शिखर इन्स्योरेन्समा दुई दशक विताएका सन्तोष पाण्डे, फ्रेसरबाट बागमती प्रदेश प्रमुखसम्मको सफलता
- अरुण सापकोटा
- 2025 Apr Tue 16:48

काठमाडौं । स्नातकोत्तर सकेर भविष्यको योजना बुन्दै बसेका सन्तोष पाण्डेलाई नजिकका एक व्यक्तिले भने, "शिखर इन्स्योरेन्स स्थापना हुँदैछ, कम्पनीले फ्रेसर खोज्दैछ, काम गर्ने इच्छा छ भने सम्पर्क गर।" यही सानो सूचनाले उनको जीवनको मार्ग नै परिवर्तन गरिदियो।
२०६१ साल कार्तिक १५ गते, कम्पनीले अझै निर्जीवन बीमा व्यवसाय शुभारम्भ नगर्दै पाण्डे शिखर इन्स्योरेन्समा भित्रिए। मंसिर २ गते कम्पनी उद्घाटन भयो। प्रारम्भिक दिनमा उनी मार्केटिङ विभागमा प्रशिक्षार्थीका रूपमा काम गर्न थाले। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको प्रत्यक्ष निगरानीमा पाण्डेले काम गर्ने मौका पाए।
मार्केटिङमा कम्पनी र उनको अनुभव लगभग बराबर थियो । अध्ययनका क्रममा जीवन बीमाका विषयमा केहि पढ्न पाइए पनि निर्जीवन बीमाको विषयमा एउटा सानो च्याप्टर मात्रै थियो, उनि भन्छन् । जव उनि शिखरमा आए त्यसपछि बल्ल निर्जीवन बीमाका विषयमा अध्ययन गर्न थाले । 'कलेजमा पढेको कुरा र फिल्डमा आउदा धेरै कुराको अन्तर पाए ।' त्यसमा पनि मार्केटिङमा काम गर्ने भए पछि आफुमा धेरै भन्दा धेरै ज्ञान हुन जरुरी थियो ।
यसका लागि शिखरमा कार्यालय सुरु हुनु भन्दा एक घण्टा अगाडी ट्रेनिङ हुन्थ्यो । उनलाई मार्किङमा सबैभन्दा धेरै मद्दत दिप पाण्डेले नै गरिदिए । उनि भन्छन् 'दिप सरले नेपालको निर्जीवन बीमा बजार यस्तो छ यसरि जानु पर्छ भन्दै सिकाउनु भयो । प्राविधिक रुपमा बुझाउने काम उदित काफ्ले सरले गर्नु भयो । मार्केटिङका टेक्निकल पार्ट दिप सरबाट सिक्ने अवसर प्राप्त गरे ।'
त्यसमा पनि त्यतिवेला निर्जीवन बीमा कम्पनीहरुले आफ्नै संस्थापक लगानीकर्ताहरुको बीमा गर्न पाउथ्यो । जसले गर्दा उनलाई सुरुवाति दिनमा मार्केटिङमा जान निकै सजिलो भयो । यसरी आफ्नै संस्थापकहरु मार्फत उनलाई अन्य ग्राहकहरु खोज्ने निकै सजिलो भयो । उनलाई यसबाट यति धेरै सिक्ने र प्रस्तुती देखाउने अवसर मिल्यो कि मार्केटिङ गरेको जस्तो कहिल्यै अनुभुति नै भएन । जसले अन्य कम्पनी मार्फत बीमा गराउदै आएका थिए उनिहरु मार्फत पनि बजारका यथार्थ कुराहरु सिक्ने मौका पाए ।
मार्केटिङमा सबैभन्दा ठुलो उपलब्धी भनेको सम्बन्ध निर्माण नै हो । शिखरमा उनले सुरुवातिदिनदेखि नै राम्रो सम्बन्ध निर्माण गर्ने अवसर प्राप्त गरे । यसै क्रममा नयाँ नयाँ ग्राहकहरु समक्ष पुग्दा पनि संस्थापकहरुले भनेका कुराहरुले उनलाई डिल गर्न निकै सहज भयो ।
जतिवेला बीमाको बजार निकै सानो थियो तर बजार बढाउने अवस्था धेरै थियो । यसै क्रममा नयाँ नयाँ बजार खोज्ने कार्यमा उनि प्रत्यक्ष रुपमा जोडिए । जसले गर्दा कम्पनीलाई निर्जीवन बीमा व्यवसायलाई सर्वाधिक अगाडी ल्याउन उनको टिम निकै सफल बन्यो ।
अहिले जीवन बीमा कम्पनीले गर्दै आएको वैदेशिक रोजगार बीमा त्यतिवेला निर्जीवन बीमा कम्पनीहरुले गर्थे । जतिवेला उनि एक्लैले २ करोड रुपैयाँसम्म यस्तो बीमा शुल्क उठाउथे । त्यतिवेला नै हो उनले धेरै भन्दा धेरै सम्बन्ध निर्माण गरेको । वैदेशिक रोजगार व्यवसायिहरुसँग राम्रो सम्बन्ध निर्माण गरे । नेपालमा एउटै समुह तथा व्यक्तिले धेरै वटा क्षेत्रमा लगानी गर्ने तथा काम गर्ने भएकाले एउटा क्षेत्रबाट निर्माण भएको सम्बन्धलाई अन्यन्त्र क्षेत्रमा उनले प्रयोग गरे ।
ठुला म्यानपावर व्यवसायीको बीमा उनि आफैले ह्याण्डल गर्थे । उनि सँग त्यतिवेलाको सम्बन्ध अहिले पनि छ । निर्जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमा गर्न नपाउने व्यवस्था पछि उनि ति नै व्यवसायीको घर, गाडीदेखि लिएर उनिहरुका होटल, उद्योग कलकारखानासम्म पुगे ।
सुमधुर सम्बन्धकै कारणले व्यक्ति व्यक्तिहरु विचमै उनको राम्रो प्रचार भयो । बजारमा आरोह अवरोध धेरै आए । ति सबै चुनौतीहरुलाई सामना गर्दै गए । जतिवेला उनि संस्थापहरुको बीमामा केन्द्रित थिए त्यतिनै बेला बीमा प्राधिकरणले रोकिदियो । त्यस पछि उनका लागि त्यो भन्दा कठिन क्षण अरु कुनै थिएन । उनले संकलन गर्दै आएको व्यवसाय अरुले लैजाने अवस्था आयो ।
त्यति नै बेला प्रमुख कार्यकारी अधिकृत पाण्डेले हौसला प्रदान गर्थे । उनि सबैलाई प्रोत्साहित गर्दै भन्थे 'एउटा ढोका बन्द भयो भने अर्को ढोका खुल्छ । त्यसैले मार्केटिङमा कहिल्यै पनि आत्तीनु हुँदैन ।' सिइओ पाण्डेले दिएको हौसला सँगै उनले पनि एउटा रणनीति बनाए 'यतिनै बेला हाम्रो संस्थापक अरुकोमा जान्छन् भने अरुका प्रमोटरलाई पनि हामीले तान्नु पर्छ ।'
यसले उनका लागि साच्चीकै अर्को ढोका खुल्यो । आफ्ना संस्थापकहरुमा सिमित हुँदै आएका उनले शिखर बाहेकका अन्य कम्पनीका संस्थापहरु सँग सम्बन्ध निर्माण गर्ने र व्यवसाय भित्र्याउने अर्को ठुलो अवसर प्राप्त गरे । त्यस पछि उनका लागि फेरी अर्को ठुलो चनौती खडा भयो 'सरकारले वैदेशिक रोजगार बीमा व्यवसाय जीवन बीमाले गर्ने भनिदियो ।' यसबाट निर्जीवन बीमा कम्पनीले तत्कालिन समयमा ठुलो व्यवसाय गुमाउनु परेको थियो ।
उनि सुरुवाति दिनदेखि अहिलेसम्मको बजार विश्लेषण गर्दै भन्छन् 'कम्पनीले पहिलो वर्ष १३ करोड बीमा व्यवसाय गरेको थियो । अहिले ५४७ करोड गर्दा पनि पुगेन भन्दै छौ भने हाम्रो कन्फिडेन्स लेभल बढ्दै गइरहेको छ ।' अहिले पनि बजारमा राम्रो व्यवसाय रहेको भन्दै उनि अझै ठुलो अवसर रहेको बताउछन् ।
'यहाँ हामीले मात्रै व्यवसाय गरेका छैनौ हामी सँग सँगै अरु कम्पनीले पनि व्यवसाय गरिरहनु भएको छ । आजका दिनमा एक सय करोड नकटाउने कुनै पनि कम्पनी छैन ।' पछिल्ला समयमा बीमा बजारमा देखिएका अस्वस्थ प्रतिस्पर्धा प्रति भने उनि चिन्तित छन् । उनि भन्छन् 'हामी बगिरहेको खोलामा भोलि खोला सक्ने पो हो कि भन्दै बालिटिनका बाल्टिन पानि तानिरहेका छौ । जवकी विस्तारै उभाउदा पनि बाल्टिन भरिन्छ । तर कसै कसैले मुहानमै गएर छोप्ने काम भयो भने त्यसको असर सबैलाई पर्छ । अहिले बीमा क्षेत्रमा पनि यस्तै गरी मुहानमै गएर छोप्ने काम भइरहेको छ । यसको असर हामीलाई मात्रै होइन समग्रमा सबै कम्पनीमा पर्छ ।'
उनको अनुभवमा ग्राहकलाई कसरी सेवा दिने भन्दा पनि कसरी आफ्नोमा तान्ने मात्रै खेल भयो । यसरी ताना तान भएको व्यवसायमा फेयर हुँदैन । उनले थपे, ५ वर्ष अगाडीसम्म कम्पनी हेरिन्थ्यो । कम्पनीले कस्तो सेवा दिइरहेको छ । दाबी भुक्तानीमा कत्तीको सहजिरकण गर्छ भन्ने कुरालाई बढि हेरिन्थ्यो । अहिले त्यस्तो छैन ।
यदि बजारमा फेयर काम हुने हो भने लगभगत सबै कम्पनीको सूचकांक राम्रो आउने उनको दाबी छ । यस्तो भयो भने बीमितहरुले पनि कुन कम्पनीले राम्रो सेवा दिन्छ त्यहि कम्पनीमा काम गर्थे नकी बीमा शुल्कको दर घटाउने अनावश्यक वार्गेनिङ ।
ग्राहकलाई कसरी आफ्नो पक्षमा ल्याउने भन्ने प्रतिस्पर्धाले बजारको विकास हुनै नसक्ने उनि बताउछन् । उनको अनुभवमा यस्तो अवस्था ६/७ वर्ष अगाडीसम्म थिएन । उनि भन्छन् 'अन्य बीमा कम्पनीबाट बीमा गरिरहेका ग्राहकहरुलाई पनि आफ्नो कम्पनीको बारेमा राम्रो सँग बुझाउने र सेवा सुविधाहरुको बारेमा राम्रो सँग जानकारी दिने काम हुन्थ्यो । सेवा सुविधा बुझासके पछि कुनै पनि प्रलोभनमा नपरिकन उनिहरु बीमा गर्न राजी हुन्थे ।'
विशेष गरी कोभिड पछि बीमा व्यवसाय घट्दै गयो । व्यवसायीहरु आर्थिक समस्यामा पर्दै गए । व्यवसायीहरुमा पनि होस बरु अर्को कम्पनीले सस्तोमा बीमा गरिदिएको छ सारिदियौ भन्ने मनस्थिति बनाउन थाले । यसले गर्दा बजार धेरै बिग्रिएको उनि बताउछन् ।
उनको २० वर्षको अनुभवमा शिखर इन्स्योरेन्सले 'यसको चाही हामी बीमा गर्दैनौ' भनेर छाडेका धेरै घटना छन् । जवकी त्यस्तो बीमा अरु कम्पनीले सहजै गरेका थिए । उनि भन्छन् 'शिखरले किन छाड्यो भन्दा, उनिहरुको व्यवहार, व्यावसायिकता, बीमालाई ठग्ने प्रबृत्ती । यो बीमितको नियत यस्तो छ है भन्ने थाहा पाउने वित्तीकै चटक्कै छाडेका छौ ।'
उनले थपे 'यो क्लाइन्टको दाबीमा संका छ है भन्ने लाग्ने वित्तीकै उच्च व्यवस्थापनबाटै सचेत गराइन्छ ।' यसबाट पनि आजका दिनमा शिखरसँग कुन तहको ग्राहक छन् भन्ने कुरा प्रष्ट हुन्छ । आजका दिनमा शिखर सँग संका गर्नु पर्ने ग्राहकहरु एकदमै कम रहेको उनि ठोकुवाका साथ भन्छन् ।
पछिल्लो समय बाढीले पुर्याएको क्षतिमा अरु कम्पनीले दाबी भुक्तानी दिन नसकिरहेको अवस्थामा शिखरले सक्दो छिटो एड्भान्स दियो । कागजी प्रक्रिया पुरा गर्नेलाई फास्ट ट्र्याकमा दाबी भुक्तानी दियो । जवकी त्यस अवधिमा अरु कम्पनीहरुले कागजपत्र पनि संकलन गर्न सकेका थिएनन् । क्षति हुने वित्तीकै एडभान्स पाउनेहरुले 'ए मैले त दाबी पाउने पो रहेछु' भनेर पनि पुरै दाबी पाउनका लागि सक्दो छिटो कागजीप्रकृया जुटाउन हतारिने सन्तोष पाण्डे बताउछन् ।
शिखरको प्रगति सँगै उनको पनि जीवनमा राम्रो प्रगति भएको उनि उनि खुसी छन् । सहायक पदमा प्रवेश गरेका उनको दोस्रो बर्षमै जुनियर अफिसरमा बढुवा भए । जुनियर अफिसर भएको तीन वर्षमै उनले यस्तो राम्रो अवसर पाए कि न्युरोड शाखाको प्रमुख भएर काम गर्ने । जतिवेला उनमा 'मैले शाखा हेर्ने बेला भएको छ र' जस्तो लागेको थियो ।
काम सुरु गरेको चार वर्ष मात्रै भएको थियो । अझै सिक्ने समय छ भन्ने लाग्यो । उनि भन्छन् 'यत्तीकैमा प्रमुख कार्यकारी अधिकृत दिप सरले नै तिमिले काम गर्न सक्छौ भनेर हौसला प्रदान गर्नु भयो ।' शाखा प्रमुखको जिम्मेवारी सम्हाल्न पाण्डे राजी भए ।
उनि जानु भन्दा अगाडी न्युरोडको व्यवसाय तीन करोड थियो । उनि गएकै वर्ष ५ करोडको भयो । यसपछि भने उनमा 'ए सकिदो रहेछ' भन्ने लाग्यो । यस पछि उनि यति दत्त चित्त भएर काम गरे कि तीन जना कर्मचारी रहेको शाखामा २२ जनासम्म कर्मचारीको आवश्यकता पर्यो । काम गरेको दोस्रो वर्षमा साढे २३ करोड व्यवसाय भित्र्याए । उनको कामलाई मूल्याङ्कन गर्दै कम्पनीले सिनियर म्यानेजरमा बढुवा गर्यो । कम्पनीको विकास सँग सँगै उनको पनि सोहि गतिमा विकास भयो । विगत तीन वर्षदेखि उनि बागमती प्रदेश प्रमुखको रुपमा काम गरिरहेका छन् ।
उनले कहिल्यै पनि मेरो प्रमोशन हुन्छ भनेर काम गरेनन् । 'मैले काम गर्ने हो त्यसको मूल्याङ्कन व्यवस्थापनले गर्ने हो' उनले थपे । अर्को तर्फ यस अवधिमा उनले कहिल्यै पनि व्यवस्थापन सँग मलाई यो पद चाहियो त्यो पद चाहियो भनेन् । उनि भन्छन्, मैले काम गरिसके पछि व्यवस्थापनले दिनु पर्ने कुराहरु दिनै पर्छ नि ।
उनको यस प्रगतिमा सबैभन्दा ठुलो योगदान कसैको छ भने त्यो व्यक्ति प्रमुख कार्यकारी अधिकृत पाण्डे नै हुन् । कम्पनीलाई यसरी अगाडी बढाउने हो, यो विजनेसलाई हिट गर्ने हो भनिसके पछि सबैको ध्यान सोहि रणनीतिमा केन्द्रित हुन्छ, उनि भन्छन् 'रणनीति अनुसार हामी कुनै व्यवसाय छाड्नु पर्नेछ भने छाड्न पनि तयार र कुनै व्यवसाय ग्र्याप गर्नु छ भने त्यसलाई ग्र्याप गर्न पनि तयार हुन्छौ ।'
यसरी उच्च व्यवस्थापनको साथ सहयोगकै कारण कम्पनी र आफ्नो काम प्रति एकदमै सन्तुष्ट छन् । उनि शिखरमा नआएको भए अन्यन्त्र कतै न कतै काम गर्थे होला तर शिखरमा जागिर खादै गर्दा उनलाई ठाउँमै जागिर गरिएछ भन्ने लाग्छ ।
पाण्डे कम्पनी र काम प्रति यति धेरै सन्तुष्ट छन् कि यस विगतका वर्षहरुमा धेरै वटा कम्पनीहरुबाट राम्रा राम्रो अफर आउदा पनि उनलाई शिखर छाडेर जाउ जस्तो लागेन । उनि भन्छन् 'जुन कम्पनीमा गए पनि काम गर्नै पर्छ । पफर्मेन्स नदेखाइ कसैले पनि राख्दैन । यहाँ पनि काम गर्नु छ र अन्त गएर पनि कामै गर्ने हो भने यहाँ मलाई धेरै सजिलो छ । सबै विभागमा मेरो समन्वय छ ।'
'हामी मार्केटिङमा काम गर्नेले ग्राहकलाई सबैभन्दा धेरै सन्तुष्टी राख्ने भनेको दाबी भुक्तानीबाट हो । कम्पनीले समयमै दाबी भुक्तानी गरेको छ । यदि म अरु कम्पनीमा गएर काम गर्दै गर्दा दाबी भुक्तानी भएन भने त हामीले कामै गर्न सक्दैनौ नी ।' उनको विश्लेषण छ । यसैले गर्दा उनले बीमामै काम गरुन्जेल शिखरमै काम गर्ने अठोट बनाएका छन् । पाण्डे भन्छन् 'अहिलेसम्म शिखरलाई नम्बर वान/नम्बर वान भन्दै आइरहेको छौं भने आगामी दिनमा पनि अझ राम्रा रणनीति बनाएर 'नम्बर वान' कायम राख्न लागि परिरहन्छौ ।'
'कम्पनीलाई अझै एउटा लेभलमा पुर्याउन पाइयो भने सबैभन्दा धेरै खुसी हामी हुन्छौ । त्यसैले अरु कम्पनीमा जाने भन्ने त सोचाइ पनि आउन छाडिसक्यो ।'
शिखर इन्स्योरेन्स कम्पनी छाडेर अन्य कम्पनीमा जानेको संख्या एकदमै न्युन छ । शिखर छाडेर विदेश जाने वा बीमा क्षेत्रै छाडेर अर्को कुनै क्षेत्रमा जाने कर्मचारी धेरै छन् तर अन्य बीमा कम्पनीमा जाने धेरै कम छन् । यसो हुनुको प्रमुख कारण काम गर्ने वातावरण रहेको उनि बताउछन् ।
'कर्मचारी टिक्दै गर्दा काम गर्ने वातावरणका साथै हामीलाई कम्पनी के गरिदियो भन्ने कुराले सबैभन्दा धेरै अर्थ राख्छ ।' उनले थपे, 'कम्पनीले हामीलाई अध्ययन पुरा गर्नु भन्दा अगाडी तिमि काम गर्न सक्छौ ल आउ काम गर भनेको हो नि त । अरु कम्पनी कसैले पनि म फ्रेस लिएर ग्रुमिङ गर्छु भनेर सोचेका पनि थिएनन् । त्यो कम्पनी त शिखर इन्स्योरेन्स हो नि त ।'
त्यस्तो बेलामा अवसर दिएर जिम्मेवारी दिइसके पछि स्वतः एक किसिमको भावनात्मक बन्धन रहन्छ नै । 'त्यतिवेला कम्पनीले मलाई विश्वास गरेको थियो र अहिले यहाँसम्म आइपुगेको छु ।' पाण्डेले बताए । उनि कुनै पनि कम्पनीबाट अफर आउने वित्तीकै धेरै पक्षबाट मूल्याङ्कन गरिहाल्छन् । 'होला कम्पनी छाड्दा २०/३० हजार नै बढि तलब पाइएला । तर त्यो पैसाको लोभमा कम्पनी छाड्दा त्याहाँ काम गर्ने वातावरण नै पाइएन भने के गर्ने ?' त्यसमा पनि शिखरबाट छाडेर अन्यन्त्र कम्पनीमा गएका साथिहरुको प्रतिक्रिया बुझेर पनि अन्यन्त्र कम्पनीमा जाने सोचत बनाउदैनन् ।
अन्य बीमा कम्पनीहरुले बढि तलब दिएर लैजाने वित्तीकै ति कम्पनीले छिट्टै प्रतिफल खोजिहाल्छन् । यसले गर्दा उनि शिखरले क्रमिक रुपमा बढाएको तलब र समय समयमा दिएको बढुवामै सबैभन्दा धेरै खुसी छन् ।
कम्पनीले हरेक व्यक्तिको काम तथा पर्फरमेन्सलाई मूल्याङ्कन गर्ने गरेको छ । कम्पनीले सुरुवातिदिन देखिनै 'काम तिमिले गर्ने हो त्यस पछि मात्रै व्यवस्थापनले मूल्याङ्कन गर्छ' भन्दै गरेका प्रतिवद्धता प्रति पाण्डे सबैभन्दा धेरै विश्वस्थ छन् ।
बीमा क्षेत्रमै काम गरेर उनले आफ्नो संयुक्त परिवारलाई राम्रो सँग चलाइरहेका छन् । एक छोरी र एक छोराका पिता पाण्डेले शिखरमा दुखद भन्दा धेरै सुखद पल विताए । कम्पनीले २० वर्ष पार गर्दा उनले १६ वर्ष न्युरोडबाटै विताए । यस अवधिमा उनले कामलाई धेरै इन्जोय गरे ।
कामलाई कहिल्यै पनि तनावका रुपमा लिएनन् । उनि भन्छन् 'सबैभन्दा ठुलो कुरा हामीले धेरै राम्रो अभिभावक पायौं ।' 'दिप सरलाई प्रशंसा गर्न खोजेको होइन, उहाँको गाइड गर्ने तरिका नै बेग्लै छ । हामी पुरानालाई होस किन अहिले आइरहेका नयाँलाई नै किन नहोस् उहाँले गाइड गर्ने तरिका आफ्नै किसिमको छ ।'
सिद्धि गणेश स्कुलबाट एसएलसी, शंकरदेवबाट आइकम, बिबिएस सरस्वती क्याम्पस र शंकरदेवबाटै स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले काममा तनाव भन्दा धेरै मोटिभेट धेरै पाए । यसले गर्दा कम्पनीले उनलाई विस्तारै जिम्मेवारी पनि थप्दै गइरहेको छ ।
शिखर इन्स्योरेन्समा प्राप्त अवसर, नेतृत्वद्वारा दिइएको विश्वास र कम्पनी संस्कारकै कारण उनले सफल यात्रा तय गरेका छन्। प्रतिस्पर्धाको बजारमा पनि संस्थागत इमानदारी, ग्राहक सन्तुष्टि र दीर्घकालीन दृष्टिकोणबाट व्यवसाय गर्नु नै सफलताको मूल सूत्र हो भन्ने सन्देश पाण्डेको जीवनबाट प्रष्ट हुन्छ।
प्रतिक्रिया