प्रभु महालक्ष्मीको पेप्सिकोला शाखा दुई वर्ष लगातार नेपाल प्रथम, शाखा प्रमुख आचार्यले भित्र्याए ५ करोड ६० लाखको बीमा
- BFIS News
- 2025 Jul Wed 20:23

काठमाडौँ, साउन १४ – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको पेप्सिकोला शाखाले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय सफलता हात पारेको छ। शाखा प्रमुख रूपक आचार्यको नेतृत्वमा उक्त शाखाले व्यवसायिक सूचकांकका आधारमा कम्पनीको तर्फबाट नेपालभरकै शाखामध्ये दोस्रो वर्ष पनि ‘नेपाल प्रथम’ बन्न सफल भएको हो।
यस अवसरमा शाखा प्रमुख आचार्यले सफलताको प्रमुख श्रेय आफ्ना सहकर्मी साथीहरू, प्रदेश प्रमुख, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र व्यवस्थापन समूह, साथै दिनरात नभनी बजारमा खटिने सम्पूर्ण एजेन्सी लिडर्सहरूलाई समर्पित गर्दै हार्दिक धन्यवाद प्रकट गरेका छन्। उनले भने, “यो सफलता व्यक्तिगत नभई सामूहिक मेहनतको परिणाम हो। शाखा सफल हुनुको अर्थ हाम्रा एजेन्सी लिडर्सहरू र सहकर्मीहरूको सफलताको प्रतीक हो।”
पेप्सिकोला शाखाले आर्थिक वर्ष २०८१/८२ मा निम्न उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। यस शाखाले गत आर्थिक वर्षमा ५ करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। शाखाले गत वर्ष ३८१ वटा पोलिसी जारी गर्न सफल भएको थियो। यो व्यवसाय अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १५० प्रतिशतले बृद्धि भएको हो। यस वर्ष शाखाले ५ जना एमडीआरटी (MDRT) उत्पादन गरेको छ भने १८ जना क्लब अचिभर छन्।
यी सबै उपलब्धिहरू शाखाको इतिहासमै पहिलोपटक हासिल भएका उल्लेखनीय कीर्तिमान हुन्। आचार्यले आगामी वर्ष पनि यस्तै उपलब्धिका लागि अझ सशक्त सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
यसैबीच, प्रभु महालक्ष्मी लाइफले साउन १० देखि १४ गतेसम्म चितवनको नारायणगढमा एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा देशभरका ११५ शाखाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो भने केन्द्रीय कार्यालयका व्यवस्थापन समूहले पनि सक्रिय उपस्थिति जनाएका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सम्बोधनको क्रममा प्रसाईले सम्पूर्ण शाखा प्रमुखहरू, कर्मचारीहरू, अभिकर्ता, संचालक समिति तथा बीमित वर्गलाई धन्यवाद दिँदै, अघिल्लो आर्थिक वर्षमा कम्पनीले बीमा बजारमा देखाएको प्रभुत्व सबैको सामूहिक प्रयासको परिणाम भएको बताए। साथै, आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक लक्ष्य र त्यसलाई हासिल गर्ने रणनीति प्रस्तुत गर्दै सोही अनुसार अगाडि बढ्न निर्देशन दिएका थिए।
कन्फरेन्समा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई विभिन्न विधामा अवार्ड र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने नायब महाप्रबन्धक सोनबहादुर मगरले नयाँ वर्षको व्यवसायिक रणनीति प्रस्तुत गरेका थिए।
कार्यक्रममा एनएलपी कोच मिन घलेले जीवन बीमा व्यवसायमा देखिने चुनौतीहरू र समाधानका उपायहरूका विषयमा व्यवहारिक तालिम दिएका थिए। साथै, कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर तथा चर्चित कलाकार मनोज गजुरेलले मनोरञ्जनात्मक प्रस्तुति दिँदा माहोल झनै उत्साहजनक बनेको थियो।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय नेपाली बीमा बजारमा सबैभन्दा आक्रामक र प्रभावशाली उपस्थितिका रूपमा देखिएको छ। पेप्सिकोला शाखाको लगातार दोस्रो वर्षको सर्वोत्कृष्ट उपलब्धिले कम्पनीको राष्ट्रियस्तरको व्यवसायिक अग्रता झल्काएको छ। कम्पनीले शाखा प्रमुख आचार्यलाई भव्य कार्यक्रमका विचमा सम्मान गरेको छ।
प्रतिक्रिया