देशभर आक्रामक रुपमा होटल व्यवसाय विस्तार, विदेशी चेन होटलको पनि आकर्षण
- BFIS News
- 2025 Apr Sun 12:39

काठमाडौँ, चैत ३१ । देशभर आक्रामक रूपमा होटल व्यवसाय विस्तार भैरहेका छन् । संघीय राजधानी काठमाडौँदेखि पोखरा, बुटवल, लुम्बिनी, विराटनगर, भैरहवा र नेपालगञ्जलगायत क्षेत्रमा पाँचतारेदेखि पर्यटकस्तरीय होटल सञ्चालनमा आउन थालेका छन् ।
काठमाडौँको नक्सालमा शङ्कर ग्रुपले करिब ८ अर्ब ३५ करोडको लगानीमा ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा ल्याएको छ । यसअघि माघमा सुकेधारामा ‘मक्र्योर काठमाडौँ’ पाँचतारे होटल सञ्चालनमा आएको थियो । यस्तै, पोखराको लेकसाइडमा विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले १ अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि’ सञ्चालनमा ल्याएको छ ।
सिद्धार्थ हस्पिटालिटीले समेत चेन होटल सञ्चालन विस्तारलाई आक्रामक बनाउँदै गएको छ । यसै वर्ष तनहुँको दमौलीमा तीनतारे ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ भने बुटवलमा ‘सिद्धार्थ कटेज’ सञ्चालन र धनगढीमा पाँचतारे होटल निर्माण कार्य अघि बढाएको छ । आगामी वैशाख १ गतेदेखि भरतपुरमा ‘सेन्ट्रल प्लाम होटल’ र ‘साराङ वाइल्डलाइफ स्याङचुरी मेगौली’मार्फत सेवा विस्तारको तयारी समेत भएको छ ।
गत पुसमा गुण समूहले ६ अर्ब लगानीमा ‘होटल रोयल टुलिप’ सञ्चालनमा ल्याएको थियो भने माघमा गौशालास्थित पिंगलास्थानमा १ अर्ब ५० करोड लगानीमा ‘होटल वेस्ट वेस्टर्न प्लस काठमाडौँ’ सञ्चालनमा आएको छ । शेष घलेद्वारा निर्माणाधीन होटल भने अझै सञ्चालनमा आउन सकेको छैन । जानकारहरूका अनुसार सो होटलको लगानी १२ अर्ब नाघिसकेको छ ।
होटल सङ्घ नेपाल (हान)का अनुसार पछिल्ला वर्षहरूमा होटल व्यवसायमा उल्लेख्य लगानी भएको छ । हान अध्यक्ष विनायक शाहका अनुसार वर्षेनी ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार निर्माण भए पनि एक तिहाइ मात्र उपयोग हुँदै आएको छ । शाहले अन्तरराष्ट्रिय चेन होटलको आगमनले नेपाल पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह भएको धारणा राखेका छन् ।
अन्तरराष्ट्रिय चेन होटल थपिँदै
यो वर्ष मात्र झण्डै एक दर्जन पाँचतारे र चेन होटल सञ्चालनमा आएका छन् भने आधा दर्जन निर्माणको अन्तिम चरणमा छन् । पछिल्लो दशकमा मेरियट, लेमन ट्री, रमादा, दूसित थानी, सिन्तामणि, प्रिन्सेेस, अलफ्ट, ह्यात प्यालेसजस्ता चेन होटल सञ्चालनमा आइसकेका छन् ।
सरकारले हालै होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिएको छ । हान अध्यक्ष शाहले यसबाट व्यवसायी उत्साहित भएको बताए । पर्यटन बोर्डले पनि आक्रामक अन्तरराष्ट्रिय बजारीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ । बोर्डका सिइओ दीपकराज जोशीका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बि-टु-बि कार्यक्रम र ११४ जना विदेशी इन्फ्लुएन्सर तथा मिडियालाई नेपाल भ्रमण गराएर प्रवर्द्धन गरिएको छ ।
पूर्वाधार विस्तार र नीतिगत सुधार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन, नियम र संरचनागत सुधारलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरण विधेयक संघीय संसद्मा दर्ता भइसकेको छ भने पर्यटन ऐन, हवाई नीति, संस्कृति नीति मस्यौदा अन्तिम तयारीमा रहेको छ ।
यसै वर्ष त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम समेत धमाधम भइरहेको छ । विमानस्थलको दक्षिण–पश्चिमतर्फ ‘ट्याक्सी वे’, उत्तरतर्फ ‘इन्टरनेशनल एप्रोन’ र पूर्वतर्फ ‘ह्याङ्गर एप्रोन’ विस्तार गरिँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी, हिल स्टेशन र ऐतिहासिक तथा धार्मिक सम्पदास्थलको संरक्षण तथा प्रवर्द्धनमा पनि काम भइरहेको मन्त्रालयले जनाएको छ ।
२०८१ : आशा र निराशाको मिश्रित वर्ष
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले वर्ष २०८१ लाई आशा र निराशाको वर्षका रूपमा लिएका छन् । उनका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सुरु भए पनि उत्तराद्र्धमा स्थगन हुँदा निराशा व्याप्त भएको छ ।
विदेशी र स्वदेशी लगानीकर्ताको आकर्षण, सरकारको नीतिगत सहजीकरण र पर्यटन पूर्वाधारको क्रमशः सुधारले नेपालको होटल र पर्यटन उद्योगलाई सशक्त बनाइरहेको छ ।
प्रतिक्रिया