स्व. पुष्पमान श्रेष्ठको ३२औं स्मृति दिवसमा नुरी इस्लामिक विद्यालयमा भव्य कार्यक्रम सम्पन्न
- BFIS News
- 2025 Apr Fri 18:20
.png)
स्याङ्जा, पुतलीबजार । स्व. पुष्पमान श्रेष्ठको ३२ औं स्मृति दिवसको अवसरमा पुष्प–चन्द्र ट्रष्टद्वारा आयोजित 'HAPPY STUDENTS, CREATIVE STUDENTS' अभियान अन्तर्गत नुरी इस्लामिक विद्यालयमा विद्यार्थी प्रेरणा तथा शैक्षिक सहायता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
ट्रष्टले यस वर्षको अभियानका लागि “वर्ष २०८२ – नानीबाबुहरूको मुहारमा खुशी” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयलाई खेलकुद सामग्री र विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको हो।
कार्यक्रममा पुतलीबजार नगरपालिका–३ का कार्यवाहक वडा अध्यक्ष तथा समाजसेवी हाजी अमिर बक्स मियाँ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नुरी इस्लामिक मदरसाका कार्यवाहक अध्यक्ष साखालिद मियाले गरेका थिए ।
पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक ध्रुव नारायण श्रेष्ठले ट्रष्टको उद्देश्य स्पष्ट पार्दै, स्व. पुष्पमान श्रेष्ठ र स्व. चन्द्रलक्ष्मी श्रेष्ठको मुस्लिम समुदायप्रतिको आत्मीयता, पारिवारिक सम्बन्ध र समर्पणको स्मरण गरे। उनले पछिल्ला पाँच वर्षमा ट्रष्टले शिक्षा, सामाजिक न्याय र साहित्यिक क्षेत्रमा पुर्याएको योगदान र आगामी योजनाहरू पनि प्रस्तुत गरे।
कार्यक्रम सञ्चालन नुरी इस्लामिक मदरसाका सचिव अलिमुहमद मियाले गर्नुभएको थियो भने स्वागत मन्तव्य अमिर आलमले दिएका थिए ।
विद्यार्थी सहायता र प्रेरणा कार्यक्रम
कार्यक्रमअन्तर्गत विद्यालयका ५७ जना विद्यार्थीलाई प्रति विद्यार्थी ६ थान कापी र पेन सेट वितरण गरिएको थियो। साथै विद्यालयलाई भित्ते घडी, क्यारमबोर्ड, चेस बोर्ड, लुडो सेट र फुटबलजस्ता खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।
ट्रष्टले यस अभियानलाई समुदायमा अझ प्रभावकारी बनाउँदै अमोर सेवा नेपाल बालगृह, फेदीखोला मा समेत शैक्षिक सामग्री वितरण गर्ने योजना सार्वजनिक गरेको छ।
नेतृत्वको स्मरण र चेतनाको लालटिन
प्रमुख अतिथि हाजी अमिर बक्स मियाँले स्व. पुष्पमान श्रेष्ठको नेतृत्व, दूरदृष्टि र साहसको प्रशंसा गर्दै भने, “उनको हातको लालटिन प्रतिरोधको प्रतीक थियो—अँध्यारो चिर्ने साहस। आज पनि त्यस्तै नेतृत्वको खाँचो छ, जसले सच्चा न्यायको बाटो देखाओस्।”
अन्य वक्ताहरूले पनि स्व. पुष्पमान श्रेष्ठ र स्व. चन्द्रलक्ष्मी श्रेष्ठको योगदानको स्मरण गर्दै आजको समाजमा चेतनाको लालटिन अझ बलियो बनाउनु आवश्यक रहेको बताए। ट्रष्टका तर्फबाट मोती प्रसाद मरासिनीले धन्यवाद ज्ञापन गरेका थिए ।
उपस्थिति र सहभागिता
कार्यक्रममा ट्रष्टका संस्थापक, परिवारका सदस्यहरू, सुर्योदय साकोसका ऋण अधिकृत बालकृष्ण गोदार, समाजसेवी मस्जिद मियाँ, युवा नेता अयुब मियाँलगायत २०० भन्दा बढी सहभागी रहेका थिए।
साहित्य, शिक्षा र दीर्घकालीन सहयोगमा ट्रष्टको उपस्थिति
पुष्प–चन्द्र ट्रष्टले पछिल्ला वर्षहरूमा गरेका केही उल्लेखनीय कार्यहरू:
- श्री काजिमान हरि टिका मा.वि., स्याङ्जामा रु. २,५०,००० को अक्षयकोष स्थापना, जसको आम्दानीबाट बिपन्न तथा न्यून आय भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउनेछन्।
- राष्ट्रियस्तरको कविता महोत्सव सम्पन्न, जसले स्थानीय युवा तथा विद्यार्थीहरूमा साहित्यिक अभिव्यक्तिको विकासमा योगदान पुर्याएको छ।
- विभिन्न विद्यालयहरूमा साहित्यिक र सामाजिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन।
यी कार्यक्रमहरूले शैक्षिक पहुँच नपाएका बालबालिकामा उत्साह, प्रेरणा र उज्यालो भविष्यप्रतिको विश्वास पैदा गरेको ट्रष्टले जनाएको छ।
“वर्ष २०८२ – नानीबाबुको मुहारमा खुशी” भन्ने नारासहित अघि बढाइएको HAPPY STUDENTS, CREATIVE STUDENTS अभियानले समुदायमा शिक्षा, समावेशिता र सामाजिक न्यायको सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
प्रतिक्रिया