सिटिजन लाइफ इन्स्योरेन्सको साढे २८ प्रतिशत लाभांश घोषणा, २६.९८ प्रतिशत बोनस शेयर पछी चुक्ता पूँजी ५ अर्ब
- BFIS News
- 2025 Feb Fri 15:33

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीका लागि बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको यहि फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनी २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण तथा यस कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसअघि सिटिजन लाइफले अन्तरिम लाभांश घोषणा गरेर बीमा प्राधिकरणको न्युनतम चुक्ता पूँजी पुर्याउन खोजेको थियो । तर बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिए पछि कम्पनी पछाडी फर्कनु परेको थियो । कम्पनीले उक्त लाभांश आइपिओ जारी गर्दा आर्जन भएको प्रिमियम रकमबाट वितरण गर्न खोजेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर एक अर्ब ६ करोड वितरण गरे सँगै चुक्ता पूँजी ५ अर्ब पुग्नेछ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ७५९ रुपैयाँ रहेको छ । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ७६४ रुपैयाँसम्म पुग्यो । कम्पनीले लाभांश घोषणा गरेर रद्द भए पछि ४१८ रुपैयाँसम्म तल झर्यो । यस अवधिमा कम्पनीको शेयर खरिद गर्नेहरु मालामाल भएका छन् ।
प्रतिक्रिया