NIMB Header 2
Nepal Life

पुष्पमान श्रेष्ठ स्मृति दिवस भव्य रूपमा सम्पन्न, विद्यार्थी सहायता र शुभकामना आदानप्रदान

National Life
  • BFIS News
  • 2025 Apr 21 21:12
पुष्पमान श्रेष्ठ स्मृति दिवस भव्य रूपमा सम्पन्न, विद्यार्थी सहायता र शुभकामना आदानप्रदान
Sanima Reliance

काठमाडौं । स्व. पुष्पमान श्रेष्ठको ३२औं स्मृति दिवसको अवसरमा पुण्यशिला आधारभूत विद्यालय, पुतलीबजार–३, बाडखोलामा आयोजित “लालटिनको उज्यालोमा न्यायको खोजीका स्मृतिहरू” शीर्षकको स्मरण सभा तथा विद्यार्थी सहायता कार्यक्रम र नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Shikhar
NIMB

कार्यक्रमका प्रमुख अतिथि मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकाल थिए। कार्यक्रममा पुष्प–चन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान ब्यथितले अध्यक्षता गरेका थिए ।

स्व. पुष्पमान श्रेष्ठका सुपुत्र तथा ट्रष्टका संस्थापक अनन्तमान श्रेष्ठले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै भने, “पुण्यशिला विद्यालय स्व. पुष्पमान श्रेष्ठको सामाजिक योगदानको प्रतीक हो। यस विद्यालयमै कार्यक्रम आयोजना गर्नु उहाँको योगदानप्रतिको सम्मान हो।” उनले ट्रष्टले पछिल्ला पाँच वर्षमा गरेका सामाजिक र शैक्षिक क्रियाकलापहरू तथा आगामी योजनाहरू पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, शिक्षक, अभिभावक, पत्रकार, बुद्धिजीवी र विद्यार्थीसहित ३०० भन्दा बढीको उपस्थिति रहेको थियो। वक्ताहरूले श्रेष्ठको न्याय र परिवर्तनप्रतिको अडिग संघर्षको स्मरण गर्दै आज पनि चेतनाको लालटिन बाल्नुपर्ने आवश्यकता औँल्याए।

ट्रष्टका तर्फबाट प्रेरणादायी व्यक्तित्व स्व. चन्द्रलक्ष्मी श्रेष्ठको सेवाभावनाबाट प्रेरित भई स्थापित संस्थाले शैक्षिक सहयोग, सामाजिक न्याय र साहित्यिक गतिविधि निरन्तर गर्दै आएको जानकारी गराइएको थियो।

विद्यार्थी सहायता कार्यक्रम 

“वर्ष २०८२, नानीबाबुको मुहारमा खुशी” नारासहित सञ्चालन गरिएको विद्यार्थी सहायता कार्यक्रमअन्तर्गत १०० विद्यार्थीलाई झोला, कापी, पेन्सिल, ज्यामिति बक्स, पेनसेट जस्ता शैक्षिक सामग्री वितरण गरिएको छ। साथै विद्यालयलाई भित्ते घडी, क्यारमबोर्ड, चेस बोर्ड, लुडो सेट, फुटबल, भलिबल सेट (नेटसहित), स्किपिङ डोरी लगायत खेलकुद सामग्री हस्तान्तरण गरियो। ट्रष्टले आगामी दिनमा बाडखोला जामे मस्जिद र अमोर सेवा नेपाल बालगृह फेदीखोलामा पनि यस्ता सामग्री वितरण गरिने जानकारी दिएको छ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि ढकालले कृषिमा आत्मनिर्भरता र सहकार्यको महत्वमा जोड दिँदै यस्ता कार्यक्रमहरूले समाजमा समान अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विविध दल र संस्थाका प्रतिनिधिहरू — समाजसेवी टेकबहादुर भुजेल, नेकपा एमालेका सालिग्राम मरासिनी, माओवादी केन्द्रका नारायण लम्साल, कांग्रेसका कमलकान्त उपाध्याय, चेम्बर अफ कमर्स अध्यक्ष लोकनाथ रेग्मी, शिक्षक महासंघकी बन्दना लम्साल, काजिमान हरिटिका अध्यक्ष अनुप श्रेष्ठ, पत्रकार ओमप्रकाश शर्मा लगायत वक्ताहरूले स्व. पुष्पमान श्रेष्ठको योगदानको स्मरण गर्दै उहाँको मूल्य, दृष्टिकोण र साहसको प्रशंसा गरे।

कार्यक्रममा पुण्यशिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकनारायण मरासिनीले स्वागत मन्तव्य राखेका थिए। धन्यवाद ज्ञापन ट्रष्टको तर्फबाट विद्या कुमारी जोशी श्रेष्ठ र विद्यालयको तर्फबाट विद्यार्थी युनिक भुजेलले गरेका थिए।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष महेन्द्रमान ब्यथितले भने:  “जब सत्ताले जनताको आवाज थिच्थ्यो, पुष्पमान श्रेष्ठले लालटिन बालेर उज्यालो खोज्न थाले। वि.सं. २०२४ मा उहाँले अन्नसन गरेर सरकारलाई जनताको आवाज सुन्न बाध्य पार्नुभयो। उहाँका हातको लालटिन प्रतिवादको प्रतीक थियो — अँध्यारो चिर्ने साहस। आज पनि त्यस्तै नेतृत्वको खाँचो छ, जसले सच्चा न्यायको बाटो देखाओस्।”

कार्यक्रममा योगेन्द्रमान श्रेष्ठद्वारा रचित ‘सामाजिक गौरव गान’ पनि बजाइएको थियो। सञ्चालन विद्यालयका पूर्व प्रधानाध्यापक तथा खुमा अर्याल फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले गरेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया