Nepal Life

नेपाल लाइफकी गिता कार्की टिम व्यवसायमा पनि अब्बल, एक करोड पुर्याउन सफल

RBB
  • BFIS News
  • 2025 May Fri 19:08
नेपाल लाइफकी गिता कार्की टिम व्यवसायमा पनि अब्बल, एक करोड पुर्याउन सफल
Shikhar detail

काठमाडौं, जेठ १६ । जीवन बीमा क्षेत्रमै तन, मन र समर्पणका साथ क्रियाशील नेपाली लाइफ इन्स्योरेन्सकी वरिष्ठ एजेन्सी म्यानेजर गिता कार्की काफ्लेले चालु आर्थिक वर्ष २०८१/८२ मा टिम व्यवसायतर्फ एक करोड रुपैयाँको व्यवसाय जुटाउन सफल भएकी छिन्। यससँगै उनी नेपाल लाइफको टिम बिजनेसमा एक करोड पुर्‍याउने सिन्धुली शाखाकै पहिलो एजेन्सी बन्न सफल भएकी हुन्।

NIMB

सर्लाही स्थायी घर भई हाल सिन्धुलीलाई कर्मथलो बनाएकी गिता कार्कीको जीवन बीमा क्षेत्रमा यात्रा प्रेरणादायक मात्र नभई संघर्षशील समेत छ। एक समय आधुनिक कृषि प्रणालीमार्फत आत्मनिर्भर बन्ने सपना बोकेर डेढ बिगाहा जग्गामा केरा खेती थालेकी उनले धोखाधडीमा परेपछि भोगेको आर्थिक संकटले उनलाई जीवन बीमा क्षेत्रतर्फ मोडेको हो। बैंकबाट लिएको १५ लाख कर्जा, त्यसमा भएको ब्याज, परिवारको जिम्मेवारी, मानसिक तनाव, यी सबैलाई उनले नेपाल लाइफको अभिकर्ता पेसा मार्फत पार गर्दै विगत ५ वर्षदेखि लगातार एमडिआरटी तथा नेपाल लाइफका हरेक टार्गेटलाई पुरा गर्दै आएकी छिन्।

गिता कार्कीले नेपाल लाइफबाट सन् २०२६ का लागि एमडिआरटी क्वालिफायर्ड बन्न सफल भइकेकी छिन्। उनले लगातार ६ वर्षदेखि यो अन्तर्राष्ट्रियस्तरको मान्यता पाउँदै आएकी छिन्। संघर्षको कठिन समयमा नेपाल लाइफले दिएको साथलाई कहिल्यै नबिर्सने बताउने कार्कीले आफ्नो हातमा नेपाल लाइफको लोगो ट्याटु खोपाएकी छन्। उनी भन्छिन्, "मर्दा पनि नेपाल लाइफ सँगै जाओस् भन्ने भावना हो यो।"

बीमाबाटै आत्मनिर्भरता

सुरुमा एशियन लाइफमा कार्यालय सहयोगी बन्ने धोको बोकेर जागिर खोज्दै गर्दा चिनजानको दाइले उनलाई नेपाल लाइफको अभिकर्ता बनाइदिएका थिए। बीमाको आधारभूत ज्ञान नभएको अवस्थाबाट सुरु गरेकी गिताले नेपाल लाइफको तालिमपछि यो पेशा कति सम्मानित, सम्भावनायुक्त र दिगो हो भन्ने बुझिन्। कर तिरेर घर, गाडी जोड्न सकिने पेशाको रुपमा उनले यसलाई लिएकी छिन्।

सिन्धुलीको सहकारीमा काम गर्दा बनाएको सामाजिक सञ्जाललाई पूँजी बनाएर उनले बीमा प्रस्ताव गर्न सुरु गरिन्। सुरुमा साना बीमाङ्कका पोलिसीबाट काम थालेकी उनले हालसम्म करिब ७ सयभन्दा बढीलाई जीवन बीमा गराइसकेकी छन्। अहिले उनको अधिकांश बीमा पोलिसी ५ लाखदेखि २० लाख रुपैयाँ सम्मको हुने गरेको छ।

ग्रामीण क्षेत्रमै बसेर उत्कृष्टता हासिल

कार्की बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म फिल्डमै खटिन्छिन्। घरको काम, छोरीलाई समय दिँदै पनि अभिकर्ता पेशालाई पूर्ण समय दिने उनी साना साना पोलिसीलाई समेत उत्तिकै महत्व दिन्छिन्। उनी भन्छिन्, “अहिलेको आर्थिक संकटमा ठूला बीमितहरू मात्र प्रभावित छन्, म साना बीमा गर्ने भएकाले खासै असर परेको छैन।”

उनको ५० प्रतिशत व्यवसाय चिनजान र सञ्जालबाट आउँछ भने बाँकी अपरिचित व्यक्तिहरुबाट। सामाजिक सञ्जालको सदुपयोग गर्दै सयौं पोलिसी बिक्री गरेकी गिता कार्की अहिले बीमाको सबै पक्ष राम्रोसँग बुझाएर मात्र ग्राहक बनाउने बीमा अभिकर्ता बन्न सफल भएकी छन्।

शुरुआती चुनौती र आत्मविश्वासको पुनर्निर्माण

सुरुका दिनमा उनलाई “कमिशनका लागि मात्र काम गरिरहेकी छे” भन्ने आरोप लगाइन्थ्यो। पहिलो ६ महिनामा एजेन्सी म्यानेजर बनेपछि पनि धेरैले आलोचना गरे। केही समय त उनले बीमा पेशा नै छोड्ने निर्णयमा पुगिन्। तर बीमा नगरेका व्यक्तिहरूले पछि सम्पर्क गरी "तपाईंको कुरा नसुनेकोमा गल्ती भयो" भन्दै बोलाउन थालेपछि उनले आत्मविश्वास प्राप्त गरिन् र पेसालाई निरन्तरता दिइन्।

उपलब्धिको पछाडिको आधार

गिता कार्कीको यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, ग्रामीण क्षेत्रमा बसेर जीवन बीमाको महत्व बुझाउने मिसन पनि हो। उनी जीवन बीमा क्षेत्रका लागि उदाहरणीय प्रेरणास्रोत बनेकी छन्। टिम व्यवसायमा एक करोड पुर्‍याउनु मात्र होइन, जीवनको हरेक संघर्षलाई अवसरमा बदल्ने क्षमता उनका मूल परिचय हुन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीजस्तो विश्वासिलो र प्रतिष्ठित जीवन बीमा कम्पनीमा उनीजस्ता समर्पित अभिकर्ताहरूको योगदानले बीमा व्यवसाय मात्र होइन, हजारौं परिवारको भविष्य सुरक्षित बनिरहेको छ। गिता कार्कीको कथा संघर्ष, साहस र सफलताको जीवन्त दस्तावेज हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया