Nepal Life

सर्वसाधारणसँग उठाएको प्रिमियमबाट लाभांश वितरण गर्न किन दिने ? प्रिमियमलाई लकिङ गर्न विज्ञको सुझाव

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 14:26
सर्वसाधारणसँग उठाएको प्रिमियमबाट लाभांश वितरण गर्न किन दिने ? प्रिमियमलाई लकिङ गर्न विज्ञको सुझाव
Sanima Reliance

काठमाडौं । प्राथमिक बजारमा प्रिमियम सहित आइपिओ निष्काशन गर्ने अभ्यास स्थापित भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा चार बीमा कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न अनुमति दिए सँगै जलविद्युत, उत्पादन तथा प्रशोधनमुलक कम्पनी लगायतले प्रिमियममा शेयर जारी गर्ने र सर्वसाधारण सँग मोटो रकम लिने परम्परा नै बनेको छ । नेपाल राष्ट्र बैंकले तीन सय भन्दा धेरै नेटवर्थ भएका बैंक वित्तीय संस्थालाई समेत प्रिमियममा शेयर जारी गर्न रोक लगाउदै गर्दा कमजोर धरातल र राम्रो भविष्य समेत नभएका कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न दिने र संस्थापक शेयरधनीलाई पोस्ने क्रम बढेको हो ।

NIMB

उत्पादन तथा प्रशोधन मुलक कम्पनीलाई शेयर बजारमा आकर्षित गर्न प्रिमियममा शेयर जारी गर्न दिनु केहि हदसम्म जायज भए पनि बाध्यात्मक रुपमा आइपिओ निष्काशन गर्नै पर्ने कम्पनीलाई पनि प्रिमियममा शेयर जारी गर्न दिएर नेपाल धितोपत्र बोर्डले गलत अभ्यासको सुरुवात गरेको बजार विश्लेषक बलराम रिमाल बताउछन् ।

धितोपत्र बोर्डको नियममा कुनै खोट नभए पनि कम्पनीहरुको नियत हेर्दा यसले अर्कै रुप धारण गरेको अर्का बजार विश्लेषक छोटेलाल रौनियार बताउछन् । धितोपत्र बोर्डले उत्पादनमुलक कम्पनीलाई प्रोत्साहन गर्न प्रिमियममा शेयर जारी गर्न दिनु गलत नभएको उनि बताउछन् । तर जस्ता सुकै कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न दिनु आम लगानीकर्ताको हितमा छैन ।

कम्पनीहरुको नियतमै खरावी देखिएकाले यसरी आर्जन हुने प्रिमियम रकमलाई तत्काल वितरण गर्न दिन नहुने चार्टर्ड एकाउण्टेडहरुको सुझाव छ । एक चार्टर्ड एकाउण्टेन्टले नाम नखुलाउने सर्तमा भने ‘अहिले जति पनि प्रिमियममा आइपिओ निष्काशन गरेका कम्पनी छन् तिनिहरुलाई प्रिमियमबाट बोनस शेयर तथा नगद लाभांश वितरण गर्न दिनु हुँदैन ।’ उनले थपे यसरी कम्पनीहरुलाई प्रिमियमबाट लाभाश वितरण गर्न छुट दिने हो भने जो सुकैले भोलिका दिनमा आइपिओ निष्काशन गर्ने प्रिमियमबाट लाभांश प्राप्त गर्ने अनि बजारबाट बाहिरिने सम्भावना धेरै हुन्छ ।

उनका अनुसार यसरी सर्वसाधारणबाट प्राप्त हुने प्रिमियमलाई छुट्टै जगेडाकोषको व्यवस्था गरि लक गरेर राख्नु पर्छ । बरु यस्तो कोषबाट प्राप्त हुने आम्दानीलाई लाभांशका रुपमा वितरण गर्न छुट दिनु पर्ने उनको तर्क छ । हिजोका दिनमा नियम अनुसार आइपिओ निष्काशन नगर्ने अनि अहिले आएर प्रिमियममा शेयर जारी गरेर बोनस शेयर वितरण गर्दै आफ्नै पोर्टफेलियो बढाउने काम भयो । लगानीकर्ताहरुका लागि पनि यसले ठुलो प्रभाव पार्ने उनको भनाइ छ ।

चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै हुँदा राम्रो मानिन्छ । नेपालकै युनिलिभरले कहिले पनि बोनस शेयर दिदैन । यसको चुक्ता पूँजी भन्दा कयौ गुणा जगेडा कोष रहेको छ । यदि राम्रो जगेडा कोष राम्रो भयो भने कहिले पनि कम्पनीले आफ्नो प्रतिफललाई घटाउनु पर्दैन । नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरणले पनि जगेडा कोषलाई चुक्ता पूँजी सरहको मान्यता दिने हो भने यस्तो समस्या धेरै हदसम्म निराकरण हुने विज्ञहरु बताउछन् ।

यदि चुक्ता पूँजी बढायो भने यसले हरेक वर्ष प्रतिफलको अपेक्षा गर्छ । कम्पनीहरुका लागि चुक्ता पूँजी ठुलो दायित्व हो । पूँजीको दायित्व लाभांश मार्फत परिपुर्ती गर्नु पर्छ । तर जगेडा कोषले कहिले पनि प्रतिफलको अपेक्षा गर्दैन । कम्पनीहरुलाई अनावश्यक दवाव पनि सिर्जना हुँदैन । बरु यसले हरेक वर्ष प्रतिफल सिर्जना गर्न मद्दत गर्छ । नेपाल जस्तो मुलुकमा जगेडामा रहेको कोषलाई बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमै जम्मा गरेर राम्रो प्रतिफल दिन सकिन्छ ।

जनता सँग उठाएको पैसाबाट केहि वर्ष राम्रो प्रतिफल त्यस पछि हाता लाग्यो शुन्य

प्रिमियममा आइपिओ, एफपिओ तथा बोलकबोल मार्फत आर्जन भएको रकमलाई तत्काल प्रतिफल दिदै गर्दा यो एकदमै अल्पकालिन हुन्छ । जवसम्म कम्पनी आफैले पैसा कमाएर प्रतिफल दिदैन उसको प्रतिफलमा सुनिश्चितता हुँदैन ।

कुनै समयमा नेपाल लाइफले प्रिमियममा एफपिओ जारी गरेर ४ अर्ब १० करोड रुपैयाँ आर्जन गर्यो । यहि यहि रकमबाट कम्पनीले लामोसमयसम्म सर्वाधिक राम्रो लाभांश दियो । तर पछिल्लो समयमा कम्पनीले पहिलाको जति लाभांश दिनै सक्दैन । हिजोका दिनमा कम्पनीका सञ्चालकहरुले आफ्नो राम्रो प्रस्तुती दिन आकर्षक लाभांश दिए । तर अहिलेका सञ्चालक तथा उच्च व्यवस्थापन धेरै नै दवावमा छ । यहि अवस्था नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स कम्पनी लगायतमा पनि छ । प्रतिफलमा सुनिश्चिता र निरन्तरताले नै कम्पनीलाई स्थायी बनाउछ ।

यदि बीमा प्राधिकरणले बीमा कम्पनीलाई प्रिमियमबाट उठाएको रकमबाट लाभांश वितरण गर्न दिने हो भने यस्तो अवस्था भोलिका दिनमा आउन सक्छ । त्यसैले जनता सँग उठाएको प्रिमियमबाट लाभांश दिनु भन्दा त्यसलाई जगेडा कोषमा जम्मा गरेर त्यसबाट आर्जन भएको प्रतिफलबाट लाभांश दिने हो भने कम्पनीको जगेडा कोष पनि बलियो हुन्छ तर लाभांश दिन सक्ने क्षमता सधै नै राम्रो देखिन्छ ।

अहिले निश्चित प्रतिशत लाभांश दिएर केहि समयका लागि बजारमा सुधार देखिएला तर अर्को वर्ष त्यो कम्पनीको शेयर मूल्य सबैभन्दा तल्लो विन्दुमा रहन्छ ।

हामी बीमा कम्पनीहरुको बीमितलाई दिने बोनसदरमा सुनिश्चितता खोजिरहेका छौ । यसले गर्दा फ्युचर बोनस प्रोभिजनिङको व्यवस्थालाई कार्यान्वयनमा ल्याएका छौ । शेयरधनीहरुलाई पनि सुरक्षित गर्ने हो भने लाभांशमा सुनिश्चिता गर्ने वातावरण बनाउनु पर्छ । एक दुई वर्ष आकर्षक लाभांश दिने त्यसैको आडमा कम्पनीको शेयर मूल्यलाई आकाशमा पुर्याउने अनि लाभांश वितरण पछि दोस्रो बजारको लगानीकर्तालाई नै पेनिक बनाउने गरी तल झार्ने । यो अभ्यास पक्कै पनि दोस्रो बजारका लगानीकर्ताको हितमा छैन । यसरी कम्पनीलाई लाभांश वितरण गर्न रोक लगाउने वा प्रिमियम रकमलाई वितरण नै गर्न नदिने व्यवस्था पनि जायज नहुने बजार विश्लेषक रौनियार बताउछन् । बरु प्रिमियम रकमलाई निश्चित अवधिसम्म लक गर्ने वा सबै रकम एकै पटक लाभांशको रुपमा वितरण गर्न नपाउने व्यवस्था गरिनु पर्ने विश्लेषकरुको तर्क छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया