उद्यमशीलता, नवप्रवर्तन र लघु उद्यम सशक्तिकरणबारे “नीति तथा बजेट संवाद कार्यक्रम” सम्पन्न
- BFIS News
- 2025 May Wed 21:38

काठमाडौं। उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यम सशक्तिकरणका विषयमा नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा “नीति तथा बजेट संवाद कार्यक्रम” सम्पन्न भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उद्यमशीलताका बहुआयामिक सवालमा गहन संवाद तथा अन्तरक्रिया भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले जलविद्युत, कृषि लगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै सरकारले ती क्षेत्रमा थप लगानी गर्नुपर्ने धारणा राखे।
त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले अर्थतन्त्रको दोस्रो तहको सुधार अत्यावश्यक रहेको बताउँदै सार्वजनिक महत्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारको ध्यान जानु पर्नेमा जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले युवा पुस्ताले देशमै सम्भावना खोज्नुपर्ने भन्दै नीति निर्माण तहमा बस्नेले अनुकूल वातावरण बनाउनु पर्ने र शिक्षालाई व्यवसायमुखी बनाउन आवश्यक रहेको बताए।
कार्यक्रमका अर्का वक्ता तथा पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजय बाबु शिवाकोटीले छलफलमा उठेका बिषयवस्तु नेतृत्व तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले नेपालमा उद्योगमैत्री कानुन भए पनि कार्यान्वयनमा कमजोरी रहेको भन्दै अब समग्र राष्ट्रलाई माथि उठाउने सशक्त योजना आवश्यक रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले आर्थिक सुशासनको अभाव र सार्वजनिक निकायप्रति विश्वास नहुनु नै बाधक रहेको औंल्याउँदै गाउँगाउँमा पुगेर उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रञ्जित आचार्यले स्टार्टअपका लागि कर्जा प्रवाह मात्रै पर्याप्त नभई राज्यले यस क्षेत्रलाई हात समातेर अघि बढाउनु पर्ने आवश्यकता औंल्याए।
उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक विकास प्रतिष्ठानका इन्जिनियर उमेश गुप्ताले सरकारले प्रदान गर्दै आएको स्टार्टअप कर्जासम्बन्धी जानकारी दिएका थिए।
कार्यक्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले सरोकारवालाबीच प्रभावकारी संवाद गरी साझा धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
त्यस्तै, उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका विषयलाई निरन्तर उठान गर्दै आगामी दिनमा समेत संवादलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा नवउद्यम क्षेत्रका विज्ञ कविराज जोशी, ट्याक्स अड्भोकेट प्रतिष्ठा भण्डारी, आकाश सुवेदी लगायतले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रममा जेन जेड पुस्ताका प्रतिनिधिदेखि नीति निर्मातासम्मको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया