नेपाल लाइफद्वारा सगरमाथा सफाइ अभियानको सुरुवात, २५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य
- BFIS News
- 2025 Mar Thu 14:41

काठमाडौं, चैत १४ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सगरमाथा क्षेत्रमा रहेको फोहोर व्यवस्थापन तथा सरसफाइको अभियान सुरु गरेको छ । यस अभियानका लागि नेपाल लाइफ इन्स्योरन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले राउण्ड टेबल नेपालका अध्यक्ष प्रभेस अग्रवालसँग अभियानको संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सगरमाथामा वर्षेनी हजारौको संख्यामा आरोहीहरू पुग्ने गर्छन्, जसका कारण त्यहाँ फोहोरको मात्रा बढ्दै गएको छ। आरोहीहरूले प्रयोग गरेर फालेका अक्सिजन सिलिन्डर, पानीका बोतल, डोरी, खानेकुरा जस्ता वस्तुहरू त्यहाँ वर्षौंदेखि थुप्रिएर सगरमाथाको प्राकृतिक सौन्दर्यलाई असर पुर्याइरहेका छन्।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसी) सँग सहकार्य गरेको छ। प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए।
सगरमाथा क्षेत्रमा वार्षिक रूपमा ५० हजारभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने तथ्यांक रहेको छ। साथै, प्रत्येक वर्ष करिब ५०० आरोहीहरूले सगरमाथा आरोहण अनुमति लिने गरेका छन्। एक आरोहीले औसतमा ८ किलो फोहोर छाड्ने भएकाले वार्षिक ५०-६० हजार किलो फोहोर जम्मा हुने गरेको छ। यसले वातावरणीय प्रदूषण मात्र नभई हिउँ तथा हिमनदीहरूको पग्लनमा पनि बढावा दिइरहेको छ।
नेपाल लाइफले सुरु गरेको यो अभियान अन्तर्गत सगरमाथा क्षेत्रको फोहोर संकलन गरी आधार शिविर हुँदै काठमाडौंसम्म ल्याएर रिसाइकल गरिनेछ। यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको छ।
राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको बताए। उनले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
यस क्रममा कुहिने फोहोरलाई आधार शिविर भन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने छ। साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए।
राउण्ड टेबल नेपालका अध्यक्ष प्रभेस अग्रवालले संस्थाले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सगरमाथा पोलुसन कन्ट्रोल कमिटीका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए। एसपिसिसी सन् १९९० देखि सोलुखुम्बु क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको संस्था हो। उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आउन थालेको उल्लेख गर्दै, यो अभियानले समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने बताए।
गत वर्ष सगरमाथा आरोहणका लागि ४१३ विदेशी आरोहीले अनुमति लिएका थिए, जसमा नेपाली आरोही थपिएका थिए। यस वर्ष यो संख्या ४५० भन्दा माथि पुग्ने अनुमान गरिएको छ। आरोहणका लागि १५००-२००० शेर्पाहरूको आवश्यकता पर्ने भएकाले आरोहणसँगै फोहोरको मात्रा पनि बढ्नेछ। गएको वर्ष मात्र ६५ टनभन्दा बढी फोहोर जम्मा भएको तथ्यांक छ।
नेपाल सरकारले आधार शिविरभन्दा माथि जाने प्रत्येक आरोहीले कम्तीमा १ किलो फोहोर ल्याउनु पर्ने नियम बनाए तापनि यो समस्याको पूर्ण समाधान हुन सकेको छैन। प्रति किलो फोहोर व्यवस्थापन गर्न ५०० रुपैयाँ लाग्ने जानकारी दिइएको छ।
नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले टाउण्ड टेबल नेपाल तथा एसपिसिसीसँगको सहकार्यमा यो अभियान सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गरे। उनले जलवायु परिवर्तनको असर नेपालमा बढ्दै गइरहेकाले सगरमाथा सफाइ अभियानमा कम्पनीले सानो भए पनि योगदान पुर्याउन खोजेको बताए। साथै, बीमा क्षेत्रमा पनि जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्न थालिएको उल्लेख गरे। कार्यक्रमको सञ्चालन ब्राण्डिङ विभाग प्रमुख अमित झाले गरेका थिए ।
नेपाल लाइफले लगानी विविधिकरण गर्ने क्रममा ग्लोबल कलेजमा १ अर्ब ३३ करोड रुपैयाँ लगानी गरिसकेको छ। यही कलेजको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। कम्पनीले शिक्षामार्फत समाजमा योगदान पुर्याउने उद्देश्यले कलेजमा लगानी गरेको स्पष्ट पारेको छ।
प्रतिक्रिया