होला तर महिले कहिले पनि नबुझाइ बीमा गराइन ।’ अर्को तर्फ कन्ट्रिम्यानेजर हुँदा आफु मातहतका कर्मचारीलाई सहजै बीमा गराउन सफल भए । एउटा कन्ट्रिम्यानेजरले भने पछि नकार्न नसकेर पनि बीमा भएको उनि स्वीकार्छन् । उनिले सुरुवाति पाइला सहजै अगाडी बढाए ।
केसीले बीमा गराएका मध्ये अहिलेसम्म तीन जनाको मृत्यु भयो । गाडी दुर्घटनामा परेर पहिलो पटक मृत्यु दाबी भुक्तानी गर्नु पर्ने अवस्था आयो । रुकुमबाट दाङ आउदै गरेको बस दुर्घटनामा परेर एकै पटक ४३ जनाको मृत्यु भयो । उनिहरु मध्ये दुई जनाको मात्रै बीमा भएको रहेछ । एक जना उनले बीमा गराएका प्रेम बुढा भन्ने व्यक्ति थिए भने अर्का व्यक्ति नेशनल लाइफका बीमित थिए ।
नेशनल लाइफले मृत्यु दाबी भुक्तानी गर्न करिव ६ महिना लगाइदियो तर नेपाल लाइफले प्रेम बुढाको दाबी भुक्तानी कागजपत्र जुटेको तीन दिन भित्रमा दियो । यहि एउटा दाबीको कारण उनले त्यस वर्ष ११३५ वटा पोलिसी बिक्री गर्न सफल भए । बुढा रुकममा कपडाको व्यापार गर्थे । यसरी बुढाले दाबी पाएको थाहा पाएर वरिपरिका अन्य मानिसहरुमा बीमा गर्ने लहर छायो ।
केसीले एकै दिनमा लाइन लगाएर ४७ वटासम्म पोलिसी फारम भरे । त्यो अवस्थामा २/३ तीन लाखको बीमा हुन्थ्यो । यसरी फारम भरेर फर्किदा १६७ वटा पोलिसी लिएर आएका थिए । लगभग ९/१० लाख रुपैयाँ प्रथम बीमा शुल्क लिएर काठमाडौ आए । यो घटनाले उनलाई यस क्षेत्रमा टिकाउन उत्प्रेरित गर्यो ।
त्यतिवेला भएका सबै बीमा परिपक्व भइसक्यो । परिपक्व भइसकेका कतिपय व्यक्तिको परिवारको पुनः बीमा समेत भइसकेको छ । दोस्रो मृत्यु दाबी भुक्तानी पनि रुकुमकै बीमितको भयो । भेडा चराउन जादा लडेर मृत्यु भए पनि कम्पनीले समयमै दाबी भुक्तानी गरिदियो । अर्को मृत्यु दाबी भुक्तानी ठमेलका व्यापारीको हृदयघातका कारण मृत्यु भए पछि भयो । यि तीन वटा बाहेक दाबी भुक्तानी गर्नु परेको छैन ।
नेपाल लाइफले एजेन्सी म्यानेजरको सिस्टम ल्याए पछि स्थापना गरेको टप १३ अवार्डमा केसी सुरुमै पर्न सफल भए । यस पछिका कुनै पनि सर्वोत्कृष्ठ अवार्ड उनको हातबाट फुत्किएको छैन । अभिकर्ता पेशामा पुर्णकालिन भएको पहिलो वर्षमै काठमाडौं शाखामा दोस्रो धेरै व्यवसाय भित्र्याउन सफल भए । दोस्रो वर्ष पनि दोस्रो भए । केसी २०७२/७३ देखि लागतार चार वर्षसम्म सर्वाधिक धेरै व्यवसाय भित्र्याउने पहिलो नम्बरमा परे । अघिल्लो वर्ष दोस्रो नम्मबरमा रहेका केसी गत वर्ष भने टप फाइभ भित्र पर्न सफल भए । गएको वर्ष पेशागत बीमा अभिकर्ता संघको निर्वाचनमा देशदौडाहामा निस्कनु परेकाले पहिलो नम्बरमा आउन सकेनन् । अभिकर्ताको पेशागत हित अभिबृद्धिमा खटिए ।
नेपाल लाइफले २०६९ सालतिरै एमडिआएरटीको अभ्यास सुरु गरेको थियो । त्यतिवेला नै उनि एमडिआरटी क्वालिफायर्ड भए । उनि २०२२ मा सिओटीका लागि योग्य भए । हरेक वर्ष एमडिआरटी हुँदै आएका छन् । व्यवसायमा उपलब्धी हासिल गरे बापत उनले धेरै वटा देशमा घुम्ने अवसर प्राप्त गरिसकेका छन् ।
हाम्रो फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया