Nepal Life

पानी बचाउनु नै जीवन बचाउनु हो: सुन्दर प्रसाद कडेलको बिचार

National Life
  • सुन्दर प्रसाद कडेल
  • 2025 Mar Sat 21:34
पानी बचाउनु नै जीवन बचाउनु हो: सुन्दर प्रसाद कडेलको बिचार
RBB

काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई "विश्व पानी दिवस" का रूपमा मनाउँदै आएको छ। यस अवसरमा पानीको महत्व र संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिन्छ। यसै सन्दर्भमा सिद्धार्थ बैंकले पहिलो पटक "Walk for Water, Walk for Life" भन्ने नारासहित यो अभियान सुरु गरेको छ। यो महाअभियानमा उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै हामी पानीको संरक्षण, संवर्द्धन तथा यसको स्रोतहरूको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ भन्ने सन्देश प्रवाहित गर्न चाहन्छौं।

NIMB

पानी नै जीवन हो, पानी नै शक्ति हो, पानी नै उर्जा हो, र पानी नै सबैथोक हो। पानीको स्रोतहरूको समुचित व्यवस्थापन, संरक्षण र संवर्द्धन आजको आवश्यकता हो। यसको महत्वलाई मध्यनजर गर्दै हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। हाम्रो उद्देश्य भनेको यस वाकाथनमार्फत पानीको महत्वलाई उजागर गर्दै स्रोतहरूको संरक्षणलाई प्रवर्द्धन गर्नु हो।

हामी सबैलाई थाहा छ, उपत्यकावासीसँग बागमतीका कथा छन्। ती कथाहरू सुन्न र जानकारी लिन हामीले विभिन्न अध्ययन तथा अनुसन्धानहरू गरिरहेका छौँ। नागपोखरी, गहनापोखरी जस्ता पोखरीहरूका इतिहास तथा तिनको वर्तमान अवस्थाबारे बुझ्न हाम्रा अग्रजहरूसँग छलफल गर्नुपर्छ। साथै, काठमाडौँका परम्परागत धारा–कुवाहरूको अवस्थाबारे पुराना पुस्ताका अनुभवहरू संकलन गर्दै संरक्षणका उपायहरू अवलम्बन गर्न आवश्यक छ।

गएको असोज महिनामा भारी वर्षाका कारण उपत्यकामा ठूलो क्षति व्यहोर्नुपर्‍यो। यस्ता धेरै घटनाहरुबाट हामी आफैँ भुक्तभोगी भएका छौँ। संयुक्त राष्ट्रसंघले यस वर्षको विश्व पानी दिवसको मूल विषयवस्तु "हिमनदी संरक्षण" तोकेको छ। हामीले केही वर्षअघि लाङटाङको एउटा सुन्दर बस्ती गुमाउनुपर्‍यो। त्यतिमात्रै होइन, सयौँ नेपाली तथा विदेशी पर्यटकहरू ज्यान गुमाउन बाध्य भए। केही समयअघि खुम्बु क्षेत्रमा आएको हिमनदी विस्फोटका कारण महाविपत्तिको सामना गर्नुपर्‍यो, जसले एक ठूलो जलविद्युत् आयोजना समेत ध्वस्त पार्‍यो।

औद्योगिक क्रान्तिपछि विकसित देशहरूले प्राकृतिक स्रोत साधनको अत्याधिक प्रयोग गर्दै आफुलाई विकास गर्न पुगे । जसले गर्दा प्रदुषण फैलियो । विकसित मुलुकहरूले विकासको सुविधा उपभोग गरिरहँदा हामीजस्ता देशहरूले विनाशको प्रतिफल भोग्नुपरेको छ। हाम्रो सेता हिमालहरू अहिले कालो ढुंगामा परिणत हुँदै गएका छन्। त्यसैले विकसित मुलुकहरूले हाम्रा जस्ता देशहरूलाई विकासको साझेदार बनाउनुपर्छ। कार्बन ट्रेड हाम्रो अधिकार हो, र हामीले यस्ता अभियानहरूमार्फत उनीहरूलाई दबाब सिर्जना गर्नुपर्छ।

हामीले हाम्रा खोलानाला, धारा, कुवा तथा पोखरीहरूलाई संरक्षण गर्नुपर्छ। केही पोखरीहरू जोगाइएका छन् भने केही अझै संरक्षणको प्रतीक्षामा छन्। हामीले बागमतीमा पुनः कलकल पानी बगाउनु पर्छ, विष्णुमतीको पानी सुधार गर्नुपर्छ, र परम्परागत धारा पुनः सञ्चालन गर्न पहल गर्नुपर्छ।

यस अभियानमा हामी सबैले हातेमालो गरौँ। भोलिका पुस्ताहरूका लागि पानीका स्रोतहरूको सुरक्षा हाम्रो प्रमुख कर्तव्य हो। पानीलाई अमूल्य सम्पत्ति मान्दै यसको स्वच्छता कायम राख्नुपर्छ। हामीले गाउँ, टोल, शहरमा पानीको महत्त्वबारे जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछौँ। आउनुहोस्, सबै मिलेर पानीको संरक्षणका लागि प्रतिबद्ध बनौँ।

(सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले अन्तर्राष्ट्रिय पानी दिवसको अवसरमा आयोजना  भएको प्रभातफेरी र्याली 'वाकाथन'मा व्यक्त मन्तव्यबाट लिइएको हो ।)

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया