NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी, बीमितको सुरक्षा र समृद्धिको यात्रामा नयाँ अध्याय: कमलेश अग्रवाल

National Life
  • BFIS News
  • 2025 May 08 22:35
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी, बीमितको सुरक्षा र समृद्धिको यात्रामा नयाँ अध्याय: कमलेश अग्रवाल
Sanima Reliance

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रको शिखरमा उभिएको छ। जीवन बीमाको जगमा स्थापना भएको यो कम्पनी आज उत्कृष्ट कम्पनीको रूपमा स्थापित भइसकेको छ। सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालका अनुसार, यो सफलताको श्रेय कम्पनीका बीमित, लगानीकर्ता, कर्मचारी तथा व्यवस्थापन टोली सबैलाई जान्छ।

Shikhar
NIMB

आज नेपाल लाइफसँग १७ लाखभन्दा धेरै बीमित र १ लाख ८६ हजार लगानीकर्ता आबद्ध छन्। यही विश्वास र सफलताको आधारमा कम्पनीले अब बीमाको दायरालाई अझ फराकिलो बनाउँदै, नयाँ पाटोको सुरुवात गरेको हो। 

२५ वर्षको अवधिमा नेपाल लाइफले २ खर्ब २५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष संकलन गरिसकेको छ। अब आगामी पाँच वर्षभित्र यो कोष ५ खर्ब पुग्ने अग्रवालको प्रक्षेपण छ। यस्तो विशाल कोषको समुचित सदुपयोग, विविधिकरण र सुरक्षित व्यवस्थापनको आवश्यकता महसुस गर्दै कम्पनीले एक विशिष्टिकृत लगानी संस्था स्थापना गरेको हो।

अग्रवाल भन्छन्, “विगतमा जीवन बीमा केवल सुरक्षा केन्द्रित हुन्थ्यो, तर अब बीमा सुरक्षा मात्र नभई दीर्घकालीन प्रतिफल प्राप्त गर्ने प्रभावकारी माध्यम पनि बनिसकेको छ। यही सोचका साथ हामीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका हौं।”

लगानी विविधिकरणमार्फत सन्तुलनको खोजी

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको उद्देश्य केवल लाभ कमाउने मात्र होइन, आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने हो। कृषि, पर्यटन, जलविद्युत, सौर्य ऊर्जा, नविकरणीय ऊर्जा, केवलकार, होटल, रियल इस्टेट जस्ता क्षेत्रहरूमा दीर्घकालीन र सुरक्षित लगानी गर्दै कम्पनीले समृद्धिको जग बसाउने योजना बनाएको छ।

लगानी विविधिकरण, जोखिमको व्यवस्थापन र सुरक्षित प्रतिफल सुनिश्चित गर्न कम्पनीले प्रोफेसनल सेटअप निर्माण गरिरहेको छ। अग्रवाल स्पष्ट पार्छन्, “हामीले कुनै एक क्षेत्रमा निर्भर नरही जोखिम न्यूनीकरणका उपायहरू अपनाउनेछौं। दीर्घकालीन प्रतिफलका लागि दीर्घकालीन सोच र स्थायित्वयुक्त नीति अनिवार्य छ।”

संस्थागत पारदर्शिता र नियमनसँगको समन्वय

अग्रवालको भनाइमा, बीमा क्षेत्रमा अहिले सम्पत्ति र दायित्वबीच असन्तुलन देखिन्छ। दीर्घकालीन दायित्वसँग मेल खाने दीर्घकालीन लगानी बिना यस्तो असन्तुलन समाधान हुन सक्दैन। त्यसका लागि नियामक निकायसँग समन्वयमा रहेर पारदर्शी नीति, नियमित अनुगमन र जोखिम मूल्याङ्कनको स्पष्ट खाका आवश्यक छ।

कम्पनीले क्रेडिट जोखिम, ब्याजदर जोखिम, तरलता जोखिम तथा बजार जोखिमहरूको छुट्टै पहिचान र व्यवस्थापनका लागि विशेष कार्ययोजना अघि बढाउने तयारी गरिरहेको छ।

समृद्ध नेपालको सपना साकार गर्ने यात्रामा एक नयाँ पाइला

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी न केवल बीमित र लगानीकर्ताको हितका लागि आवश्यक थियो, यो समग्र अर्थतन्त्रलाई चलायमान बनाउने एउटा रणनीतिक कदम पनि हो। अग्रवालको विश्वास छ—“हामीले राम्रा प्रोजेक्टहरूमा लगानी गर्न सके, देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिन सक्छौं। प्रत्येक क्षेत्रको प्रतिफल बढाउन लगानी अपरिहार्य छ। यही जिम्मेवारी बोकेर हामी अगाडि बढेका छौं।” नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी—अब केवल बीमा होइन, सुरक्षित भविष्य निर्माणको भरोसायुक्त माध्यम बन्दैछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया