बेनी हाइड्रोपावरको आईपीओमा स्थानीयको आवेदन आज अन्तिम दिन
- BFIS News
- 2026 Mar 29 10:45
काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको हो।
कुल निष्काशनमध्ये ५ लाख २० हजार कित्ता शेयर अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ। त्यस्तै, ३ लाख १२ हजार कित्ता शेयर वडा नं. ५, ६, ७ र ११ का बासिन्दाहरुलाई र बाँकी २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दाहरुमा वितरण गरिनेछ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ। प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २४ वर्ष बाँकी रहेको छ। यस परियोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरुले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै, एनएमबि बैंक सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक सल्लेरी शाखा, ग्लोबल आइएमई बैंक सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंक नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिनेछ।
आईपीओ आवेदनका लागि शेयर खरिद दरखास्त फाराम प्राप्त गर्न स्थानीय बासिन्दाहरुले २ रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया