तारकेश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता गर्दै, प्रथम हुने विद्यालयलाई एक लाख पुरस्कार
- BFIS News
- 2024 Nov Fri 18:43
काठमाडौं । तारकेश्वर नगरपालिकाले यहि मंसिर १८ गतेदेखि २५ गतेसम्म तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगता २०८१ आयोजना गर्ने भएको छ । "पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार" भन्ने नाराका साथ तारकेश्वर नगरपालिका भित्रका विद्यालयहरु विच खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको नगर प्रमुख कृष्ण हरि महर्जनले जानकारी दिए ।
नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनलाई संबोधन गर्दै नगर प्रमुख महर्जनले "राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद" भन्ने खेल भावनाको मर्म अनुसार खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नुका साथै हरेक व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताए ।
यस्तो प्रतियोगिताले विद्यार्थी खेलाडीहरुको अन्तरनिहीत प्रतिभालाई उजागर गर्नुका साथै समुदाय तथा यस नगरको इज्जत, प्रतिष्ठा र गौरवसंग जोडिएको उनले दाबि गरे । उनले थपे 'नगरको आदर्श वाक्य "पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार" भन्ने भावनालाई आत्मासाथ गर्दै आपसी सदभाव र आर्थिक, सामाजिक विकास मात्र होइन, मानव स्वास्थ्यका लागि पनि खेलकुदलाई प्राथमिकतामा राखिएको छ । त्यसैले "खेल तारकेश्वरको सन्देश एकताको" भन्ने यस प्रतियोगिताको मुल नारा सहित निम्न उद्धेश्यहरु एवम् अपेक्षित उपलब्धी हासिल हुने आशा लिएको छु ।'
यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थी खेलाडीहरुमा भएको अन्तरनिहीत खेल प्रतिभालाई प्रस्फुटन गर्ने नगर प्रमुख महर्जनले बताए । खेल क्षेत्रबाट एकता एवम् मैत्रीपूर्ण भावनाको अभिवृद्धि हुने भन्दै उनले यस्तो प्रतियोगिताबाट जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको लागि पूर्व तयारी हुने उनको विश्वास छ ।
स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचनबाट आफू लगायत निर्वाचित जनप्रतिनिधिहरु समेतको प्रमुख प्राथमिकतामा रहेको शुद्ध खानेपानी सहितको एक घर एक धारा, करको दायर बढाउने करको दर घटाउने, सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने र स्वास्थ्य, खेलकुद सहितको पूर्वाधारको अलावा खेल क्षेत्रलाई प्राथामिकिकरण गर्दै विभिन्न विधाका खेलकुद प्रतियोगिताहरु आयोजनामा प्रोत्साहान गर्ने नीति लिइएको उनले सोही अवसरमा बताए ।
सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत विद्यालयहरुमा रहेको शिक्षक जनशक्तिको अभावलाई परिपुर्ति गर्न नगर शिक्षक अनुदान माध्यमिक तह १७ जना, आधारभूत तह १३ जना, बालविकास सहजकर्ता १८ जना र विद्यालयको सुरक्षालाई मजबुत गर्न १५ जना सुरक्षाकर्मीको दरवन्दी सिर्जना गरि कार्यन्वयन चरणमा रहेको उनले जानकारी दिए ।
त्यसै गरि प्रत्येक विद्यालयलाई प्रविधिमैत्री एवम् Digitalize बनाउन रु. एक करोड पचास लाख विनियोजन गरि ६० ओटा स्मार्ट बोर्ड खरिद गरि सबै सामुदायिक विद्यालयहरुमा हस्तानान्तरण गरि प्रयोगमा रहेको उनले बताए । नगरपालिकाले सामुदायिक विद्यालयहरुमा स्कुल बस उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।
सामुदायिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई एस.ई.ई. लक्षित कार्यक्रम सञ्चालन गरि SEE-२०८० मा पृथ्वीनारायण माध्यमिक विद्यालयबाट १ जना र संस्थागत विद्यालयबाट ६ जना गरि जम्मा ७ जना विद्यार्थीहरुले ४ जि.पि.ए. ल्याउन सफल विद्यार्थीहरुलाई प्रोत्साहान स्वरुप ल्यापटप सहित नगद पुरस्कारबाट सम्मान समेत गरिएको उनले बताए ।
दातृ निकायको सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गरि शैक्षिक गुणस्तर अभिवृद्धि गरिएको उनले बताए । सार्वजनिक शिक्षा सबै नगरवासीहरुको पहुँचमा वडा नं. ८ मा सामुदायिक विद्यालय स्थापना गरिएको उनले जानकारी गराएका छन् । उनका अनुसार उक्त विद्यालयलाई श्री तारकेश्वर मनमैजु सामुदायिक विद्यालय नामाकरण गरि यसै शैक्षिक सत्र देखि सञ्चालनमा आएको छ ।
आफ्नो कार्यकालको पहिलो र दोस्रो वर्षमा ल्याइएका शैक्षिक कार्यक्रमहरु जस्तै मेयर विद्यालय सञ्चालन अनुदान, उपमेयर बालमैत्री विद्यालय अनुदान, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, विद्यालय बस व्यवस्थापन, सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यपक, बालविकास सहजकर्ता, विद्यालय सहायक र विद्यालय सहयोगीहरुलाई थप तलब भत्तामा वृद्धि, सामुदायिक विद्यालयका शिक्षकहरुको शैक्षिक अध्ययन अवलोकन भ्रमण जस्ता आकर्षक कार्यक्रमहरु समावेश गरिएको हुनाले नगरको शैक्षिक उन्नत्तिमा थप बल पुगेको उनको दाबी छ ।
जसको परिणाम स्वरुप आधारभूत तह र माध्यमिक तहको नतिजामा सुधारका संकेतहरु देखा परिसकेको उनले बताए । शिक्षा क्षेत्रमा विगत आ.व. हरुको तुलनामा शिक्षा क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरिएको उनले जानकारी दिए ।
एस.ई.ई. २०८० को सामुदायिक विद्यालय तर्फ ७३.३७ प्रतिशत विद्यार्थी र संस्थागत विद्यालय तर्फ ९०.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । जुन राष्ट्रियस्तरको नतिजा भन्दा माथि रहेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । नगरको खेलकुद क्षेत्रको विकासका निम्ति नगर खेलकुद विकास सम्बन्धी कार्यविधि २०८१ नगर कार्यपालिकाको मिति २०८१ मंसिर १० गतेको बैठकबाट स्वीकृत भएको उनले जानकारी दिए ।
तारकेश्वर नगरपालिकाले प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता २०७९ माघ १२ देखि १४ गते सम्म ५ विधाका बिभिन्न इभेन्टहरुमा ३४ विद्यालयबाट १९७४ विद्यार्थीहरुको सहभागीता रहेको नगरपालिकाले जनाएको छ । त्यसैगरी दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा ७ विधाका बिभिन्न इभेन्टहरुमा ४९ विद्यालयबाट २२५४ खेलाडी विद्यार्थीहरुको सहभागीता रहेको नगरपालिको तथ्याङ्कमा छ ।
प्रथम मेयर रनिङ शिल्ड प्रतियोगितामा यस नगरपालिकाबाट विभिन्न विधामा छनौट भएर गएका खेलाडीहरुले काठमाडौं जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७९ मा चार विधामा खेलाइएका खेलहरुमा ८ स्वर्ण, ११ रजत र ८ काश्य पदक सहित द्धितीय स्थान हासिल गर्न सफल र १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा चार विधामा खेलाइएका खेलहरुमा ३२ स्वर्ण, १६ रजत र ११ काश्य पदक सहित काठमाडौँ जिल्लामै प्रथम स्थान हासिल भएको उनले जानकारी गराए ।
प्रतियोगितामा ८ विधाका विभिन्न इभेन्टहरुमा सामुदायिक र संस्थागत गरि जम्मा ५३ विद्यालयहरुबाट ३४५४ जना विद्यार्थी खेलाडीहरु सहभागी हुने नगर प्रमुख श्रेष्ठले जानकारी गराए । विद्यार्थीहरुमा गत वर्षको तुलनामा खेल प्रतिको सहभागीता एवम् उत्साहमा अभिवृद्धि भएको उनको दाबी छ ।
खेलकुदको क्षेत्रलाई अझ प्रभावकारी बनाउनु पर्ने मान्यतालाई हृदयङ्गम गरी यस वर्ष फुटबल खेललाई समेत थप गरि ८ विधाका विभिन्न इभेन्टमा करिब ३० लाख बजेट विनियोजन गरिएको श्रेष्ठले जानकारी दिए । उनले भने, जसबाट तारकेश्वर नगरपालिकामा शौक्षिक गुणस्तर संग संगै खेलकुदको क्षेत्रमा थप विकास हुन गई आगामी दिनमा जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा हाम्रा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरि सफलता हासिल गर्न सक्षम हुनेछन भन्ने विश्वास लिएको छु।
मेयर रनिङ शिल्ड प्रतियोगिता खेलकुदको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु बिच सहकार्य, समन्वय र एकता भाव अभिवृद्धि भई विद्यालयहरु बिच स्वस्थ प्रतिस्प्रर्धा, असल अभ्यासहरु आदान-प्रदान गर्ने उपयुक्त वातावरण तयार हुने विषयमा नगरपालिका आशावादी रहेको उनले बताए ।
तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता-२०८१ मा पनि प्रथम र द्धितीय मेयर रनिङ शिल्ड प्रतियोगितामा जस्तै प्रतिस्पर्धी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई प्रमाण-पत्र, शिल्ड, मेडलका अलवा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद रु. एक लाख, द्धितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद रु साठ्ठी हजार, तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद रु. चालीस हजार र चौथो स्थान हासिल गर्ने विद्यालयलाई प्रोत्साहन स्वरुप नगद रु बीस हजार प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।
यस प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौ संसोधन) को मापदण्ड भित्र रहेर सञ्चालन गरिने नगर प्रमुख महर्जनले जनाकारी दिए । राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट र कबड्डी खेलहरुका अतिरिक्त हामीले यस प्रतियोगितालाई थप आकर्षक र सहभागीतामुलक बनाउनको निमित्त फुटबल, बास्केटबल, टेवल टेनिस र व्याटमिन्टन जस्ता लोकप्रिय खेलहरु समेत समावेश गरिएको छ । यस प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन राष्ट्रिय खेलकुद परिषद्ले निर्धारण गरेको मापदण्ड बमोजिमका रेफ्रिहरुको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुखले भने 'खेल प्रतियोगिता सञ्चालन आफैमा अवसर र चुनौतीपूर्ण कार्य भए पनि मेरो तथा नगरपालिकाको उद्धेश्य र भावनालाई सम्पूर्ण विद्यालय, खेलप्रेमि, कर्मचारी, स्वंयमसेवक, सञ्चारकर्मी, प्रशिक्षकहरु, सबै सरोकारवालाहरुले आफ्नो तर्फबाट गहन जिम्मेवारी र भूमिकाको अपेक्षा गर्दै सिमित स्रोत साधनका वावजुद धेरै विद्यालय समेटने गरि खेलका ईभेन्टहरु सञ्चालन गरिनेछ ।'
यस प्रतियोगिताको उद्घाटन सत्रमा स्थानीय बाजागाजा सहित जनप्रतिनिधिहरु, स्थानीयबासीहरु, स्काउट, विद्यार्थीहरु, खेलाडीहरु, शिक्षक लगायत सरोकारवालाहरुको उपस्थिति रहनेछ ।
तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता-२०८१ को समय तालिका
क्र.स. |
विवरण |
मिति |
समय |
स्थान |
१ |
प्रेस मिट |
२०८१।०८।१४ |
दिनको ३ बजे |
तारकेश्वर नगरपालिकाको सभा हल, धर्मस्थली, काठमाडौं |
२ |
उद्घाटन समारोह |
२०८१।०८।१८ |
दिनको १२;१५बजे |
टुसाल खेल मैदान,तारकेश्वर-८ |
३ |
मार्च पास |
२०८१।०८।१८ |
दिनको ११ बजे देखी १२ बजेसम्म |
ग्रामसेवा मा.वि.,तारकेश्वर-६ बाट टुसाल खेल मैदान, तारकेश्वर-८ |
४ |
फुटबलः छात्र र छात्रा |
२०८१।०८।१८-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
एञ्जल स्पोर्टस् एकेडेमी, तारकेश्वर-९ |
५ |
भलिबलः छात्र र छात्रा |
२०८१।०८।१९-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
एञ्जल स्पोर्टस् एकेडेमी, तारकेश्वर-९ |
६ |
कबड्डीः छात्र र छात्रा |
२०८१।०८।१९-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
एञ्जल स्पोर्टस् एकेडेमी, तारकेश्वर-९ |
७ |
एथ्लेटिक्स अन्तर्गतका ट्रयाक तथा फिल्ड तर्फका सबै खेल |
२०८१।०८।१९-२१ |
दिनको २;३० बजेबाट |
सशस्त्र प्रहरीको हलचोक खेल मैदान |
८ |
मार्सल आर्ट तर्फ(कराँते र उसु) |
२०८१।०८।१९-२२ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
आजिमा कबड हल, तारकेश्वर-९, मनमैजु |
९ |
मार्सल आर्ट तर्फ तेक्वान्दो |
२०८१।०८।२३-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
सन फ्लावर एकेडेमी, तारकेश्वर -६,पैयांटार |
१० |
बास्केटबल |
२०८१।०८।१९-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
लालिगुराँस नेशनल एकेडेमी, तारकेश्वर-१० |
११ |
ब्याटमिन्टन |
२०८१।०८।१९-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
G4 ब्याडमिन्टन हल, तारकेश्वर-१० |
१२ |
टेबल टेनिस |
२०८१।०८।१९-२४ |
दिनको ०९ बजे देखी ५ बजेसम्म |
सृजना ज्ञान सागर स्कुल, तारकेश्वर-४ |
१३ |
समापन समारोह |
२०८१।०८।२५ |
दिनको १;०० बजे |
तारकेश्वर नगरपालिका सभा हल |
प्रतिक्रिया