Nepal Life

नेपाल लाइफको बीमालेख पुनर्जागरण अभियान, तीन महिनासम्ममा सम्पुर्ण व्यतित बीमालेख शुन्यमा झार्ने लक्ष्य

National Life
  • BFIS News
  • 2025 Mar Wed 14:47
नेपाल लाइफको बीमालेख पुनर्जागरण अभियान, तीन महिनासम्ममा सम्पुर्ण व्यतित बीमालेख शुन्यमा झार्ने लक्ष्य
RBB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ औं वार्षिकोत्सवको विशेष अवसरमा बीमा लेख व्यतित भएर नविकरण गर्न नसकिरहेका बीमितहरुका लागि बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले सामान्य अवस्थामा व्यतित बीमालेख नविकरण गर्दा नियमअनुसार लाग्ने हर्जना र व्याजमा खासै छुट दिने गरेको छैन ।

NIMB

तर यस पटक वार्षिकोत्सवको अवसर पारेर कम्पनीमा एक पटक जोडिइसकेका बीमितलाई आफ्नो पोलिसीलाई निरन्तरता दिन  सकुन भनेर यो छुटको अभियान सुरुवात गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविरण रमण पराजुलीले बताए ।

कम्पनीले यो अफर आगामी जेठ १३ गतेसम्म मात्रै प्रदान गर्नेछ । त्यस पछिका दिनमा व्यतित बीमालेख नविकरण गर्दा नियम अनुसार हर्जना र व्याज भुक्तानी गर्नु पर्छ । जवकी यस अवधिमा नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुनेछ ।

नेपाल लाइफको व्यतित बीमालेखको अनुपात ५ प्रतिशत भन्दा कम छ । यद्यपी बीमालेखको निरन्तता र सरेण्डरका कतिपय विषयहरु पेचिलो बनिरहदा कम्पनीले वार्षिकोत्सवको पुर्व सन्ध्यामा व्यतित बीमालेख नविकरणमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था ल्याएको प्रमुख कार्यकारी अधिकृत पराजुलीले प्रष्ट पारे ।

उनले भने 'यदि कसैको बीमालेखको नविकरण छुटिरहेको छ भने उहाँहरुलाई पुर्जागरण गर्नका लागि हामीले यति धेरै प्रतिशतको छुट पहिलो पटक दिन लागेका हौ ।' उनले थपे, हामीले यति वर्षदेखि यति वर्षसम्मको हकमा यति प्रतिशत नभनीकन सबैलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेका हौ । यसो गरिरहदा कम्पनीले केहि हदसम्ममा गुमाउदा गुमाउदै पनि ग्राहकहरुलाई केन्द्रमा राख्दै यस्तो नीति लिएका हौ ।

कम्पनीले यो अवसर तीन महिनाका लागि खुला गरेको छ । यस अवधिमा कम्पनीले सकेसम्म सतप्रतिशत बीमालेख नविकरण गराउने नीति लिएको छ । यस अवधिमा कम्पनीले राम्रै संख्यामा बीमालेखलाई पुनर्जागरण गराइसकेको छ ।

यस अभियानलाई सफल बनाउन कम्पनीले ग्राहक सेवा केन्द्रमा १०/१२ जनालाई खटाएर सेवा प्रवाह गरिरहेको छ । कर्मचारी तथा अभिकर्तालाई धेरै भन्दा सक्रिय बनाएर यस अभियानमा खटाउने काम पनि भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले बीमालेख व्यतित भएका बीमितलाई इमेल, म्यासेज, तथा फोन कल गरेरै जानकारी गराउने काम गरिरहेको छ । यस अवधिमा कुनै पनि बीमितले छुटको अवसरबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका लागि कम्पनीले काम गरिरहेको छ ।

सामान्य अवस्थामा ठुला बीमा कम्पनीहरुले व्यतित बीमालेखको पुनर्जागरणमा यति धेरै ठुलो छुट दिने प्रचलन छैन । तर कम्पनीले वार्षिकोत्सवको अवसरमा बीमितलाई केन्द्रमा राख्दै यो तहको छुट प्रदान गर्न लागेको हो । यसले बीमा कम्पनीलाई भन्दा पनि सम्बन्धित बीमितलाई नै सबैभन्दा धेरै फाइदा पुग्दछ ।

बीमा लेख नविकरण अभियानले बीमितलाई सबैभन्दा धेरै फाइदा

जीवन बीमा गरिसके पछि हरेक वर्ष बीमा शुल्क भुक्तानी गर्नु बीमितको पहिलो कर्तव्य हो । वास्तवमा बीमालेख बीमितका लागि अमूल्य सम्पत्ति हो, जसलाई बीमितले प्रत्येक क्षण संरक्षण दिनुपर्छ । समयमा बीमा शुल्क भुक्तानी गर्न नसकेमा बीमा पोलिसी (निष्क्रिय) ल्याप्सेस हुन्छ ।

बीमाशुल्क कुन मितिमा तिर्नुपर्ने हो, बीमित यसका लागि सधैं तत्पर हुनुपर्छ । कुन बीमा कम्पनीमा बीमा भएको हो, बीमा कार्यालय कुन ठाउँमा छ, लगायत सबै कुराको जानकारी बीमितले पनि राख्नैपर्छ । सधैं अभिकर्ताको भरमा बस्नुहुँदैन । अभिकर्ताहरू पनि आफ्नो बीमितको सेवामा सधैं तत्पर हुनुपर्छ र समयमै बीमाशुल्क भुक्तानी गर्न लगाउनुपर्छ । यसो भएमा बीमालेख व्यतित हुनबाट जोगिन्छ ।

बीमितले बीमाशुल्क तिर्नुपर्ने अन्तिम भुक्तानी मितिमा पनि नतिरे त्यसपछिका लागि निश्चित अवधि (ग्रेस पिरियड) सम्ममा तिर्न सक्ने व्यवस्था छ । सो अवधिसम्म पनि नवीकरण बीमाशुल्क नतिरेमा बीमालेख व्यतित हुन्छ । बीमालेख व्यतित भएमा बीमित यसका लाभबाट वञ्चित हुन सक्छन् । बीमालेख व्यतित भयो भने बीमित, बीमक तथा अभिकर्ता सबैलाई बेफाइदा हुन्छ । बीमितले जुन उद्देश्य लिएर बीमा गरेको हुन्छ, बीमालेख व्यतित भएमा उसको उद्देश्य नै विफल हुन्छ । अभिकर्ताले अथक प्रयास गरेर बीमा गरेका हुन्छन् त्यसैले उनिहरुको पनि भविष्यमा हुने आयआर्जन समाप्त हुन्छ ।

बीमा गर्दा बीमा प्रस्तावकलाई धेरै वटा प्रक्रिया पूरा गराएर मात्रै बीमा भएको हुन्छ । सामान्य अवस्थामा साधारण दरमा बीमा भएको हुन्छ । स्वास्थ्य परीक्षण भएको खण्डमा बीमा कम्पनीले सबै स्वास्थ्य परीक्षण शुल्क तिरेको हुन्छ । आर्थिक समस्या, भुलवश वा समयको अभाव, जुन कारणले बीमालेख व्यतित भए पनि पुनः बीमालेखलाई बीमकले पूर्णरूपमा सक्रिय तुल्याउन सक्छ । यस्तो सुविधालाई बीमालेखको पुनर्जागरण भनिन्छ ।

बीमालेख पुनर्जागरण गर्नुभन्दा राम्रो बीमालेखलाई व्यतित हुन नदिनु हो । बीमालेख व्यतित हुन गएमा बीमालेख पुनर्जागरण गर्दाको समयमा बीमितको उमेर तथा जोखिम बीमाङ्क (मूल बीमाङ्क–चुक्ता बीमाङ्क)का आधारमा सबै प्रक्रिया (नयाँ बीमाजस्तै) अपनाई बीमालेख पुनर्जागरण गरिन्छ । बीमालेख पुनर्जागरण गर्दाको समयमा बीमितको उमेरका आधारमा स्वास्थ्य परीक्षणसम्बन्धी विवरण बीमा कम्पनीहरुले आवश्यक परेमा माग्न सक्छन् ।

स्वास्थ्यमा कुनै प्रकारको त्रुटि भएमा अतिरिक्त शुल्क लगाएर बीमकले पुनर्जागरण गर्न सक्छ । बीमालेख व्यतित भएको समयमा दुर्घटनाको कारण अङ्गभङ्ग भएमा पुनर्जागरण गर्दा अतिरिक्त शुल्कका आधारमा बीमालेख पुनर्जागरण हुने अवस्था आउन सक्छ । त्यस्तै, बीमालेख व्यतित भएको समयमा कुनै रोगबाट बीमित ग्रसित भएमा बीमालेख पुनर्जागरण नहुने अवस्था सिर्जना हुन सक्छ ।

पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको ठूलो बीमाङ्कको बीमालेख व्यतित भएमा पुनर्जागरण गर्दा सम्पूर्ण स्वास्थ्यसम्बन्धी विवरण पुनः पुनर्बीमा कम्पनीमा पनि पठाउनुपर्ने हुन्छ र सो क्रममा जोखिम वृद्धि भएमा पुनर्बीमा कम्पनीले थप स्वास्थ्यसम्बन्धी विवरण वा थप शुल्क लगाएर मात्र बीमा स्वीकृत गर्न सक्छ ।

यस क्रममा अत्यधिक जोखिम वृद्धि भएमा बीमालेख पुनर्जागरण नहुन पनि सक्छ । बीमा गरेको २ वर्ष वा कुनैकुनै बीमा योजनाअनुसार ३ वर्ष नपुग्दै बीमालेख व्यतित भएमा तथा सो बीमालेख कुनै कारणवश पुनर्जागरण नभएमा बीमा कम्पनीबाट बीमितले कुनै पनि रकम प्राप्त नगर्न सक्छ ।

बीमालेख पुनर्जागरण गर्दा कम्पनीले उपलब्ध गराएको ढाँचामा स्वस्थ छु भन्ने प्रमाण पेश गर्नुपर्ने हुन्छ । आवश्यक परेमा स्वास्थ्य परीक्षण प्रतिवेदन पनि कम्पनीले माग्न सक्छ । स्वास्थ्य परीक्षणको सीमा बीमा कम्पनीअनुसार फरक–फरक रहेको हुन्छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ मा बीमालेख अवधिभर एक पटक मात्रै व्यतित बीमालेखलाई पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट दिन मिल्ने व्यवस्था छ ।

दफा ११ को उपदफा एकमा बीमितले बीमालेख निरन्तरताको लागि योग्य छु भनी प्रमाण पेश गरेमा तथा निर्त बाँकी सबै बीमालेख शुल्क रकम विलम्ब शुल्क सहित भुक्तानी गरेमा आवश्यक मेडिकल अन्डरराइटिङ गरी बीमा अवधि भित्र जुन सुकै समयमा बीमकले व्यक्ति भएको बीमालेख पुनर्जागरण गरिदिन पर्नेछ भनिएको छ । यो अभ्यास बीमाको मुल सिद्धान्त भन्दा विपरित कार्य हो । यद्यपी बीमा कम्पनीहरुले ठुलो रकम खर्चिएर भित्र्याएको पोलिसीलाई निरन्तरता दिन र व्यतित बीमालेखको दर घटाउन पनि यस्तो अभ्यास गर्ने गरेका छन् ।

बीमा कम्पनीहरुले सञ्चालक समितिको स्वीकृति लिएर मात्रै बिलम्ब शुल्क छुट योजना सञ्चालन गर्नु पर्ने व्यवस्था छ । यसरी सञ्चालक समितिबाट निर्णय भएको जानकारी नेपाल बीमा प्राधिकरणलाई लिखित रुपमा दिनु पर्छ ।

व्यतित भएका बीमालेखहरु पुनर्जागरण गर्दा बीमा अवधिभर एक पटक मात्र बीमितले तिर्नुपर्ने विलम्ब शुल्कमा आंशिक वा पूर्ण छुट प्रदान गर्न सकिने व्यवस्था छ । यो सुविधा पनि जुनसुकै समयमा दिइदैन । कम्पनीहरुले आवश्यकता महशुस गर्दै समय समयमा पुनर्जागरण अभियान सुरु गर्ने गरेका छन् । यस्तो समयमा आफुले तिर्नु पर्ने बिलम्ब शुल्क र व्याज छुट लिइ पोलिसीलाई पुनर्जागरण गर्न सकिन्छ । यो बीमितका लागि स्वर्णिम अवसर पनि हो ।  जीवन बीमाको नविकरण नगर्दा विभिन्न बेफाइदा हुन सक्छन्, जसले आर्थिक सुरक्षा, स्वास्थ्य सुरक्षा, र भविष्यको योजना सबैलाई प्रभावित पार्न सक्छ ।

बीमा सुरक्षा गुम्ने

यदि बीमितले बीमालेख नविकरण गर्न नसकेमा बीमा योजना नै स्वतः समाप्त हुन्छ । यसले गर्दा बीमाबाट पाउने सबै सुरक्षाबाट बञ्चित हुनु पर्छ । जस्तै दुर्घटना, अस्वस्थता, वा मृत्युदेखि परिवारलाई आर्थिक सुरक्षाको ग्यारेन्टी रहँदैन ।

नयाँ बीमा गर्दा महँगो शुल्क लाग्ने

नविकरण नगरी पछि पुनः बीमा गर्दा उमेर बढ्ने र स्वास्थ्य स्थितिमा परिवर्तन आउने भएकाले प्रिमियम (बीमा शुल्क) महँगो हुन सक्छ । नयाँ बीमा गर्दा मेडिकल टेस्ट अनिवार्य हुन सक्छ, जसले गर्दा स्वास्थ्य समस्याहरू देखिएमा बीमा पाउनै गाह्रो हुन सक्छ।

बोनस र लाभांश गुम्ने

बीमाले दिने बोनस, नाफा वितरण, वा अन्य विशेष सुविधा (जस्तै: लाभांश फिर्ता) गुम्न सक्छ। दीर्घकालीन बीमामा लगानी सम्बन्धी लाभ कम हुन सक्छ।

सुरक्षित बचत योजना बन्द हुने

जीवन बीमा केवल जोखिम न्यूनीकरण मात्र नभई, सुरक्षित बचत योजना पनि हो । बीमा समाप्त भएपछि बीमितको लामो समयदेखि गरिरहेको बचत योजना पनि रोकिन सक्छ ।

बैंक ऋण लिन कठिन हुने

कतिपय बैंकहरूले बीमा भएको अवस्थामा ऋण दिन सजिलो मान्छन् । नविकरण नगरेपछि बैंकमा बीमा सम्बन्धित कुनै फाइदा लिन सकिँदैन ।

मेडिकल सुविधा वा सर्पोट गुम्ने

कतिपय जीवन बीमाले स्वास्थ्य उपचारका लागि अतिरिक्त सुविधा वा छुट दिने गर्छन् । बीमा नविकरण नगर्दा यस्ता सुविधा गुम्न सक्छन् ।

नविकरण गर्न छुटेमा के गर्ने?

बीमा कम्पनीसँग सम्पर्क गरी ग्रेस पिरियड (नविकरणको लागि अतिरिक्त समय) बारे जानकारी लिनुपर्छ । यदि ग्रेस पिरियड सकिएको छ भने, पुनः नयाँ बीमा योजना लिनुपर्छ, जसमा नयाँ शर्तहरू लाग्न सक्छन् । त्यसैले आफु सँग भएको जीवन बीमा पोलिसीलाई समयमै नविकरण गर्नु पर्छ । यो परिवारको आर्थिक सुरक्षासँगै भविष्यको योजनाका लागि महत्वपूर्ण छ ।

ल्याप्स रेसियो (Lapse Ratio) घटाउन बीमा कम्पनीहरूले विभिन्न रणनीति अपनाउनुपर्छ । यदि यो अनुपात धेरै छ भने, कम्पनीको व्यवसायिक स्वास्थ्य र ग्राहक सन्तुष्टिमा असर पर्न सक्छ । ल्याप्स रेसियो घटाउन कम्पनीले खेल्नु पर्ने भुमिकाः

ग्राहक सचेतना अभिवृद्धि गर्ने

बीमाले दिने फाइदा, जोखिम न्यूनीकरण, र बचत योजनाबारे ग्राहकलाई राम्रोसँग बुझाउनु पर्छ । बीमा योजना नवीकरण नगर्दा हुने बेफाइदाबारे ग्राहकलाई जानकारी दिनु पर्छ । बीमा सम्बन्धी सचेतना कार्यक्रम (workshops, seminars, webinars) सञ्चालन गर्ने हो भने बीमितहरु सचेत रहन्छन् ।

समयमै रिमाइन्डर र फलो-अप गर्ने

बीमा पोलिसीलाई निरन्तरता दिनका लागि कम्नपीहरुले बीमितहरुलाई समयमै SMS, फोन कल, इमेल, वा पत्रमार्फत नविकरणको मिति नजिकिँदै छ है भनेर सूचना दिनु पर्छ । डिजिटल एप वा वेबसाइटमार्फत स्वचालित रिमाइन्डर सेट गर्न सकिन्छ । ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर नविकरणमा उत्प्रेरित गर्नु पर्छ ।

प्रिमियम भुक्तानीलाई सरल र सुविधाजनक बनाउने

ऑटो-डेबिट सिस्टम बनाउने हो प्रिमियम भुक्तानीमा धेरै सरल हुन्छ । बैंक खाताबाट स्वचालित रूपमा प्रिमियम कटौती गर्ने सुविधा मिलाउने हो भने धेरै हदसम्म बीमालेख नविकरणमा साथ मिल्न सक्छ । मोबाइल बैंकिङ, ई-सेवा, खल्ती, कनेक्ट आईपीएस, QR कोड जस्ता डिजिटल माध्यम उपलब्ध गराउने।

ग्रेस पिरियडको प्रभावकारी उपयोग गर्ने

ल्याप्स हुन नदिन, बीमा कम्पनीले ग्रेस पिरियड (15-30 दिन) को फाइदा दिनुपर्छ। ग्राहकलाई ग्रेस पिरियडबारे अवगत गराई, नविकरण गर्न प्रेरित गर्न सकिन्छ । यदि ग्रेस पिरियडमा पनि नविकरण नभए, थप सुविधाहरू दिन सकिने बारे अध्ययन गर्नु पर्छ ।

नियमित अभिकर्ता तालिम सञ्चालन गर्ने

बीमा अभिकर्ताहरुलाई ग्राहकलाई राम्ररी बुझाउने, सम्बन्ध व्यवस्थापन गर्ने, र नविकरण दर बढाउने सीप दिनु आवश्यक छ। इन्सेन्टिभ (Incentive) योजना मार्फत अभिकर्तालाई नविकरण गराउन सक्ने क्षमताका आधारमा बोनस वा कमिशन बढाउन सकिन्छ । अभिकर्तालाई नियमित रुपमा बीमितलाई सम्पर्क गर्ने भेटघाट गर्ने नीति अवलम्बन गराउन प्रेरित गर्न सकिन्छ ।

ल्याप्स रेसियो घटाउन बीमा कम्पनीले ग्राहक सचेतना, प्रभावकारी फलो-अप, भुक्तानी सजिलो बनाउने, अभिकर्ताहरुलाई सक्रिय बनाउने, र नयाँ योजनाहरू ल्याउने रणनीति अपनाउनुपर्छ। डिजिटल प्रविधिको प्रयोगले पनि ल्याप्स न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया