Nepal Life

सबैभन्दा ठुला चार जीवन बीमा कम्पनी: आकारमा नेपाल लाइफ, शेयर बजारमा एलआइसी, हेर्नुहोस् तुलनात्मक विश्लेषण

National Life
  • अरुण सापकोटा
  • 2025 Feb Sat 21:26
सबैभन्दा ठुला चार जीवन बीमा कम्पनी: आकारमा नेपाल लाइफ, शेयर बजारमा एलआइसी, हेर्नुहोस् तुलनात्मक विश्लेषण
RBB

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा विस्तार भइरहेको छ । आर्थिक सचेतना, आयस्तरमा वृद्धि, र वित्तीय साक्षरतामा सुधारसँगै जीवन बीमा प्रतिको चासो बढ्दै गएको छ । हाल १४ वटा जीवन बीमा कम्पनी र तीन वटा लघु जीवन बीमा कम्पनीले जीवन बीमा व्यवसाय गरिरहेका छन् ।

NIMB

यस मध्ये सबैभन्दा ठुला चार जीवन बीमा कम्पनीहरुलाई यहाँ विश्लेषण गर्न खोजिएको छ । चुक्ता पूँजी, जीवन बीमा कोष, बीमा शुल्क आर्जनका हिसावले सबैभन्दा ठुला चार जीवन बीमा कम्पनीहरु छनोट गर्दा सबैभन्दा अगाडी नेपाल लाइफ, नेशनल लाइफ, एलआइसी, र हिमालयन लाइफ रहेका छन् । यो विश्लेषण जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा तयार पारिरहेको छ ।

नेपाल लाइफ धेरै वर्ष अगाडीदेखि अधिकाम्स सूचकमा अगाडी देखिदै आएको छ भने नेशनल लाइफ निजी स्तरको पहिलो जीवन बीमा कम्पनी हो । बीमा ऐनमा एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था गरेपछि मात्रै जीवन बीमामा बढि केन्द्रित भएकाले नेशनल लाइफको जीवन बीमा कोष अन्य केहि कम देखिन पुगेको हो । यद्यपी नेशनलले पछिल्ला दिनमा आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ ।

साविक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएर बनेको हिमालयन लाइफ ठुलो कम्पनीलाई टक्कर दिने स्तरमा पुगेको हो । साविक युनियन लाइफ स्थापनाकालदेखि नै जीवन बीमा व्यवसायमा आक्रामक देखिएको थियो । मर्जर पछि केहि समय सुस्त देखिए पनि पछिल्ला वर्षमा हिमालयन लाइफ निकै आक्रामक र रणनितिक रुपमा अगाडी बढिरहेको छ । यस मध्ये नेपाल लाइफ सबै सूचकमा अगाडी छ भने तीन वटा कम्पनीहरु विच विभिन्न सूचकहरुमा आ-आफ्नै किसिमको प्रतिस्पर्धा देख्न सकिन्छ ।

चुक्ता पूँजी

चुक्ता पूँजी तर्फ अहिलेसम्म नेपाल लाइफ अगाडी छ । हिमालयन लाइफले घोषणा गरेको लाभांश वितरण गर्ने वित्तीकै पूँजीमा हिमालयन लाइफ अगाडी देखिनेछ । नेपाल लाइफको चुक्ता पूँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड रहेको छ । हिमालयन लाइफको ८ अर्ब २ करोड छ । त्यस्तै नेशनल लाइफको ५ अर्ब २१ करोड रहेको छ भने एलआइसी नेपालको ५ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम पूँजी चार वटैले पुरा गरिसकेका छन् ।  

जीवन बीमा कोष

जीवन बीमा कम्पनीहरुको सबैभन्दा महत्वपुर्ण अर्को सूचक हो जीवन बीमा कोष । यो बीमितहरुको कोष हो । जति ठुलो कोष हुन्छ कम्पनीले त्यति धेरै लगानीका दायरा बढाउन पाउछ । यस हिसावले नेपाल लाइफ जीवन बीमा कोषमा सबैभन्दा अगाडी छ । नेपाल लाइफको जीवन बीमा कोषमा २ खर्ब १८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको एक खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । तेस्रो नम्बरमा रहेको नेशनल लाइफको ८४ अर्ब १० करोड छ । चौथो नम्बरमा रहेको हिमालयन लाइफको ७० अर्ब ७० करोड छ ।

बीमा शुल्क आर्जन

बीमा शुल्क आर्जनका हिसावले पनि नेपाल लाइफ अगाडी छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल लाइफले २२ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस पछि एलआइसीको ९ अर्ब ४० करोड रहेको छ भने चौथो नम्बरमा हिमलायन लाइफको ८ अर्ब ६ करोड रहेको छ । मुनाफा

मुनाफामा नेपाल लाइफ अगाडी छ । कम्पनीले ६ महिनामा ४६ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । मुनाफा तर्फ दोस्रोमा हिमालयन लाइफले ३७ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको नेशनल लाइफले २७ करोड ९१ लाख र चौथो नम्बरमा रहेको एलआइसीले १४ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यद्यपी यो मुनाफा वास्तविक होइन । एक्चुरियल मूल्याङ्कन पछि मात्रै जीवन बीमा कम्पनीहरुको मुनाफा वास्तविक हुन्छ ।

प्रतिशेयर आम्दानी

नेपाल लाइफको प्रतिशेयर आम्दानी ११.४१ रुपैयाँ छ । एलआइसीको १०.६९ रुपैयाँ, नेशनल लाइफको १०.७५ रुपैयाँ र हिमालयनको ९.३८ रुपैयाँ छ । कम्पनीहरुले घोषणा गरेको लाभांश प्रस्तुत प्रतिशेयर आम्दानी भन्दा धेरै माथि छ ।

शेयर बजार विश्लेषण

दोस्रो बजारमा चार वटै कम्पनीको शेयर खरिद बिक्री हुन्छ । यस मध्ये सबैभन्दा महंगो शेयर मूल्य एलआइसी नेपालको १११५ रुपैयाँ छ । नेपाल लाइफको ७१२ रुपैयाँ, नेशनलको ५९३ रुपैयाँ र हिमालयनको ४१४ रुपैयाँ छ ।

नेपाल लाइफ  

दोस्रो बजारमा नेपाल लाइफको शेयर मूल्य अण्डर भ्यालु देख्न सकिन्छ । कम्पनीले यस वर्ष पनि ११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर सहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । कम्पनीले आगामी वर्षमा पनि यो भन्दा राम्रो लाभांश दिने क्षमता राखिसकेको छ । कम्पनीले लाभांश घोषणा गरेपछि दोस्रो बजारमा खासै धेरै बढ्न सकेन । नेप्से सूचक ३ हजार पुग्दा कम्पनीको शेयर मूल्य १०६० रुपैयाँसम्म पुग्यो । अझै पनि शेयर मूल्य तल्लो रेन्जमै रहेकाले कम्पनीले राम्रै मूल्य काम गर्ने सम्भावना देखिन्छ ।

नेशनल लाइफ

नेशनल लाइफले दोस्रो बजारमा आफ्नो भ्यालु कायम गर्न सकेको छैन । नेप्से सूचक ३ हजार हुँदा पनि ७७६ रुपैयाँ भन्दा माथि जान सकेन । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । यसले गर्दा कम्पनीको शेयर किन्नेले राम्रो लाभांश बुक गर्ने सम्भावना छ । चुक्ता पूँजी ५ अर्ब २२ करोड मात्रै रहेकाले पनि नेशनल लाइफले प्रतिस्पर्धी कम्पनीकै हाराहारीमा पुग्न पनि बोनस शेयर जारी गर्नु पर्ने दवाव छ । यसले गर्दा कम्पनीले बोनस शेयर दिने सम्भावना उच्च छ । कम्पनीको जगेडा कोषमा खासै धेरै रकम नदेखिएका पनि लगानीकर्ताहरु आकर्षित हुन नसकेको देखिन्छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा एक्चुरियल मूल्याङ्कन पछि पनि ९८ करोड ३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसै नाफाबाट १४ प्रतिशत लाभांश दिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा मुनाफा १० प्रतिशत मात्रै पनि बढ्यो भने एक अर्ब नाघ्नेछ । यस हिसावले यस वर्ष पनि कम्पनीले १५ प्रतिशत हाराहारी नै लाभांश दिने अनुमान गर्न सकिन्छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन

एलआइसी नेपालले हकप्रद शेयर निष्काशन गरेर चुक्ता पूँजी ५ अर्ब जुटाएको छ । कम्पनीले २०७६/७७ देखि लाभांश दिएको छैन । यसले गर्दा यस वर्ष एलआइसी नेपालले बम्बर लाभांश दिने लगानीकर्ताको विश्लेषण छ । कम्पनीको जगेडा कोषमा अहिले नै २ अर्ब ६३ करोड रहेको छ । गत वर्षको वास्तविक मुनाफालाई पनि लाभांशको रुपमा वितरण गर्दा एलआइसीको लाभांश राम्रै आउने छ । यसले गर्दा पनि कम्पनीको शेयर मूल्य १११५ रुपैयाँ छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य २४७५ रुपैयाँसम्म पुग्यो ।

हिमालयन लाइफ

कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । भर्खरै बुक क्लोज भएकाले कम्पनीको शेयर मूल्य ४१४ रुपैयाँमा झरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा तथा जगेडा कोषबाट उक्त लाभांश वितरण गर्न लागेको हो । अझै पनि २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्न बाँकी छ । पूँजी तर्फ आफुलाई सबैभन्दा ठुलो कम्पनी बनाउने उद्देश्यका साथ अगाडी बढेको हिमालयन लाइफले सोहि आधारमा व्यवसाय विस्तार गर्नु पर्नेछ । यसका लागि कम्पनीले रणनीति बनाइसकेको छ । कम्पनीको शेयर मूल्य निकै तल रहेकाले आगामी बुलमा राम्रो क्यापिटल गेन गर्नका लागि हिमालयन लाइफ पनि एउटा राम्रो स्क्रिप्ट हुन सक्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया