Nepal Life

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा 'इन्भेष्टमेन्ट कम्पनी', लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय

RBB
  • BFIS News
  • 2025 May Sat 09:22
नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा 'इन्भेष्टमेन्ट कम्पनी', लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ को औपचारिक शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाइ र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुसिलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रिय कार्यालय उद्घाटन गरेका हुन्।

NIMB

नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो। बीमा बजारमा २५ वर्ष पूरा गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाइले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन्।

नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनिकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए। “लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,” उनले स्पष्ट पारे।

संघाइले नियामक निकायका नियमहरूअनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे।

उनले लगानी कम्पनीलाई सुझावहरू दिँदै भने 'कम्पनीलाई अन्य कम्पनीहरूभन्दा फरक र विशेष बनाउने दिशामा विशेष ध्यान दिन आवश्यक छ।' संघाइले विश्वास र पारदर्शिता कायम राख्दै व्यावसायिक नेटवर्क विस्तारमा जोड दिनुपर्ने बताए। साथै, सूचना प्रविधिको प्रयोग र तथ्याङ्क विश्लेषणलाई नेतृत्व तहले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। लगानीको ट्र्याक रेकर्ड तयार राख्न अनिवार्य रहेको उल्लेख गर्दै उनले उत्कृष्ट जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। तोकिएका नियम तथा कानुनहरूको पूर्ण अनुपालन गर्नुपर्नेमा उनले जोड दिँदै सशक्त ब्राण्डिङ र अनलाइनमा पनि विशेष ध्यान दिन आग्रह गरे।

नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक शुसिलदेव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन्।

कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे। उनले भने, “गिट्टी कुटेर, पसिना बगाएर वा व्यापार व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बीमा कोषमा जम्मा हुन्छ। त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो।”

उनले एकै ठाउँमा पूँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधिकरण अपरिहार्य भएको बताए। “एउटै ‘बास्केट’मा सबै पैसा राख्दा जोखिम बढ्छ। विभिन्न ‘बास्केट’मार्फत जोखिम न्यूनीकरण गर्नु नै विविधिकरण हो, जुन नेपाल लाइफले आज आत्मसात् गरेको छ,” सुवेदीले उल्लेख गरे।

नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, “यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ। यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ।”

कार्यकारी निर्देशक सुवेदीले बीमा सेवालाई समाजका प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउने दीर्घकालीन लक्ष्य लिनुपर्नेमा जोड दिए। भारतले आगामी २० वर्षमा सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने लक्ष्य लिएको सन्दर्भलाई जोड्दै उनले नेपालले पनि यस्तै सोच्नुपर्ने बताए। यसतर्फ नेपाल लाइफले मार्केट लिडरको हैसियतमा अग्रसर भई नेतृत्व लिनुपर्ने अपेक्षा पनि उनले व्यक्त गरे।

“मार्केट लिडर बन्न सजिलो छैन, तर तपाईंहरूको हरेक कदम अरूका लागि उदाहरण बन्न सक्छ। तपाईंहरूले सुरु गर्नुभएको यो नवीन प्रयासको म उच्च प्रशंसा गर्छु,” सुवेदीले भने।

बीमा कोषको सन्तुलित उपयोग, नवप्रवर्तन र विविधिकृत लगानीको दिशामा नेपाल लाइफले देखाएको सोचले आवश्यक नीतिगत परिमार्जन गर्न बीमा प्राधिकरण सधैं तयार रहेको उल्लेख गर्दै सुवेदीले नयाँ यात्राको सफलताको शुभकामना दिए।

कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पुर्‍याएको बताए।

उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ। कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन्। कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए।

उनले भने, "बीमा अब केवल सुरक्षा मात्रै नभई लगानीको प्रतिफल दिने माध्यम पनि बनेको छ। बीमितलाई दीर्घकालीन उच्च प्रतिफल दिने लक्ष्यसहित हामीले यो कम्पनी खोल्न लागेको हौं।"

नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने, उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ। नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ।

अग्रवालले सुरक्षित तथा विविधिकृत लगानी आजको प्रमुख चुनौती भएको उल्लेख गरे। "जोखिम र आम्दानीबीचको सन्तुलन कायम राख्न यो कम्पनीको भुमिका निर्णायक हुनेछ।" उनले थपे, "प्रोफेसनल सेटअप, नियामक संस्थासँग समन्वय र प्रभावकारी नीति आवश्यक पर्छ।"

लगानी कम्पनीले क्रेडिट जोखिम, ब्याजदर जोखिम, तरलता जोखिम र बजार जोखिमको पहिचान, मूल्याङ्कन र पृथक व्यवस्थापन गर्नेसमेत उनले जानकारी दिए। एकै क्षेत्रमा निर्भरता नराखी आवश्यकताअनुसार जोखिम न्युनिकरणका टुल्सको प्रयोग गर्नुपर्ने उनले बताए।

बीमा क्षेत्रमा देखिएको सम्पत्ति र दायित्वबीचको मिसम्याचको समाधान दीर्घकालीन लगानीबाट मात्र सम्भव हुने भन्दै उनले तरलता सुनिश्चित गर्दै दाबी भुक्तानीमा असर नपर्ने रणनीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

उनले भने, “पारदर्शी प्रणाली, विज्ञको विश्लेषण, नियमित अनुगमन र दीर्घकालीन सोचसहित लगानी कम्पनी सञ्चालन हुनेछ, जसले समग्र अर्थतन्त्र चलायमान बनाउने विश्वास लिएको छ।”

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले प्राष्ट पारेका छन्। पराजुलीका अनुसार यो कदम नेपाल लाइफको संरचनात्मक डिपार्चर हो, जसले कम्पनीको कोर भ्यालु बढाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउनेछ।

“बीमा ऐनले लगानी विविधिकरणलाई नीतिगत रुपमा स्पष्ट पारेपछि हामीले पनि त्यसै अनुसार लगानीको दायरा फराकिलो बनाउँदै लगिरहेका छौं। नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापनाले यो नीतिलाई मूर्तरुप दिन यस्तो कार्यको सुरुवात गरेको हो,” पराजुलीले भने।

उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ। त्यसैले लगानीको गम्भीर व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो।

कोभिडपछिको अवस्थामा बजारमा अवसर र चुनौती एकसाथ आएको सन्दर्भमा नेपाल लाइफले चुनौतीलाई अवसरमा बदल्दै सम्पत्ति वृद्धि गर्ने रणनीति अपनाएको पराजुली बताउँछन्। “जहाँ चुनौती छ, त्यहीँ अवसर पनि हुन्छ। हामीले सम्पत्तिको विस्तारमा ध्यान दिइरहेका छौं,” उनले थपे।

नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए।

साथै, कम्पनीले यस अगाडी नै ‘नेपाल लाइफ क्यापिटल’ समेत स्थापना गरिसकेको छ। यससँगै अब उत्पादनशील क्षेत्रमा पनि व्यवसायिक प्रयोजनका लागि लगानी गरिने उनले बताए छ। सिटी सेन्टर निर्माणको अनुभवलाई आधार बनाएर कम्पनीले अब परम्परागत लगानी सोचबाट अगाडि बढ्दै दीर्घकालीन प्रतिफल प्राप्त हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने योजना बनाएको पराजुलीले बताए।

पराजुलीले बताएअनुसार, लगानीको प्राथमिकता मूलधनको संरक्षण हुनेछ, त्यसपछि मात्र प्रतिफल हेरिनेछ। "हामी हाम्रो लगानीप्रति अत्यन्त गम्भीर छौं," उनले भने, "सही समयमा, सही क्षेत्रमा लगानी गरेर समयमै प्रतिफल सुरक्षित गर्ने हाम्रो उद्देश्य हो।"

पराजुलीले यो कम्पनीको स्थापनालाई नेपाल बीमा प्राधिकरणको महत्वपूर्ण सहयोग र सहकार्यको परिणाम मान्दै भने, “यो संस्थागत कल्पनाको मूर्तरूप हो, जुन आज नेपाल लाइफ मात्र होइन, सम्पूर्ण जीवन बीमा क्षेत्रका लागि पनि एउटा अध्ययनको पाटो बन्नेछ।”

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको नेतृत्व सुवास थापाले गर्नेछन्। उनि सँग यस क्षेत्रको दुई दशकको अनुभव रहेको छ।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको प्राथमिक उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित गर्दै उच्च प्रतिफल प्रदान गर्नु रहेको बताए। “हामी आन्तरिक र बाह्य मूल्याङ्कनका आधारमा विवेकशील ढंगले लगानी गर्नेछौं,” उनले भने।

नायव प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कयालले संसारका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनी स्थापना गरेर बीमा कोषको व्यवस्थापन गर्ने संस्कृति सुरु भएको बताए। “ग्राहककै हितलाई केन्द्रमा राखेर लगानीको कार्य अघि बढाउनेछौं। योजना, कार्यान्वयन र नियमन जस्ता तीन पक्ष सम्हाल्दै हामी विश्वसनीयता कायम राख्नेछौं,” कयालले स्पष्ट पारे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया