तीन वर्षदेखि लाभांश दिन नपाएको एनआइसी एशियाले कतिसम्म दिन सक्ला ? यस्तो छ वित्तीय अवस्था

  • BFIS News
  • 2023 Sep Wed 14:36
तीन वर्षदेखि लाभांश दिन नपाएको एनआइसी एशियाले कतिसम्म दिन सक्ला ? यस्तो छ वित्तीय अवस्था

काठमाडौं । विगत तीन वर्षदेखि लाभांश दिन नसकेको एनआईसी एशिया बैंकले यस वर्ष लाभाश दिने भएको छ । बैंकले लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक धाइरहेको छ ।

नेपाल राष्ट्र बैंकले अघिल्ला दुई आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न रोक लगाएको थियो । बैंकले आर्थिक वर्ष २०७७/७८ मा घोषणा गरेको १५.७८ प्रतिशत लाभांश अन्तत रद्द गर्नु पर्यो । गएको आर्थिक वर्ष २०७८/७९ को हकमा भने बैंकले राष्ट्र बैंकको प्रारम्भिक निर्देशन बमोजिम लाभांश नै घोषणा गरेन ।

यस वर्ष पनि बैंकले लाभांश वितरणको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति मागिरहेको छ । राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नभएको भन्दै लाभांश वितरणमा रोक लगायो । वास्तवमा बैंकले न्युनतम पूँजीकोष अनुपात कायम गर्न नसक्दा लाभांश वितरण गर्न सकेको थिएन ।

त्यतिवेला बैंकको प्राथमिक पूँजीबाट पुर्याउनपर्ने पूँजीकोष ‘CCAR’ ८.१ प्रतिशतमात्र थियो । नियम अनुसार यस्तो अनुपात कम्तिमा पनि ८.५ प्रतिशत हुनु पर्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिको बैंकिङ सूचकमा एनआइसी एशियाको प्राथमिक पूँजीबाट पुर्याउनु पर्ने पूँजीकोष अनुपात ८.८५ प्रतिशत थियो । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाशिक अवधिको सूचक अन्तर्गत यस्तो अनुपात ९.५१ प्रतिशत देखिन्छ । न्यस्तै पूँजी कोष अनुपात १३.३९ प्रतिशत रहेको छ ।  

यसले गर्दा बैंकले यस वर्ष लाभांश वितरण गर्ने निश्चित रहेको विश्लेषकहरु बताउछन् । राष्ट्र बैंकले यस वअधिमा बैंकको आक्रामक बजार विस्तारलाई रोक लगाएको छ । बैंकले यस अवधिमा कर्जा विस्तारमा खासै ठुलो ध्यान दिएन । कर्जा विस्तार हुने वित्तीकै प्राथमिक पूँजीकोष घट्ने भएकाले बैंकले बजार विस्तारलाई रोक्नु परेको हो ।

बैंकको पूँजीकोष अनुपात १२.५३ प्रतिशत रहेको छ । यदि बैंकले नगद लाभांश मात्रै दियो भने पूँजीकोष अनुपातमा असर पुर्याउने भएकाले बैंकले यस वर्ष बोनस शेयरलाई नै प्राथमिकता दिन सक्ने देखिन्छ । विगतका वर्षमा राष्ट्र बैंकको उद्देश्य बैंकलाई मर्जरका लागि दवाव पनि दिनु थियो । सकेसम्म मर्जरमा गएर यस्तो अनुपात मिलाओस भन्ने राष्ट्र बैंकको चाहना भए पनि बैंकहरुले मर्जरमा जान रुचाएन ।

एकातिर मर्जर गर्न नसक्ने अर्को तर्फ हकप्रदमा लगाइएको प्रतिवन्धको चपेटामा एनआइसी एशिया पर्यो । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक द्रुत गतिमा अगाडी बढेको एनआइसी एशियालाई यहि व्यवस्थाले अन्तत ब्रेक लगाइदियो । यहि कारणले बैंकले गत वर्ष व्यवसाय विस्तारमा खासै रुचि देखाएन । अघिल्लो तीन चार वर्षमा बैंकले कर्जा विस्तार र निक्षेप संकलनमा ठुलो छालाङ मार्यो यहि कारणले बैंकलाई प्राथमिक पूँजीको कम हुन गएको हो । यदि आफ्नो प्राथमिक पूँजीको अनुपात अनुसार व्यवसाय गरेको भएर गएका वर्षमै बैंकले लाभांश दिन पाउथ्यो ।

यस वर्षदेखि लागु भएको काउन्टर बफर साइकलको व्यवस्थाले पनि बैंकको प्राथमिक पूँजीकोष अनुपात र पूँजीकोष अनुपातमा असर पर्ने विश्लेषण गरिएको छ । तर यसको हिस्सा एकदमै न्युन हुने भएकाले बैंकलाई लाभांश नै वितरण गर्न असर नपुर्याउने राष्ट्र बैंकका प्रवन्धक डा. गुणाकर भट्टको विश्लेषण छ ।

तीन आर्थिक वर्षदेखि लाभांश दिन नपाएकाले बैंकको जगेडा कोष प्राथमिक पूँजी भन्दा धेरै छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ । जगेडा कोषमा १४ अर्ब ३८ करोड रहेको छ । गत आर्थिक वर्षको प्रतिशेयर आम्दानी ४०.२२ रुपैयाँ रहेको बैंकको वितरण योग्य मुनाफा भने तीन अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यस आधारमा पनि प्रतिशेयर आम्दानी ३१.९९ रुपैयाँ हुन जान्छ ।

मुनाफाबाट मात्रै लाभांश दियो भने पनि ३१ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । अर्को तर्फ कोषमा पनि प्रयाप्त रकम भएको हुँदा बैंकले यस वर्ष आकर्षक र बम्बर बोनस दिन सक्ने सम्भावना उच्च छ । बैंकले यदि यस वर्ष नगद लाभांश वितरण गर्यो भने बैंकको व्यवसाय विस्तार र आगामी आर्थिक वर्षको लाभांशमा ब्रेक लाग्ने भएकाले यस वर्ष नगद भन्दा बोनस शेयरमै बढि प्राथमिकता दिन सक्ने देखिन्छ । एनआइसी एशियाका प्रतिस्पर्धी बैंक मर्जर गरेर हरेक सूचकमा अब्बल बनिसकेको हुँदा नगद भन्दा पनि बोनस शेयरमै ध्यान दिन सक्ने देखिन्छ । यसले गर्दा राष्ट्र बैंकले अनुमति दिएसम्मको बोनस शेयर वितरण गर्ने तयारीमा एनआइसी एशिया रहेको छ । मात्रै राष्ट्र बैंकको ग्रिन सिग्नलको पर्खाइमा रहेको छ ।

दोस्रो बजारमा एनआइसी एशियाको शेयर मूल्य ७७८ रुपैयाँ रहेको छ । बैंकको शेयर मूल्य बाणिज्य बैंकहरु मध्येको सर्वाधिक धेरै हो । विगत एक वर्षको अवधिमा मात्रै बैंकको शेयर मूल्य अधिकतम ८६१ रुपैयाँ र न्युनतम ६०० रुपैयाँसम्म रह्यो । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा स्वीकृति दिने वित्तीकै बैंकले आकर्षक लाभांश दिन सक्ने भन्दै दोस्रो बजारमा बैंकको शेयर मूल्य सर्वाधिक माथि छ । यस वर्ष राष्ट्र बैंकले मर्जरको नीतिलाई छाडिसकेको हुँदा लाभांशमा वितरणमा रोक नलगाउने विश्लेषण गरिएको छ । यदि लाभाशमा रोक लगाउने हो भने बैंकलाई हकप्रद शेयर निष्काशन गर्न दिनु पर्ने भएकाले पनि यस वर्ष आकर्षक लाभांश घोषणा हुने सम्भावना उच्च छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया