United Ajod

सकारात्मक सूचकहरूको घेरामा शेयर बजारको ओरालो यात्रा: के छ कारण? तरलता प्रशस्त, ब्याजदर न्यून

  • अरुण सापकोटा
  • 2025 Aug Sat 05:26
सकारात्मक सूचकहरूको घेरामा शेयर बजारको ओरालो यात्रा: के छ कारण? तरलता प्रशस्त, ब्याजदर न्यून

काठमाडौं, भदौ ६ गते। शेयर बजारलाई प्रभावित पार्ने सम्पुर्ण सूचकहरु सकारात्मक हुँदा हुँदै पनि सुधार हुन सकिरहेको छैन। यहि साउन भदौमा शेयर बजारले यस अगाडी अधिकतम विन्दुलाई ब्रेक गर्ने अपेक्षा गरिएको थियो। तर लगानीकर्ताले अनुमान गरेको भन्दा उल्टो देखियो। जसले नेप्से सूचक तीन हजारको पेरिफेरिमा बिक्री गर्न भ्याएका लगानीकर्ताले पनि सानो करेक्सनमै पुनः प्रवेश गरिसकेका छन्। रोचक पक्ष जसले नाफा बुक गरेका थिए उनिहरुले पनि यहि लगानी थपिरहेका थिए।

बजार एक्कासी करेक्सन हुँदा केहि समय ब्रोकर कार्यालयहरुलाई नै हिसाव मिलाउन हम्मे हम्मे पर्यो। यसरी एकाएक बजार घट्दा ब्रोकर मात्रै होइन नियमित लगानीकर्ता सबैले ठुलो नोक्सानी बेहोर्नु पर्यो। जवकी पछिल्लो समय नेपालको आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरू देखापरिरहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामै वैदेशिक मुद्राको सञ्चिती ३० अर्ब अमेरिकी डलर हाराहारी पुग्ने अवस्था रहेको छ। कुनै समयमा बैदेशिक मुद्राको सञ्चिति कम रहेको भन्दै आयातमै कडाइ गरिएको थियो। यो सबै वैदेशिक रोजगारमा गएका नेपालीले स्वेदशमा पठाएको रेमिट्यान्सकै कारणले गर्दा हो। रेमिट्यान्स अझ धेरै बढ्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका वित्तीय सूचकहरुले बैंकिङ प्रणालीमा समेत स्थायित्वको संकेत दिइरहेको छ। राष्ट्र बैंकले लघुवित्तका क्याप खोल्ने चर्चा छ। यदि १५ प्रतिशतको क्याप खुल्यो भने यस क्षेत्रमा राम्रो बृद्धि हुने अपेक्षा गरिएको छ। केहि वर्ष अगाडी लघुवित्तले जुन किसिमको समस्या भोग्नु परेको थियो ति सबै समस्यालाई पार गर्दै सुधारको लय पक्रिसकेका छन्। ५२ लघुवित्त मध्ये ४५ वटा लाभाश दिन सक्ने अवस्थामा छन्।

बैंकको ब्याजदर इतिहासमै सायद सबैभन्दा न्यून तहमा पुगेको छ। संस्थागत निक्षेपकर्ताको रकम लिन बैंकहरू खासै इच्छुक देखिँदैनन्। बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूले निक्षेपको प्रस्ताव राख्दा समेत बैंकहरूले अस्वीकार गरिरहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाडे बताउछन्। उनका अनुसार हिजोका दिनमा बैंकहरु निक्षेप चाहियो भन्दै बीमा कम्पनीमा धाउने गरेकोमा आजका दिनमा बीमा कम्पनीहरु बैंकहरुमा मेरो निक्षेप राखिदिनु पर्यो भन्दै जानु पर्ने अवस्था आएको छ। पाण्डेका अनुसार बैंकहरूको रणनीति निक्षेप कम लिएर कर्जा विस्तार गर्नुमा केन्द्रित छ।

यता बजारमा तरलता प्रशस्त हुँदा हुँदै पनि शेयर बजार भने आशातित रुपमा बढ्न सकिरहेको छैन। केहि क्षण बढिहाल्यो भने पनि करेक्सन सुरु भइहाल्छ र सुधार टिक्नै सक्दैन। अहिले बीमा कम्पनीदेखि लिएर इन्भेष्टमेन्ट कम्पनीका लागि लगानी गर्ने उपयुक्त गन्तव्य अभावजस्तै देखिएको छ।

पछिल्ला दिनहरूमा आर्थिक सूचकहरूमा सुधार देखिन थालेको छ। आर्थिक बृद्धिद बढ्दो क्रममा छ। बैंकमा ७२ अर्ब ३७ करोड भन्दा माथिको निक्षेप छ भने कर्जा परिचालन ५५ अर्ब ८८ करोड मात्रै छ। सिडि रेसियो ७६.२३ प्रतिशतमा झरेको छ। यसरी बैंकहरुसँग अर्बौको तरलता छ।

गभर्नरको नीतिमा लचिलोपन

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले सबै क्षेत्रमा कडाइ गरेका थिए भने हालका गभर्नर डा. विश्व पौडेलले बजारलाई सहज बनाउने उपायहरू लागू गर्दै आएका छन्। शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोडसम्म पुर्याइएको छ। साना लगानीकर्ताका लागि समेत राहत हुने गरी विभिन्न नीति ल्याइएको छ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई साधारणसभा चाँडै गर्न र लाभांश वितरण छिटो गर्न निर्देशन दिइरहेका छन्। यसबाट बजारमा तरलता थप बढ्ने र लगानीकर्ताको क्रयशक्ति समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

राजस्व संकलन र बजार स्थायित्व

राजस्व संकलनमा समेत सुधार देखिएको छ। चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिनामै ९६ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ, जुन गत वर्षको तुलनामा उच्च हो।

राजनीतिक स्थायित्व कायम रहेको छ। दुई ठूला दलको सरकार रहेको र निकट भविष्यमा सरकार परिवर्तनको सम्भावना नरहेको हुँदा दीर्घकालीन नीतिगत स्थायित्वको आशा गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको लाभांश क्षमतामा सुधार

२०७४ सालपछि बैंकका शेयरधनीले २० प्रतिशत लाभांशको अपेक्षा गर्न सक्ने अवस्था थिएन। तर हाल अधिकांश बैंकहरू दोहोरो अंकको लाभांश दिनसक्ने अवस्थामा आइपुगेका छन्। हिमालयन, कुमारी, एनआइसी, एनआइएमबीलाई छाडेर बाँकी सबैले लाभांश दिनसक्ने देखिएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आगामी वर्ष १५ प्रतिशतभन्दा बढी लाभांश दिने निश्चितजस्तै देखिएको छ। एनआइसी एशिया बैंकको पनि केहि ऋणपत्र परिपक्व हुँदै जाने क्रममा रहेकाले आगामी वर्षमा क्रमक रुपले सुधार देखिनेछ। 

राष्ट्रिय स्तरका विकास बैंकहरूमा ज्योति बाहेक सबैको नाफा तथा लाभांश दिन सक्ने अवस्था सबल देखिएको छ। फाइनान्स कम्पनीहरूमा श्री इन्भेष्टमेन्ट, आइसिएफसी र मञ्जुश्रीजस्ता संस्थाहरूले पनि लाभांश वितरण गर्ने संकेत दिएका छन्।

लघुवित्त वित्तीय संस्थाहरु तर्फ पनि ५२ वटा मध्ये ४५ वटाको वित्तीय अवस्था राम्रो छ। उनिहरु लाभांश वितरण गर्न सक्ने अवस्थाका छन्। कतिपयको प्रतिशेयर आम्दानी ५०/६० रुपैयाँ भन्दा माथि छ।

जति पनि बैंकहरूले २ अर्ब पूँजीबाट ८ अर्ब पूँजी पुर्याएका थिए उनिहरुले २०७४ अघि जस्तै प्रतिफल दिन सक्ने अवस्थामा फर्कंदै छन्। विश्लेषकहरुले अगामी वर्ष १० भन्दा बढी बैंकले २० प्रतिशतभन्दा बढी लाभांश दिने अनुमान गरेका छन्।

बीमा, र म्युचुअल फण्डको स्थिति

केहि जलविद्युत कम्पनीहरुको पनि वित्तीय अवस्था क्रमिक रुपमा सबल देखिन सुरु भइसकेको छ। जीवन बीमा तथा निर्जीवन बीमा दुबै क्षेत्रमा सामान्य लाभांश दिने अवस्था देखिन्छ।

अहिले शेयर बजारमा प्रत्यक्ष जोडिएका ब्रोकर तथा म्युचुअल फण्डको योगदान उल्लेखनीय छ। हाल ९२ वटा ब्रोकर कार्यालयमध्ये ९० वटाको चुक्ता पूँजी १८ अर्ब माथि छ भने २ वटाको ३ अर्ब र १ वटाको ६० करोड छ। त्यस्तै ४७ वटा म्युचुअल फण्ड सँग ५६ अर्ब १६ करोड बराबरको कोष रहेको छ, जसले शेयर बजारमा करिब ८० अर्बभन्दा बढीको कोष परिचालन गरिरहेका छन्। यस बाहेक बजारमा संस्थागत लगानीकर्ता जसले शेयर बजारमै लगानी गर्ने गरी काम गरिरहेका छन्। उनिहरुले पनि बजारलाई चलायमान बनाइरहेका छन्।

बजार प्रवृत्ति र लगानीकर्ताको मनोविज्ञान

बजार विश्लेषकहरूका अनुसार हाल बजारमा सैद्धान्तिक आधारभन्दा बढी हल्ला, सामाजिक सञ्जाल र प्राविधिक विश्लेषणको प्रभाव देखिन्छ। प्राविधिक विश्लेषकहरूले कम्पनीको विगतको शेयर मूल्यको इतिहास गरेर विश्लेषण गर्ने गर्छन्। प्राविधिक विश्लेषणले बजारको उतारचढावमा राम्रै ल्याउने गरेको छ। यसले लगानीकर्ताको निर्णयमा प्रभाव पारिरहेको छ।

बजारमा प्रयाप्त तरलता, सबै सूचक सकारात्मक, बजारमैत्री नियामक हुँदा पनि बजार नबढ्न नसक्नुमा वित्तीय विवरण हेरेर शेयर खरिद बिक्री गर्ने लगानीकर्ता एकदमै कम रहेको र हल्लामा तथा लहडमा शेयर किन्ने लगानीकर्ता बढिरहेको दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रमुख दिनेशराज सापकोटाले बताए। उनले भने 'केहि दिन घटेको जस्तो देखिए पनि विस्तारै सकारात्मक सूचकहरु सँगै सुधार आउनुका साथै बजारले लय समाउनेछ।'

उनले थपे, “बजार अहिले होलसेल लगानीकर्ताले भन्दा पनि खुद्रा लगानीकर्ताले चलाइरहेका छन्।” बजारमा ठुलो संख्यामा सक्रिय लगानीकर्ता रहेको हुँदा उनिहरुले नै बजारलाई उचारचढाव ल्याउन भुमिका खेलिरहेको उनको विश्लेषण छ। जसले प्राविधिक विश्लेषण तथा बजारको मुभमेन्टलाई पछ्याउने भएकाले बजार धेरैहदसम्म यस्तै समुहबाट बढि परिचालित भइरहेको उनको तर्क छ।

बजारमा सबै कुरा सकारात्मक हुँदा हुँदै पनि बढ्न नसकेकोमा भने उनि अचम्ममा छन्। बजारलाई प्रभाव पार्ने जुनसुकै सूचकहरु सकारात्मक छन्, उनले भने 'बजार घट्नु पर्ने साइडवेजमा चल्नु पर्ने कुनै तार्किक कारण नै छैन।' शेयर बजारले जहिले पनि भविष्यलाई प्रिडिक्ट गर्छ। आजको दिनमा भोलिको प्रिडिक्ट यति सकारात्मक छ कि सम्पुर्ण वित्तीय सूचकहरु सकारात्मक हुँदै छन्।

लकिङ अवधि सकिएका जलविद्युत कम्पनीको प्रभाव

केही जलविद्युत कम्पनीहरूको लकिङ पिरियड सकिएपछि संस्थापक लगानीकर्ताहरूले ठूलो परिमाणमा शेयर बिक्री गरेका छन्। यसले बजारमा अस्थायित्व ल्याएको छ। बलेफी जलविद्युतका संस्थापकहरूले २ अर्बभन्दा बढीको रकम शेयर बजारबाट निकालेका थिए। यस्तै कयौ कम्पनीका शेयरधनी जसले बजारबाट ठुलो रकम बिक्री गरेर बाहिरिदा बजार नै प्रभावित हुन पुगेको छ।

हालको अवस्थामा हेर्दा नेपाली शेयर बजारमा अब सकारात्मक संकेतहरू बलियो बन्दै गएका छन्। ब्याजदर न्यून, तरलता प्रशस्त, बैंक तथा वित्तीय संस्थाहरू लाभांश दिन सक्ने अवस्थामा पुगेका छन्, बीमा तथा फाइनान्सको प्रदर्शन सन्तोषजनक देखिएको छ, र गभर्नरको लचिलो नीति समेत सकारात्मक पक्ष हो।

यद्यपि बजारमा अझै स्थायित्व र दीर्घकालीन लगानी प्रवाह आवश्यक छ। हल्लाका भरमा कारोबार गर्ने प्रवृत्तिको नियन्त्रण र वित्तीय साक्षरताको अभिवृद्धि गरेमा बजार अझ स्थायित्वतर्फ उन्मुख हुनेछ।

आजको बजार हेर्दा चुनौती भन्दा सम्भावना बढी देखिन्छ। लगानीकर्ता सजग, तर दीर्घकालीन सोचले अघि बढे, बजारले पुन: सुस्थिर बृद्धिको बाटो लिन सक्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया