उपत्यकाका ३३ सयभन्दा बढी सार्वजनिक सवारीमा ड्यासक्यामेरा र जिपिएस जडान
- BFIS News
- 2026 Jun 23 14:01
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित तीन हजार ३०३ वटा सार्वजनिक सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार यात्रु सुरक्षा, सवारी निगरानी र सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था लागू गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक यातायातका साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली जडान अनिवार्य बनाइएपछि त्यसको कार्यान्वयन क्रमशः बढ्दै गएको छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले नियमित अनुगमन थालेपछि यातायात व्यवसायीले पनि आवश्यक प्रविधि जडानमा चासो देखाएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सार्वजनिक सवारीमा हुने यात्रुमाथिको दुर्व्यवहार, तोकिएभन्दा बढी भाडा असुली तथा सवारी सञ्चालनसम्बन्धी गतिविधिको निगरानी गर्न यी प्रविधि उपयोगी हुनेछन्। उनका अनुसार दुर्घटनाको वास्तविक अवस्था पहिचान गर्न तथा बीमा दाबी प्रक्रियामा हुने सम्भावित दुरुपयोग नियन्त्रण गर्नसमेत क्यामेरा प्रणालीले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
जिपिएस प्रणाली जडान भएपछि सवारीधनीले आफ्नो सवारीको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ। यसले सवारी सञ्चालनको निगरानी, चालकको जवाफदेहिता तथा यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
सार्वजनिक यातायातभित्र जडान गरिएका ड्यासक्यामेरा र सिसीक्यामेराबाट सवारीभित्रका गतिविधिको अभिलेख सुरक्षित रहने भएकाले विवाद समाधान तथा घटनाको तथ्यगत अनुसन्धानमा समेत सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात क्षेत्रमा प्रविधिको प्रयोगलाई सकारात्मक पहलका रूपमा लिएको बताए। उनले सबै सार्वजनिक सवारीमा यस्ता प्रणाली जडान गर्न व्यवसायीहरू तयार रहेको उल्लेख गर्दै त्यसका लागि स्पष्ट कार्यविधि आवश्यक रहेको धारणा राखे।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनमा यस्ता प्रविधि अनिवार्य गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार प्रविधिमार्फत निगरानी बढ्दा दुर्घटना न्यूनीकरण, यात्रुको गुनासो व्यवस्थापन तथा चालक र सवारीधनीको जिम्मेवारी निर्धारणमा थप सहजता आउने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया