राष्ट्रिय बाणिज्य बैंकको वास्तविक सेयरधनी नेपाली जनता हुन्, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको अन्तर्वाता
- उपहार
- 2025 Jan Fri 18:28
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा खुला प्रतिस्पर्धाबाट छनौट भई चाटर्ड एकाउन्टेन्ट देवेन्द्ररमण खनाल २०८१ जेठ ११ गतेदेखि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । यसअघि बैंकको विभिन्न जिम्मेवारीमा रही कार्य गरिसक्नुभएका खनालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र कायममुकायम प्रमुख कार्यकारी अधिकृतको समेत कार्यानुभव हासिल गरेका छन् । प्रस्तुत छ, बैंकको ६० औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘उपहार–२०८१’ स्मारिकाका लागि उनिसँग प्रकाशन तथा प्रचारप्रसार उपसमितिका तर्फबाट लिइएको अन्तर्वार्ता ।
सर्वप्रथम राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट भई बैंकको उच्चतम जिम्मेवारी प्राप्त गर्नुभएकोमा यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । हुन त तपाईंले यस बैंकमा विगत १७ वर्षदेखि विभिन्न जिम्मेवारीमा रही पछिल्लो समयमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको सन्दर्भमा यस बैंकको पछिल्लो वित्तीय अवस्थालाई कसरी नियालिरहनुभएको छ ? सङ्क्षिप्तमा प्रस्ट पारिदिनुहोस् ।
धन्यवाद । म विगत १७ वर्षदेखि यस बैंकको विभिन्न जिम्मेवारीमा रहँदै गत जेठ ११ गतेदेखि खुला प्रतिस्पर्धाबाट छनौट भई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत छु । यस बैंकको पछिल्लो वित्तीय अवस्थालाई विश्लेषण गर्दा बैंकको निक्षेपमा उल्लेख्य बढोत्तरी भई ब्याज खर्च वृद्धि हुने अवस्था छ । मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएपछि पनि ९० अर्बको निक्षेप बढेको छ । कर्जा थप लगानी गर्नुपर्ने दबाब रहेको छ । कर्जा निक्षेप अनुपात ६४ प्रतिशतको हाराहारीमा छ ।
नेपालको बैंकिङ क्षेत्रमा देखिएको निष्क्रिय कर्जाको वृद्धि समग्र रूपमा बढ्दै गएको देखिन्छ । यस बैंकको वित्तीय अवस्था पनि नेपालको समग्र बैंकिङ क्षेत्रको अवस्था जस्तो नै रहेको छ । हामीले यस वर्ष पनि गत वर्ष झैँ बैंकको आ.व. २०८०/८१ को अन्तिम लेखापरीक्षण सम्पन्न गरी वार्षिक साधारणसभा पनि सम्पन्न गरिसकेका छौँ । बैंकको पछिल्लो वित्तीय अवस्थालाई हेर्ने हो भने आजका दिनमा यस बैंकको कुल निक्षेप रु. ४ खर्ब ५० अर्ब र कुल कर्जा रु. २ खर्ब ८४ अर्ब रहेको छ ।
बैंकसँग कारोबार गर्ने कुल ग्राहकको सङ्ख्या करिब ४६ लाख पुगेको छ भने भौगोलिक उपस्थितिका हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । थप आठवटा शाखाहरू सञ्चालनको अन्तिम तयारीमा छन् । सम्भवतः यही माघ १० गतेसम्ममा ती शाखाहरू सञ्चालनमा आउने छन् । डिजिटल बैंकिङका पक्षमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।
अहिले हाम्रो गर्व गर्ने थप एउटा पक्ष भनेको नेपाल क्लियरिङ हाउसद्वारा सबैभन्दा बढी सरकारी डिजिटल कारोबार गर्ने बैंकका रूपमा सम्मानित हुनु हो । अहिलेको अवस्थामा हामीसँग करिब १८ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, करिब ८ लाख २७ हजार एटिएम प्रयोगकर्ता, ४० हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता, २,१०५ क्रेडिट कार्ड रहेका छन् भने हामीले POS Machine १,९७२ र QR Code ७८ हजार जारी गरेका छौँ ।
राष्ट्रिय वाणिज्य बैंकलाई नेपालको बैंकिङ बजारमा अझ प्रतिस्पर्धी र सक्षम बैंकका रूपमा स्थापित गर्न के कस्ता पक्षहरूमा सुधार गर्नुपर्ने देख्नु भएको छ ? सुधारका लागि के कस्ता योजनाहरू तय गर्नुभएको छ ? स्पष्ट पारिदिनुहोस् ।
नेपालको बैंकिङ क्षेत्रमा लामो इतिहास बोकेको बैंक भएकाले यस बैंकको सेवा प्रवाह र अत्याधुनिक बैंकिङ क्षेत्रमा सुधार गर्नुपर्ने देखेको छु । मुलभूत रूपमा बैंकको सूचना प्रविधिका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेको छु । सोअनुसार बैंकको कोर बैंकिङ सिस्टममा परिवर्तन गर्ने, डिजिटल प्लेटफर्ममा चुस्त रूपमा काम गर्न स्विचलाई अपडेट गर्ने कार्यलाई अगाडि बढाइएको छ । बैंकमा सूचना प्रविधिको विकास तथा सोको समयानुकूल परिमार्जनका लागि बैंकले क्ष्त् भ्लजबलअझभलत च्यबमmबउ लागु गर्दै निकट भविष्यमा नै अन्तर्राष्ट्रियस्तरको बैंकिङ सफ्टवेयर खरिद गरी प्रयोगमा ल्याउन लागेको छ ।
सुधार गर्नुपर्ने अर्को महत्वपूर्ण पक्ष भनेको ग्राहकलाई प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनु रहेको छ । बैंकमा काम गर्ने सम्पूर्ण कर्मचारीहरू व्यावसायिक हुनु जरुरी छ । यसको अर्थ सेवा प्रवाहमा गुणस्तरीयता नै हो । चुस्त सेवा प्रवाह, ग्राहकमैत्री व्यवहार र सेवाग्राहीका समस्यालाई व्यावहारिक रूपमा परिणाम देखिने गरी सेवा प्रवाह गर्नु प्रतिस्पर्धी बैंकिङ सेवामा आवश्यक छ । यसका लागि बैंकमा हालै नियुक्त नयाँ जनशक्तिको तालिम तथा वृत्ति विकासका लागि बैंकले कार्य गरिहेको छ । बैंकमा कार्यरत वर्तमान जनशक्ति प्रतिस्पर्धी रहेकाले बैंकको सेवाको गुणस्तर वृद्धि गर्न सकिने कुरामा म विश्वस्त छु ।
त्यस्तै साइबर सुरक्षालाई अझ मजबुत तथा समयानुकूल सुरक्षित र भरपर्दो बनाउन यसै आर्थिक वर्षमा नवीनतम प्रविधिका उपकरणहरूको खरिद र सोसम्बन्धी आवश्यक तालिमको व्यवस्था गरिएको छ । यस प्रकारका सुधार कार्यहरूबाट यस बैंकलाई नेपालको बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रूपमा स्थापित गराउने रणनीतिका साथ हामी अगाडि बढेका छौँ ।
गुणस्तरीय व्यवसाय विस्तार अर्को महत्वपूर्ण पक्ष हो । आफूमा रहेको सीमित साधन स्रोतको उच्चतम उपयोग गर्नेतर्फ हामीले विशेष जोड दिएका छौँ । जोखिम व्यवस्थापन र अनुपालना जस्ता विषय सबल बैंकिङ सेवाका लागि अपरिहार्य छन् । यसतर्फ पनि बैंकले कार्ययोजनासहित कार्य गर्दै आएको छ ।
नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक अन्य बैंकभन्दा कसरी पृथक् छ ? यस बैंकको पृथक् पहिचानलाई यहाँले कसरी हेर्नुभएको छ ?
यो बैंक सबै नेपाली नागरिकको बैंक हो । यो बैंक सरकारी स्वामित्वमा स्थापित बैंक भएकाले आम नेपाली नागरिक यसका वास्तविक सेयर धनी हुन् । यस बैंकप्रति सबै नेपालीहरूले अपनत्व महसुस गर्न सकेका छन् । त्यसैले त यस बैंकलाई “तपाईँको आफ्नै बैंक” पनि भन्ने गरिन्छ । यसले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा विगत ६० वर्षदेख निरन्तर योगदान गरिरहेको छ । व्यावसायिक संस्था भएकाले नाफा कमाउनु त छँदै छ; जनतालाई बैंकिङ सेवा प्रवाह गर्ने मुख्य उद्देश्यका साथ यो बैंक सञ्चालित छ ।
यस बैंकको जिम्मेवारी पनि फरक छ । बैंकको बृहत् शाखा सञ्जालमार्फत देशका दूरदराजसम्म बैंकिङ सेवा पुर्याउनु, सबै नागरिकलाई सहज रूपमा बैंकिङ सुविधा प्रदान गर्नु, नेपाल सरकारका नीति तथा कार्यक्रमहरूको प्राथमिकतापूर्वक कार्यान्वयन गर्नु आदि कारणले यो बैंक अन्य बैंकभन्दा पृथक् छ । साथै बिमा तथा पुँजी बजारको विकासका लागि पनि बैंकले कार्य गरिरहेको छ । यस बैंकले देशका दूरदराजमा बैंकिङ सेवा प्रवाह गर्दै वित्तीय पहुँच र आम नागरिकमा वित्तीय साक्षरता प्रवाह गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
पूर्ण व्यावसायिक संस्था भएकाले यसले आर्जन गर्ने कुनै पनि रकम सरकारी राजस्वमा जम्मा हुन्छ र देश विकासमा सो रकम खर्च हुन्छ । त्यसैले त हामीले यसका वास्तविक सेयर धनीहरू नेपाली जनता हुन् भनेका हौँ । समग्र रूपमा सरकारका कार्यक्रमहरू कार्यान्वयन तहमा लैजान सरकारको बैंकका रूपमा यसले कार्य गर्दै आएको छ । चाहे त्यो विकसित क्षेत्र होस् वा विकट हिमाली क्षेत्र किन नहोस्, यसको उपस्थितिले सरकारको संस्थाको उपस्थितिका रूपमा लिइएकाले अन्य बैंक तथा वित्तीय संस्थाभन्दा यसको फरक पहिचान रहेको छ ।
कृषि, पर्यटन, पूर्वाधार जस्ता रोजगारी प्रदान गर्ने उद्योग व्यवसाय एवम् आयआर्जनमा जोड दिई कार्य गर्ने गरेका छौँ । नेपाल राष्ट्र बैंकले प्राथमिकताका क्षेत्र भनी तोकिएका क्षेत्रमा विशेष कार्यक्रमसहित कार्य गर्ने हुनाले पनि यो बैंक अन्य बैंकभन्दा फरक छ ।
यहाँले चर्चा गरेअनुसार बैंकको पृथक् पहिचानका बिच यस बैंकलाई प्रतिस्पर्धी रूपमा अगाडि बढाउन आफ्नो चार बर्से कार्यकालमा बैंकको विकासका लागि मुलभूत रूपमा के कस्ता व्यावसायिक रणनीतिहरू बनाउनुभएको छ ? उल्लेख गरिदिनुहोस् ।
मैले बैंकको सञ्चालक समितिमा पेस गरेको व्यावसायिक कार्ययोजनामा रोल मोडलका रूपमा कार्य गर्न सक्ने केही योजना पेस गरेको छु । हामी बैंकको समग्र सम्पत्तिको गुणस्तरलाई बढोत्तरी गर्ने, व्यवसायलाई विस्तार गर्ने, कर्मचारीलाई उत्प्रेरित गर्ने, बैंकिङ सेवालाई चुस्त रूपमा डिजिटल माध्यमबाट प्रवाह गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने र लगानीकर्तालाई प्रतिफल दिन सक्षम हुने रणनीतिका साथ अगाडि बढेका छौँ । चुस्त दुरुस्त सेवा प्रवाहमार्फत युवा समूहका ग्राहकहरूलाई बैंकतर्फ आकर्षित गर्ने, कर्मचारीको क्षमता विकास गर्ने, सेवाग्राहीले बैंकप्रति अपनत्व लिन सक्ने, शाखा विस्तार गर्ने, डिजिटल कारोबारमा जोड दिने, कर्जाको गुणस्तर वृद्धि गर्ने लगायतका रणनीतिहरू लिई आगामी दिनमा अगाडि बढ्ने योजना रहेको छ ।
यसका लागि बैंकले चालु आर्थिक वर्षभित्र शाखा सङ्ख्यालाई ३३० पुर्याउने, प्रत्येक शाखामा कम्तीमा एउटा एटिएम मेसिन जडान गर्ने, डिजिटल बैंकिङ कारोबारलाई व्यापक रूपमा बढाउने, निष्क्रिय कर्जालाई दुई प्रतिशतमा ल्याउने, शाखा प्रबन्धकहरूलाई थप जिम्मेवार बनाउन व्यावसायिक लक्ष्य दिएर कार्य गर्ने योजना बनाएका छौँ । बैंकलाई उत्पादन र कृषिसँग जोडेर जाने छौँ । युवा, किसान, मजदुर, गृहिणी सबैलाई बैंकिङ च्यानलमा ल्याउने गरी कार्य गर्ने लक्ष्य लिएका छौँ । साथै सरकारलाई प्रतिफल दिन पनि प्रतिबद्ध छौँ ।
पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा देखिएको अस्वाभाविक अवस्था, बैंकहरूमा पर्याप्त तरलताका कारण बैंकको ब्याजदर न्यून हुँदा हुँदै पनि कर्जा लगानीमा सुस्तता देखिनुका जिम्मेवार कारकहरू के के होलान् ?
कहिले तरलताको प्रचुरता त कहिले तरलताको सङ्कुचन; नेपाली बैंकिङ व्यवसायमा समय समयमा आइरहने अवस्था देखिएको छ । तसर्थ यसको एक हदसम्म व्यवस्थापन गर्न दीर्घकालीन परियोजनाहरूका लागि बन्ड, ऋणपत्र जस्ता उपकरणहरू जारी गरी सोहीअनुरूप लगानी गर्न सकेमा बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा हुने अस्वस्थ प्रतिस्पर्धामा कमी आउँछ भन्ने मलाई लाग्दछ । बैंकिङ क्षेत्रमा तरलताको प्रचुरता अहिलेको अवस्था हो ।
विगतमा व्यवसायीहरूको ठुलो गुनासो हुने गर्दथ्यो कि बैंकको ब्याजदर महँगो भयो, एकल अङ्कमा कर्जाको ब्याजदर भएन । तर आज बैंकको ब्याजदर घटेर एकल अङ्कमा आइसक्यो तर पनि कर्जाको माग हुन सकेको छैन । यसका पछाडि विभिन्न कारणहरू छन् । खास गरी व्यवसायीहरूमा व्यवसायप्रति आत्मविश्वास बढ्न सकेको छैन । यसो हुनुको प्रमुख कारण राजनीतिक स्थायित्व नै हो । हाम्रो अर्थतन्त्र आयात र रेमिट्यान्समा आधारित छ ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा बलियो गरी उभिने हो भने हामीले कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार जस्ता क्षेत्रमा लगानीलाई विस्तार गर्नुपर्ने हुन्छ । यद्यपि यसबारे नेपाल राष्ट्र बैंकको प्राथमिकता प्राप्त क्षेत्रमा गरिने लगानीमा निर्देशन छ । तर यस्ता पुँजीगत क्षेत्रमा गरिएका लगानीबाट आम्दानी प्राप्त हुन केही समय लाग्ने हुनाले यसतर्फका नीतिहरू पनि व्यवसायीमैत्री एवम् देश निर्माण र सबल अर्थतन्त्रका लागि हुन् भन्ने सोचका साथ सहजपूर्ण वातावरण निर्माण गरिनु जरुरी छ । यसबाट मात्र व्यवसायीहरूको मनोबल बढ्न गई लगानी बढ्न सक्दछ ।
कर्जा विस्तारमा नीतिगत सुधार गर्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले लिएको चालुपुँजी कर्जा निर्देशिका छोटो अवधिमै कार्यान्वयनमा आउनुलाई पनि व्यवसायीहरूले कर्जाको माग कम हुने एउटा प्रमुख कारण बताउने गरेका छन् । कोभिड पछिको कर्जा विस्तारलाई व्यवस्थापन गर्न सकिएको छैन ।
बजारमा उपभोक्ताको कमी, ग्राहकको खरिद क्षमतामा कमी आदि कारण भनिए पनि कोभिड पछि कर्जा लगानीमा लिइएको लचक नीति लगत्तै कडा नीति कार्यान्वयनका कारण कर्जा विस्तार हुन सकेको छैन । साथै सहकारी क्षेत्रमा आएको समस्या, मिटरब्याजी तथा बैंकको कर्जा तिर्नु पर्दैन भन्ने केही तत्वबाट भ्रम छर्ने कार्य भइरहेको छ । सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी समयमा गरेन साथै पुँजीगत खर्च पनि पर्याप्त मात्रामा नभएकाले अर्थतन्त्रमा शिथिलता आई कर्जा लगानी विस्तार हुन सकेन ।
अर्को तर्फ पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दो क्रममा रहेको देखिन्छ । चालु आ.व.को प्रथम त्रैमासिक नतिजाले समेत धेरै जसो बैंकहरूको निष्क्रिय कर्जा बढेको र मुनाफा घटेको देखाएको छ । यस्तो किन भइरहेको छ ? के निष्क्रिय कर्जा व्यवस्थापन बैंकहरूका लागि चुनौतीपूर्ण बन्दै गएको हो ? यसको व्यवस्थापनका लागि बैंकहरूले के कस्ता कदम चाल्न आवश्यक ठान्नुहुन्छ ?
विगत केही वर्षको तुलनामा गत वर्षदेखि नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय कर्जाको स्तर केही बढी बैंकहरूको मुनाफामा नकारात्मक असर परेको यथार्थ हो । कोभिडपछि पनि बैंकको निष्क्रिय कर्जा चार प्रतिशतको हाराहारीमा पुगेको थियो । सरकारले गर्ने पुँजीगत खर्च घट्दै जानु, निर्माण व्यवसायीलाई समयमा रकम भुक्तानी हुन नसक्नु, होटल व्यवसाय, निर्माण कम्पनी तथा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु, साना व्यवसायीलाई तिनीहरूले लिएको कर्जा तिर्नु पर्दैन भन्ने भ्रामक हल्ला फैलाउने, कित्ताकाट पूर्णतया नखुल्दा घरजग्गा खरिद बिक्रीमा मन्दी आउनु जस्ता मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका कारण बैंकहरूलाई कर्जाको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुँदै आएको छ ।
अर्थतन्त्रलाई चलायमान बनाएर निष्क्रिय कर्जा व्यवस्थापनमा लाग्नु नै आजको आवश्यकता हो । राम्रो नियत हुँदा हुँदै पनि परियोजना पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा, अर्थतन्त्रको चक्रीय प्रभावका कारणले उधारो नउठ्दा, व्यक्तिगत सम्पत्ति बिक्री गरेर उद्यम व्यवसाय बचाउन खोज्दासमेत सफल नभइरहेको दृष्टान्त बजारमा प्रस्ट देखिएको छ । तसर्थ अर्थतन्त्र पूर्ण रूपले चलायमान बन्न नसक्दाको असर सिधै ऋण भुक्तानीमा देखिएको छ ।
खराब कर्जा बढ्नुको कारण उद्योग व्यवसायको आन्तरिक कारण मात्रै नभएर बाह्य कारण प्रधान रहेको देखिन्छ । तसर्थ सरकारलगायत अर्थतन्त्रका सबै पक्षहरूले अर्थतन्त्रलाई थप चलायमान बनाउन विभिन्न नीतिगत हस्तक्षेप एवम् प्रभावकारी प्रोत्साहनका लागि कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । त्यसै गरी दिगो आर्थिक वृद्धिका आधारहरू जस्तै – कृषि, उत्पादन पूर्वाधार, जग्गाको कित्ताकाट खोलेर रियलस्टेटमा थप लगानी प्रोत्साहन गर्न सकेमा खराब कर्जा व्यवस्थापनको दिगो समाधान निस्कने देखिन्छ । हामी ग्राहकसँग नियमित सम्पर्कमा रहने, कर्जाको पुनर्संरचना पुनर्तालिकीकरण गर्ने, ब्याज रकममा छुट दिने, सहुलियत दरमा कर्जा प्रदान गर्ने जस्ता नियमित कार्यहरू गर्दै निष्क्रिय कर्जा व्यवस्थापनमा कटिबद्ध भई लागिरहेका छौँ ।
विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा र राष्ट्रिय अर्थतन्त्रको प्रभाव नेपालको बैंकिङ क्षेत्रमा परेका कारण बैंकिङ क्षेत्रमा अनौठा सङ्केतहरू देखा पर्न थालेका हुन्? तपाईँको विचारमा यस्तो अवस्था कहिलेसम्म विद्यमान रहन्छ र अर्थतन्त्र पुनः लयमा फर्कने सम्भावना छ कि छैन ?
विश्व अर्थतन्त्रको प्रभाव नेपाली अर्थतन्त्रमा केही हदसम्म परेको देखिए पनि भारतसँगको स्थिर विनिमय दरका कारण यस्तो प्रभाव त्यति धेरै छैन । यद्यपि रसिया र युक्रेनबिचको युद्धले भ्यालुचेनमा भने असर पारेको देखिन्छ । भारत र चीनसँग हाम्रो ठुलो कारोबार भएकाले दुई देशको अर्थतन्त्रमा आएको प्रभावले भने हाम्रो अर्थतन्त्रलाई अवश्य प्रभाव पार्दछ । अहिले आन्तरिक कारणले गर्दा नै हाम्रो अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
यद्यपि कृषि, हाइड्रो, पर्यटन जस्ता प्रचुर सम्भावनाका क्षेत्रहरूमा लगानी गरी केही आशा गर्न सक्ने अवस्था रहेको हुँदा अर्थतन्त्र पुनः लयमा फर्किने सम्भावना छ । उत्पादनका साधनहरूलाई राम्रोसँग परिचालन गर्न सकियो भने यो शिथिलता लामो समय टिकिरहने म देख्दैन । दुई छिमेकी राष्ट्रलाई आकर्षित गरेर पर्यटन, उत्पादन, जलस्रोतसँग जोड्न सकिन्छ किनभने हामीसँग स्रोत र सम्भावना दुवै प्रशस्त छन् ।
बैंक सुधार कार्यक्रमपछि सरकारी स्वामित्वका बैंकहरूको वित्तीय अवस्थामा सुधार आएको त छ तर यस्ता बैंकहरूले पछिल्लो समय आफ्नो बजार हिस्सा भने गुमाइरहेका देखिन्छन् । के सरकारी बैंकहरूको उत्पादकत्व र प्रतिस्पर्धी क्षमतामा ह्रास आएको हो ?
वास्तवमा तत्कालको वित्तीय क्षेत्र सुधार कार्यक्रमले नेपाल राष्ट्र बैंक तथा तीनवटै सरकारी बैंकमा सुधार भएको ठिक हो । एउटा पाईलाई धेरै जनामा भाग लगाउँदा भाग कम परिहाल्छ; यो स्वाभाविक पनि हो । एउटा कुरा, धेरै बैंक भएपछि बजार हिस्सा त घट्ने नै भइहाल्यो । अर्को कुरा निजी बैंकहरू मर्जरमा गएपछि सरकारी बैंकहरूको बजार हिस्सा कम देखिन गयो । हाम्रो उत्पादकत्व कम भएको छैन, बरु बढ्दै गइरहेको छ । हो, प्रतिस्पर्धी क्षमता हामीले बढाउनु आवश्यक छ । प्रक्रियाको पालनाबाट समय बढी लाग्ने हुनाले हामीले समयमा निर्णय गर्न नसक्ने हुँदा हाम्रो प्रतिस्पर्धी क्षमतामा ह्रास आउने गरेको छ ।
विगत सात आठ वर्षमा ठुलो सङ्ख्यामा अनुभवी कर्मचारीहरू अवकाश हुनुभएको छ भने बैंकले नयाँ जनशक्ति पाएको छ । अहिले बैंकको कर्मचारीको औसत उमेर नै ३५ वर्ष रहेको छ । अब यो नयाँ जनशक्तिबाट हामीले उत्पादकत्व थप बढाउन सक्छौँ । कम्प्लायन्स तथा नेपाल राष्ट्र बैंकको नीति नियम पालना गर्नमा हामी सक्षम र सबल छौँ । बजारमा अरू प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न हामी प्रतिबद्ध छौँ ।
नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको वर्तमान स्थान र भूमिका के कस्तो पाउनुभएको छ ? नेपाल सरकारको अधिकांश स्वामित्व रहेको बैंकका रूपमा यस बैंकले राज्यका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा के कस्तो भूमिका निर्वाह गरिरहेहको छ ? प्रस्ट पारिदिनुहोस् ।
बजारमा भएका वाणिज्य बैंकहरूमध्ये हामी ५/६ नम्बरमा छौँ । इक्विटीमा हामी कन्स्ट्यान्ट छौँ । यो बैंकले सधैँ राज्यले लिएको नीति नियम कार्यान्वयनमा प्राथमिकताका साथ कार्य गर्ने गरेको छ । हामीले विगतदेखि नै दूरदराजमा बैंकिङ सेवा दिइरहेका छौँ । चाहे सहुलियतपूर्ण कर्जा होस् वा सामाजिक सुरक्षा भत्ता, पेन्सन, वृद्ध भत्ता; ग्रामीण भेगसम्म समयमै वितरण गर्ने गरेका छौँ ।
हाम्रा शाखामार्फत राज्यले लिने राजस्वलाई सङ्कलन गर्दछौँ । सरकारी बैंक भएका नाताले हामीले ७७ वटै जिल्लामा रहेका हाम्रा सम्पूर्ण शाखामार्फत सरकारी नीति नियमलाई तल्लो तहसम्म पुर्याइरहेका छौँ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकको मुनाफामा भने निकै कमी आएको देखियो । यसको कारण के होला ? बैंकका अन्य सूचकहरूको अवस्था कस्तो रह्यो ? तपाईं बैंकको यो नतिजाप्रति सन्तुष्ट हुनुहुन्छ ?
तुलनात्मक रूपमा यस आर्थिक वर्षको प्रथम त्रैमासमा सन्तोषजनक नतिजा हासिल नभएको यथार्थ हो । तर हामीले यसका प्रमुख कारणहरू पहिचान गरिसकेका छौँ र आगामी दिनमा सुधार गरेर अगाडि बढ्दै छौँ ।
बैंकले पहिलो पटक यस अवधिदेखि ECL Model गरी कर्जा नोक्सानी व्यवस्था र ब्याज आम्दानीको लेखाङ्कन गरेका कारण बैंकको आम्दानीमा प्रतिकूल असर परेको छ । नेपाल राष्ट्र बैंकले कर्जा वर्गीकरणमा दिएको सुविधा उपयोग नगर्दा करिब ५० करोड बराबरको आम्दानी लेखाङ्कन भएको थिएन । यसो गर्दा हामी उक्त अवधिमा करिब रु.९० करोडको मुनाफासहितको वित्तीय विवरण प्रकाशन गर्न सक्षम थियौँ । त्यसैले प्रकाशित वित्तीय विवरणमा देखिए जस्तो बैंकको लाभदायकतामा कमी आएको भने होइन । तर निष्क्रिय कर्जा स्तर केही बढेको भए पनि त्यसलाई व्यवस्थापन गरिएकाले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्दा उत्साहजनक नतिजा आउने छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी माघ १० मा बैंक स्थापनाको ६० औँ वार्षिकोत्सव मनाउँदै छ । यस बैंकलाई आजको प्रतिस्पर्धी बैंकिङ क्षेत्रमा अझ सशक्त, जिम्मेवार, प्रतिस्पर्धी र ग्राहकमैत्री बनाउन के कस्ता योजनाहरू रहेका छन् ?
यस बैंकले विगत लामो समयदेखि देशको आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । यो बैंक सरकारी बैंक भएकाले ग्राहक तथा आम नागरिकप्रति थप जिम्मेवार रहेको छ । बैंकले उत्पादन, रोजगारी, राजस्व वृद्धिलगायतका कार्यहरूमा अहम् भूमिका निर्वाह गर्दै आएको छ । नागरिकको आयआर्जन बढाउनका लागि बैंक प्रतिस्पर्धी रूपमा आइरहेको छ । बजारमा दह्रो रूपमा उत्रनका लागि बैंकले यस आ.व.भित्रमा ३३० शाखा सञ्जाल पुर्याउँदै छ ।
हामी डिजिटल बैंकिङ कारोबारलाई अझ सशक्त रूपमा अगाडि बढाइरहेका छौँ । उत्पादन, रोजगारी र आयलाई जोड दिएर जाने गरी कृषिसँग सम्बन्धित प्रोडक्टहरू ल्याएका छौँ । सूचना प्रविधिमा व्यापक सुधार, बलियो आन्तरिक नियन्त्रण प्रणाली, कम्प्लायन्स, जोखिमको अनुपालना गर्दै व्यवसायको विस्तार गर्ने योजना रहेको छ । पछिल्लो समय एकातिर Next Level प्रविधिका रूपमा Artificial Intelligence लाई बैंकिङ क्षेत्रमा प्रयोग गर्न थालिएको छ भने अर्कातिर बैंकहरूमा साइबर सुरक्षाको जोखिमसमेत बढ्दो छ । साइबर अपराधबाट बैंक र यसका ग्राहकहरूको सुरक्षाका मामिलामा यस बैंकले के कस्ता प्रबन्धहरू मिलाएको छ ?
बैंकिङ क्षेत्रले सूचना प्रविधिलाई व्यापक रूपमा प्रयोग गरिरहेको छ । हामीले पनि सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै IT Upgradation, Pumori Centralization जस्ता कार्यहरूलाई अगाडि बढायौँ । त्यसै गरी बैंकको जोखिम व्यवस्थापन तथा कम्प्लायन्सका क्षेत्रमा पनि उल्लेखनीय सुधारका कार्यहरू सम्पन्न गर्यौँ र कर्मचारीमा प्राविधिक सिप विकासका लागि व्यापक रूपमा तालिमहरू सञ्चालन गरी कर्मचारीहरूलाई हरेक रूपमा सक्षम बनायौँ । पछिल्लो समय बैंकको सूचना प्रविधि प्रणालीलाई साइबर आक्रमणबाट जोगाउन बैंक सक्षम रहेको छ । IT Enhancement Roadmap को कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन हामी खोज्दै छौँ ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंकले बैंकहरूलाई तोकेको सुरक्षासम्बन्धी व्यवस्थालाई बैंकले पालना गर्दै गइरहेको छ । Artificial Intelligence लाई बैंकको कर्जा लगानी, अपरेसन तथा सेवा प्रवाहमा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बैंकले अध्ययन, अनुसन्धान तथा छलफल गरिरहेको छ, जसले बैंकको डिजिटल कारोबारमा हुन सक्ने सम्भावित आक्रमणको रोकथाम हुने र ग्राहकको कारोबारमा हुन सक्ने सम्भावित जोखिम कम गर्न सहयोग पुग्दछ ।
विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रोजेक्ट फाइनान्सिङ, डिजिटल इनोभेटिभ प्रोडक्टहरूमा कार्य गर्न खोजेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ प्रोडक्टमा जानका लागि के गर्दैछ ?
बैंकले इक्विटी र डेब्टको सन्तुलन मिलाएर परियोजनाहरूमा लगानी गरिरहेकै छ । हाइड्रो, पर्यटन, होटल जस्ता क्षेत्रमा बैंकले प्रोजेक्ट फाइनान्सिङ गर्ने गरेको छ । डिजिटल कारोबारमा अग्रणी बैंकका रूपमा परिचित भएको छ । विशेष गरी अहिले किसानसँग राष्ट्रिय वाणिज्य बैंक अन्तर्गत किसानलाई क्रेडिट कार्ड दिएका छौँ । NDPC सँग मिलेर डिजिटल वालेटको कार्य गरिरहेका छौँ । RTGS, SWIFT जस्ता सेवाबाट पनि सेवा दिइरहेका छौँ ।
बैंकको सफलताका लागि विभिन्न सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ । यसमध्ये ट्रेड युनियन पनि एउटा महत्वपूर्ण पक्ष भएकाले बैंकभित्र क्रियाशील कर्मचारी ट्रेड युनियन र व्यवस्थापनबिच कस्तो सम्बन्धको अपेक्षा गर्नुभएको छ ?
बैंकलाई सफल बनाउन अवश्य पनि सबै सरोकारवालाहरूसँग सुसम्बन्ध, समन्वय, सहकार्य बनाइराख्न अत्यन्त जरुरी छ । व्यवस्थापन र क्रियाशील ट्रेड युनियनबिच सुमधुर सम्बन्ध भए मात्र संस्थाले सफलता हासिल गर्दछ भन्ने विषयमा दुई मत छैन ।
ट्रेड युनियनहरू बैंकको विकासका लागि सहयोगी नै हुन् । बैंकमा क्रियाशील ट्रेड युनियनहरूसँगको सुमधुर औद्योगिक सम्बन्ध निरन्तर रहेको छ । व्यवस्थापनले कर्मचारीका सेवा सुविधा तथा समस्याहरूका विषयमा ट्रेड यनियनसँगको अन्तरक्रिया र सहकार्यलाई उच्च महत्व दिनुपर्दछ भने ट्रेड युनियनले पनि व्यावसायिक रूपमा संस्थामा रहेका सबै कर्मचारीहरूको समान वृत्ति विकास, हकहित र संस्थाको समृद्धि तथा उन्नतिका खातिर सिर्जनात्मक सल्लाह सुझाव प्रदान गर्नुपर्दछ । दुवै पक्षले आ–आफ्नो जिम्मेवारी बोध गरी कर्तव्य निर्वाह गर्न सकेको खण्डमा संस्थामा सुमधुर औद्योगिक सम्बन्ध कायम हुने र यसले व्यवस्थापन तथा कर्मचारी वर्गलाई असल कार्यवातावरण सिर्जना गर्दछ । यसको फलस्वरूप बैंकमा ट्रेड युनियन र व्यवस्थापनबिच पहिलेदेखि अहिलेसम्म पनि सुमधुर र मित्रवत् सम्बन्ध रहेको देख्छु ।
अन्त्यमा, यस बैंकको ६० औँ वार्षिकोत्सवका अवसरमा बैंकका लगानीकर्ता, नियामक निकाय, ग्राहक, कर्मचारी, शुभेच्छुकलगायत सर्वसाधारणलाई के कस्तो सन्देश दिन चाहनुहुन्छ ?
अन्त्यमा, राष्ट्रिय वाणिज्य बैंक लि. ५९ वर्ष पूरा गरी ६० औँ वर्षमा प्रवेश गर्न लागेको यस सुखद् अवसरमा म बैंकका समस्त ग्राहक वर्ग, बैंकको अभिभावकका रूपमा रहेको नेपाल सरकार, बैंकका सेयर धनीहरू, नेपाल राष्ट्र बैंकलगायत अन्य नियामक निकाय, कर्मठ एवम् लगनशील कर्मचारी वर्ग, क्रियाशील ट्रेड युनियनलगायत अन्य सरोकारवाला सङ्घ संस्था, निकाय, व्यक्ति सबैमा हार्दिक आभार एवम् शुभकामना व्यक्त गर्न चाहन्छु ।
यहाँहरूको साथ, सहयोग, निर्देशन, सल्लाह, सुझाव एवम् शुभेच्छाका कारण आज यो बैंक नेपालको बैंकिङ प्रणालीमा अग्रणी बैंकका रूपमा स्थापित भएको छ र आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै साथ र सहयोग प्राप्त हुने छ भन्ने विश्वास लिएको छु । साथै, बदलिँदो समयसँगै यस बैंकका सेवा सुविधाहरूमा समयानुकूल परिमार्जन गर्दै देशको आर्थिक विकासको पथमा दरिलो सारथीको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु ।
(प्रस्तुत अन्तर्वार्ता राष्ट्रिय बाणिज्य बैंकको उपहार विशेषाङ्कबाट लिइएको हो ।)
प्रतिक्रिया