आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य
- BFIS News
- 2025 Sep 05 23:28

काठमाडौँ, भदौ २० गते । आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बिमामा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागू गर्नु भएको हो ।
यसको लागि असोज मसान्तसम्म सेवाग्राहीलाई स्वास्थ्य बिमा दर्ता गर्नुपर्ने भएको छ । मन्त्रालयले विगतमा विपन्न नागरिकलाई प्रदान गर्दै आएको उपचार सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बिमा बोर्डमार्फत हुने गरी विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) स्वीकृत गरेको थियो।
सो निर्देशिकाको दफा ४ क मा उल्लेख भएअनुसार आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमामा बिमित हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ ।
सेवा निरन्तरताका लागि असोजभित्र बिमा अनिवार्य
यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीलेको भनाइ छ ।
उनि भन्छन्, “अब विपन्न नागरिकले आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गरिएको छ र यो सुविधा कार्तिक १ गतेबाट बिमा प्रणालीमार्फत् मात्र उपलब्ध हुनेछ। हाल उपचाररत बिरामीको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बिमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्छ,” ।
उनका अनुसार मन्त्रालयले सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीलाई आउँदो असोज मसान्तभित्र बिमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ।
प्रतिक्रिया