जीवन बीमा कम्पनीहरुको शेयर बजारमा लगानी साढे ३० अर्ब नाघ्यो, एक वर्षमा ६० प्रतिशत वृद्धि
- BFIS News
- 2025 Aug Sun 12:31

काठमाडौं । जीवन बीमा कम्पनीहरुले शेयर बजारमा गरेको लगानी एक वर्षमै झन्डै ६० प्रतिशतले बढाएर साढे ३० अर्ब रुपैयाँ पुर्याएका छन्।
आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका १३ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/८२ मा उक्त रकम ५९ दशमलव ५८ प्रतिशतले बढाउँदै ३० अर्ब ५२ करोड रुपैयाँ पुर्याएका छन्।
बीमा कम्पनीहरुले सामान्यतया आफ्नो अधिकांश लगानी बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने गरेका छन्। तर, हाल बैंकिङ प्रणालीमा तरलता बढेर निक्षेपको ब्याजदर ५ प्रतिशतको हाराहारीमा झरेपछि बीमा कम्पनीहरुले उच्च प्रतिफलको आशामा शेयर बजारमा लगानी बढाएको देखिएको हो।
नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरुले कुल लगानीयोग्य रकमको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउने प्रावधान रहेको छ।
हाल देशमा १४ वटा जीवन बीमा कम्पनी रहे पनि मेट लाइफले भने शेयर बजारमा कुनै लगानी गरेको छैन। बाँकी १३ कम्पनीमध्ये सबैभन्दा कम लगानी सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको रहेको छ, जसले गत वर्षको तुलनामा लगानी ७५ प्रतिशतले घटाएर ५४ करोड ६३ लाख रुपैयाँमा सीमित गरेको छ।
त्यसबाहेकका सबै कम्पनीहरुले लगानी बढाएका छन्। तीमध्ये सबैभन्दा बढी लगानी हिमालयन लाइफ इन्स्योरेन्सको रहेको छ। बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीले १० अर्ब ८५ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९१ दशमलव ७१ प्रतिशतले बढी हो।
हिमालयन लाइफपछि नेपाल लाइफ, सूर्यज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, नेसनल लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफले एक अर्बभन्दा बढी रकम शेयर बजारमा लगानी गरेका छन्। सानिमा रिलायन्स लाइफ र एसियन लाइफको लगानी भने एक अर्बभन्दा कम छ।
लगानी वृद्धि दरको हिसाबले सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ। कम्पनीको लगानी ३ सय ३९ दशमलव ४१ प्रतिशतले बढेर २९ करोड ४६ लाखबाट १ अर्ब २९ करोड ४३ लाख पुगेको छ।
त्यस्तै, सन नेपाल लाइफ, नेसनल लाइफ, सूर्यज्योति लाइफले पनि शेयर बजारमा लगानी दोब्बरभन्दा बढीले बढाएका छन्। आईएमई लाइफको लगानी ८४ दशमलव १२ प्रतिशत, प्रभु महालक्ष्मीको ४९ दशमलव ५५ प्रतिशत, सानिमा रिलायन्सको ४६ दशमलव ४८ प्रतिशत, नेपाल लाइफको ४२ दशमलव १ प्रतिशत, रिलायबल नेपालको ४२ दशमलव ७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २८ दशमलव ६२ प्रतिशत र एसियन लाइफको ४ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ।
प्रतिक्रिया