Nepal Life

बीमा प्राधिकरणमा नयाँ नेतृत्वको तीन महिना: ११ वटा महत्वपुर्ण उपलब्धी, बीमा क्षेत्र सुदृढीकरणको यात्रामा नयाँ मोड

RBB
  • BFIS News
  • 2025 May Tue 22:46
बीमा प्राधिकरणमा नयाँ नेतृत्वको तीन महिना: ११ वटा महत्वपुर्ण उपलब्धी, बीमा क्षेत्र सुदृढीकरणको यात्रामा नयाँ मोड
Shikhar detail

काठमाडौं, जेठ १३। नेपाल बीमा प्राधिकरणमा नयाँ नेतृत्व आएपछि तीन महिनाको छोटो अवधिमा उल्लेखनीय कामहरूको सुरुवात भएका छन्। ३४ वर्षका कार्यकारी युवा अध्यक्ष शरद ओझा र ५० वर्षका अनुभवी कार्यकारी निर्देशक शुशिलदेव सुवेदीको संयोजनले अहिले प्राधिकरणलाई ऐतिहासिक सुधार गर्ने अवसर दिएको छ।

NIMB

सुवेदीले अवको पाँच वर्षमै अनिवार्य अवकास पाउने छन्। उमेर हद भन्दा पनि कार्यकारी निर्देशकमा ५ वर्ष मात्रै काम गर्न पाउने व्यवस्थाका कारण उनि ५५ वर्षको उमेरमै अवकास पाउने छन्। उता कार्यकारी अध्यक्ष ओझाको कार्यकाल चार वर्षको हुनेछ। त्यसैले, दुवै जना कुनैपनि सुधारात्मक कदमका लागि जोखिम लिन सक्ने अवस्थामा छन्। त्यसमा पनि उनिहरुको करिअरकै सफलता एक अर्काको ट्युनिले मात्रै सम्भव छ। त्यसैले एक अर्कामा नमिल्ने छुट छैन।

उता निर्देशक तहमा ध्रुव तिमल्सिना, कुन्दन सापकोटा, शाम्बराज लामिछानेले पनि कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउने छैनन्। यसले गर्दा उनिहरुले पनि बीमा क्षेत्रका लागि जोखिम लिएर काम गर्न सक्नेछन्। यस किसिमको नेतृत्व, जसले बीमा क्षेत्रका लागि उच्च जोखिम लिन सक्ने अवस्था सिर्जना भएको छ। यदि यही अवधिमा प्रभावकारी सुधार भएन भने बीमा क्षेत्रले पुनः यस्ता अवसर कहिल्यै पनि पाउने छैन।

तीन महिनामा भएका ११ मुख्य कार्यहरुः 

१. एकीकृत निर्देशन प्रणालीको थालनी

बीमकहरूको प्रभावकारी निगरानी गर्न 'एकीकृत निर्देशन' प्रणाली तयार पार्ने काम सुरु गरिएको छ। यसले नियामकीय अनुगमनलाई एकीकृत, दक्ष र समयानुकूल बनाउनेछ, जुन लामो समयदेखि अभावमा रहेको थियो।

२. 'बीमा प्रतिबिम्ब' प्रकाशन

बीमा क्षेत्रका तथ्यांक पारदर्शी बनाउने उद्देश्यले नियमित रुपमा बीमा प्रतिबिम्ब नामक  प्रकाशन सुरु गरिएको छ। यसले बीमा कम्पनीहरूको वित्तीय अवस्था, दाबी भुक्तानी र लगानी विवरणमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ, जसले बीमितहरुको विश्वास अभिवृद्धि गर्न मद्दत गर्नेछ।

३. नेतृत्व विकास तालिम

प्रत्येक शुक्रबार कर्मचारीका लागि तालिम सञ्चालन हुँदै आएको छ, जसले आन्तरिक समन्वयमा सकारात्मक प्रभाव पारेको छ। यस्तो निरन्तर प्रदान गरिने तालिमले संस्थाको कार्यक्षमता बढाउने दीर्घकालीन लक्ष्य लिएको छ।

४. इजलास अभ्यासको थालनी

बीमा सम्बन्धी विवादलाई पारदर्शी र संस्थागत तरिकाले समाधान गर्न 'इजलास' अभ्यास सुरु गर्ने तयारी गरिएको छ। यसले द्रुत र न्यायसंगत विवाद समाधानको अभ्यासलाई बलियो बनाउनेछ।

५. डेडिकेटेड लगानी शाखा स्थापना

बीमकहरूको लगानी नियमन गर्न छुट्टै शाखा स्थापना गरिएको छ, जसले लगानीको सूक्ष्म विश्लेषणमा सहयोग पुर्‍याएको छ। यसले जोखिमयुक्त वा अपारदर्शी लगानी गतिविधिमाथि अंकुश लगाउने छ।

६. विशेष सुपरिवेक्षण अभियान

विशेष गरी नगद फिर्ता जस्ता गलत अभ्यास रोक्न विशिष्ट सुपरिवेक्षण थालिएको छ। यस्तो कदमले बीमा कम्पनीहरूमा अनुशासन कायम राख्न र ग्राहक हित सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

७. मेलमिलाप शाखाको स्थापना

प्राधिकरणमै मेलमिलाप शाखा स्थापना गरिएको छ, जसले बीमा विवाद समाधानमा वैकल्पिक र कम खर्चिलो माध्यम प्रदान गरेको छ। यसले अदालती बोझ कम गर्न पनि सहयोग पुर्‍याउनेछ।

८. वार्षिक बीमा नीति सार्वजनिक हुने तयारी

नीति तथा कार्यक्रम लेखन अन्तिम चरणमा रहेको छ। यसले नीति निर्माणमा पारदर्शिता, पूर्वानुमानयोग्यता, र दीर्घकालीन मार्गचित्र स्पष्ट पार्नेछ।

९. संगठन संरचनामा सुधार प्रतिवेदन

बीमा कम्पनीमा भएका गलत अभ्यास रोक्न नियमन तथा सुपरिवेक्षण प्रणाली बलियो बनाउने संगठन संरचनाको समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने तयारी गरिएको छ। यसले नियामक संरचनालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

१०. सेवाको गतिको तीव्रता

बीमा प्राधिकरणबाट प्रदान गरिने सेवाहरू विगतको तुलनामा छिटो उपलब्ध हुने भएको छ। डिजिटल प्रविधिको प्रयोग र कार्यकुशलता अभिवृद्धिले यसमा टेवा पुर्‍याएको देखिन्छ।

११. पुनर्बीमा निस्सा अनिवार्यता

विदेशी मुद्रा अपचलन रोक्न बीमा कम्पनीले अनिवार्य रुपमा पुनर्बीमा निस्सा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। यसले बीमा कारोबारमा विदेसी मुद्रा प्रवाह नियन्त्रण गर्न सघाउनेछ।

तीन महिनाको छोटो अवधिमा नेपाल बीमा प्राधिकरणको नयाँ नेतृत्वले बीमा क्षेत्र सुधारका ठोस कदम चालिसकेको छ। अझै थुप्रै सुधार अपेक्षित छन्। विशेषतः बीमकहरूको दायित्व पालन, ग्राहक हित सुरक्षा, तथा बीमा विस्तारका क्षेत्रमा हालको नेतृत्वसँग जोखिम मोल्ने इच्छाशक्ति, रणनीतिक सोच, र कार्यगत तत्परता छ, जुन भविष्यको बीमा बजारलाई पारदर्शी, प्रतिस्पर्धी र विश्वासिलो बनाउने दिशातर्फ अगाडि बढ्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यदि यहि लयमा सुधारको गतिशीलता कायम रहन सक्यो भने, बीमा क्षेत्रको सुदृढीकरण मात्र नभएर, नेपालको अर्थतन्त्रमै दीर्घकालीन योगदान पुर्‍याउने अवस्था सिर्जना हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया