Nepal Life

निर्जीवन बीमा व्यवसाय ७.१० प्रतिशतले बृद्धि, शिखरको सर्वाधिक धेरै हुँदा दोस्रोमा सगरमाथा लुम्बिनीले पछ्याउदै

RBB
  • BFIS News
  • 2025 May Sun 15:29
निर्जीवन बीमा व्यवसाय ७.१० प्रतिशतले बृद्धि, शिखरको सर्वाधिक धेरै हुँदा दोस्रोमा सगरमाथा लुम्बिनीले पछ्याउदै
Shikhar detail

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७.१० प्रतिशतले बृद्धि भएको छ। कम्पनीले समिक्षा अवधिमा ३२ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले गएको आर्थिक वर्षको यहि अवधिमा २९ अर्ब ९९ करोड रुपैयाँ आर्जन गरेका थिए। 

NIMB

निर्जीवन बीमालेखको संख्या भने २१ लाख ३५ हजार २३३ वटा रहेको छ । जबकि, गत आवको चैत मसान्तसम्ममा भने यस्तो बीमालेखको संख्या २१ लाख ९३ हजार ५४७ वटा रहेको थियो ।

हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूमध्ये ११ कम्पनीको व्यापारमा वृद्धि भएको देखिएको छ । तर, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड र प्रभु महालक्ष्मी इन्स्योरेन्सको व्यापारमा भने गिरावट आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राष्ट्रिय बीमा कम्पनीको व्यापार १३.३३ प्रतिशतले घट्दै १ अर्ब १३ करोड २६ लाख रुपैयाँमा झरेको छ । त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार ६.२४ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँमा पुगेको छ भने प्रभु महालक्ष्मीको व्यापार १.३१ प्रतिशतले घट्दै १ अर्ब ३० करोड ९४ लाख रुपैयाँमा कायम भएको छ ।

तीन कम्पनीको प्रतिस्पर्धा

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्स अग्रस्थानमा उभिएको छ । बीमा समितिका अनुसार समीक्षावधिमा कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । नौ महिनाको अवधिमा शिखरले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यसरी कम्पनीको वार्षिक वृद्धिदर २.८४ प्रतिशत रहेको छ ।

यसबीच, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच कडा प्रतिस्पर्धा देखिएको छ । सलिकोले समीक्षावधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थले ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ संकलन गरेको छ । मासिक कारोबारको आधारमा यी दुई कम्पनीबीच उछिनमछिनको अवस्था देखिन्छ । गत वर्षको तुलनामा सलिकोको व्यापार ५.८४ प्रतिशत र सिद्धार्थको ७.४५ प्रतिशतले वृद्धि भएको छ ।

व्यवसाय वृद्धि दरमा ओरियण्टलसहित तीन कम्पनी अगाडि

व्यवसाय वृद्धि दरका आधारमा ओरियण्टल इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । समीक्षावधिमा कम्पनीले ४१.९१ प्रतिशतले व्यापार वृद्धि गर्दै २ अर्ब १५ करोड ४६ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ३६.०९ प्रतिशतको वृद्धिसँगै १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँको कारोबार गरेको छ । तेस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सले १६.४१ प्रतिशतले व्यापार वृद्धि गर्दै २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ ।

यीबाहेक अन्य कम्पनीहरूको व्यापार वृद्धि दर एकल अंकमा सीमित छ । चौंथो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९.२८ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सानिमा जिआइसीको व्यापार ७.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५८ प्रतिशत, नेको इन्स्योरेन्सको ३.२५ प्रतिशत र नेशनल इन्स्योरेन्सको ०.६२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया