नयाँ वर्ष २०८२ मा पूँजी बजारले ऐतिहासिक उचाइ हासिल गर्ने आधारहरु धेरै छन् : तुलसी राम ढकाल
- BFIS News
- 2025 Apr Mon 08:35

काठमाडौं । वर्ष २०८१ लाई फर्केर हेर्दा, पूँजी बजारको अवस्था सामान्य नै रह्यो। यस अवधिमा बजारमा कुनै ठुलो उथलपुथल देखिएन। नेप्से सूचक २२०० बाट ३००० अंकसम्म पुगे पनि हाल पुनः २६००–२७०० को सीमामा घुमिरहेको छ। यो स्थितिलाई नराम्रो भन्न मिल्दैन, तर अपेक्षितरूपमा पूँजी बजारको विकास भने हुन सकेन।
नीतिगत सुधारको दृष्टिकोणले पनि २०८१ खासै उल्लेखनीय रहन सकेन। यद्यपि, नेपाल राष्ट्र बैंकले केही कदमहरू चाल्यो—जस्तै, संस्थागत लगानीकर्ताका लागि क्याप हटाउने र जोखिम भार (रिष्क वेटेज) केही हदसम्म घटाउने। तर, यी सुधारहरू पर्याप्त थिएनन्।
विडम्नाको कुरा, हामीले २०८१ सालमा नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ११ महिना पर्खनुपर्यो। अर्कोतर्फ, नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल समाप्त हुनुअघि नै नयाँ नियुक्ति हुनुपर्ने भए पनि, आजसम्म त्यो कार्य सम्पन्न भएको छैन।
मिश्रित वर्ष, मिश्रित अनुभव
२०८१ साल पूँजी बजारको लागि न त अत्यन्तै खराब रह्यो, न त आशालाग्दो। समग्रमा मिश्रित खालको वर्ष रह्यो। तर अबको २०८२ सालमा लगानीकर्ताहरूमा नयाँ आशा जागेको छ।
बैंकिङ प्रणालीमा हाल अत्यधिक तरलता उपलब्ध छ। बैंकको ब्याजदर घट्दो क्रममा छ र लगानीयोग्य रकम प्रशस्त मात्रामा छ। साथै, देशले यसै वर्ष नयाँ गभर्नर पाउनेछ, जसबाट पूँजी बजारमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ।
अपेक्षाहरू र सुधारका प्रस्ताव
नयाँ गभर्नरसँग पूँजी बजारसँग सम्बन्धित विभिन्न दीर्घकालीन मागहरू छन्। तीमध्ये प्रमुख मागहरू निम्न छन्:
१. शेयर धितो कर्जामा रहेको क्याप हटाइनु पर्छ।
२. रिष्क वेटेजलाई १२५ बाट घटाएर १०० मा ल्याइनु पर्छ।
३. बैंक तथा वित्तीय संस्थाले किनिएको शेयर बिक्री गर्न नपाउने क्याप पूर्ण रूपमा हटाइनु पर्छ।
४. लगानीमा प्रस्टता ल्याउँदै बैंकलाई स्वतन्त्र रूपमा नियमन अनुसार लगानी र बिक्री गर्न दिनु पर्छ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्ड पनि अझ सक्रिय र परिणाममुखी ढंगमा अघि बढ्न आवश्यक छ। नयाँ अध्यक्ष नियुक्त भएको केही समय बितिसकेको भए पनि, अहिलेसम्म उल्लेखनीय सुधार देखिएको छैन। २/४ वटा कम्पनीलाई आईपीओ अनुमति दिइएको बाहेक अन्य खास गतिविधि नदेखिनु निराशाजनक पक्ष हो।
प्रविधिमा सुधारको आवश्यकता
नेपाल स्टक एक्सचेन्जमा हालै नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु भएको छ । अबको कार्यकालमा उहाँले स्टक एक्सचेन्जलाई २१औँ शताब्दीको प्रविधिमैत्री प्रणाली बनाउने दिशा तर्फ ध्यान दिनुपर्छ।
आजको दिनमा सबै कारोबार ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) मार्फत भइरहेका छन्। यो प्रणाली केही अर्बको कारोबारका लागि सुरुआतमा उपयुक्त भए पनि अहिलेको २० अर्बको कारोबारमा यसको क्षमता पर्याप्त छैन। बजारमा हलचल हुनेबित्तिकै प्रणाली अवरुद्ध हुने समस्या बारम्बार देखिएको छ। यसलाई तत्काल सुधार गर्नु अत्यावश्यक भइसकेको छ।
संरचनात्मक परिवर्तनको खाँचो
नेपाल स्टक एक्सचेन्जलाई सरकारी स्वामित्वबाट पूर्ण रूपमा पब्लिक कम्पनी मा रूपान्तरण गर्नु आवश्यक छ। नयाँ लगानीकर्तालाई भित्र्याएर पुनःसंरचना गरिनुपर्छ। साथै, हामीले नयाँ स्टक एक्सचेन्जको माग पनि राखिसकेका छौं, तर यो विषयमा कुनै ठोस प्रगति देखिएको छैन।
यदि माथि उल्लिखित सुधारहरू कार्यान्वयन गरिए भने, २०८२ साल पूँजी बजारका लागि निर्णायक बन्न सक्छ। यसले बजारलाई नयाँ उचाइमा पुर्याउने सम्भावना प्रबल छ। तर यसको लागि जिम्मेवार निकायहरू — सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, र स्टक एक्सचेन्ज सकृय, जवाफदेही र दूरदर्शी बन्नु पर्नेछ।
(ढकाल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष हुन्। ढकालसँग निजी क्षेत्रको व्यवसाय प्रवर्द्धन, सेयर बजार तथा नेपालको वित्तीय क्षेत्र विकासमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ। हाल उनि सफल पथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, चिलिमे जलविद्युत् कम्पनी तथा माथिल्लो भोटेकोशी जलविद्युत् कम्पनीका सञ्चालक समितिका सदस्य रहेका छन्। साथै, उनि मुक्तिनाथ क्यापिटलका पूर्व सञ्चालक पनि हुन्। यसका साथै, उनि मुक्तिनाथ विकास बैंक लिमिटेड र ह्याथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका संस्थापक, प्रवर्द्धक तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका संस्थापक, प्रवर्द्धक एवं सञ्चालक हुन्।)
📌 For News, Articles, and Advertisements:
📧 Email us at:
👉 [email protected]
👉 [email protected]
🌐 Visit our website:
👉 www.bfisnews.com
📞 Contact us:
👉 9849347446
📘 Facebook: facebook.com/bfisnews
प्रतिक्रिया