NIMB Header 2
Nepal Life

आन्दोलनका क्रममा भएका क्षतिको प्रभावबारे नेपाल बीमा प्राधिकरणले बीमक र सर्भेयर सँग गर्यो छलफल

Citizen Life
  • BFIS News
  • 2025 Sep 14 17:06
आन्दोलनका क्रममा भएका क्षतिको प्रभावबारे नेपाल बीमा प्राधिकरणले बीमक र सर्भेयर सँग गर्यो छलफल
National Life

काठमाडौं, भदौ २९ – हालै देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा सिर्जित भौतिक तथा अन्य क्षतिको असर बीमा क्षेत्रमा परेको विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग विशेष छलफल गरेको छ।

NIMB

छलफलका क्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनबाट भएको क्षतिको बीमा दाबीमध्ये सानो दाबी तत्कालै बीमकले भुक्तानी गर्न सक्ने जनाएका छन्। यद्यपि, ठूला बीमा दाबीहरूका लागि पुनर्बीमकले नियमअनुसार अग्रिम रूपमा रकम उपलब्ध गराउनुपर्ने, साथै तरलता व्यवस्थापनमा समेत सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले आन्दोलनको क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएका भौतिक सम्पत्तिको बीमा दाबीका लागि सर्भे प्रतिवेदन वा वडा तथा प्रहरी कार्यालयको सिफारिस प्राप्त गर्न कठिनाइ हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानीको प्रक्रिया सरल बनाइनु पर्नेमा पनि ध्यानाकर्षण गराएका छन्।

यसैबीच, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले पुनर्बीमाका लागि प्रस्ताव गर्दा आवश्यक तथ्याङ्क विश्वसनीय र पारदर्शी हुनुपर्नेमा जोड दिँदै, दाबी भुक्तानीका प्रक्रियामा आवश्यक सहयोग गर्न पुनर्बीमकहरू तयार रहेको धारणा राखे।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले छलफलको क्रममा बीमा नियमावली, २०८१ बमोजिम प्राधिकरणले सङ्क्षिप्त कार्यविधि लागू गर्न सक्ने व्यवस्था रहेको जानकारी दिँदै, यस विषयमा तीन दिनभित्र राय–सुझाव पेश गर्न बीमक तथा पुनर्बीमकहरूलाई अनुरोध गरे।

सुवेदीले बीमितले बीमा गरेपछि दाबी पाइन्छ भन्ने विश्वास गर्न सक्ने वातावरण बनाउन, दाबी भुक्तानीका लागि तथ्याङ्क संकलन र प्रक्रिया सहज बनाउन फोकल पर्सन तोक्न र त्यसबारे सार्वजनिक जानकारी दिन पनि निर्देशन दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, निर्देशक शाम्भराज लामिछाने, तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

बीमा सर्भेयर संघसँग पनि छलफल

यही सन्दर्भमा, बीमा दाबी भुक्तानी प्रक्रियालाई अझ छिटो र प्रभावकारी बनाउन बीमा सर्भेयर संघ, नेपालसँग पनि नेपाल बीमा प्राधिकरणले आज छलफल गरेको छ।

छलफलमा सर्भेयर संघका पदाधिकारीहरूले हालको जटिल परिस्थितिमा न्यूनतम कागजातका आधारमा सर्भे प्रतिवेदन तयार गर्ने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरूलाई समानुपातिकरूपमा कामको वितरण हुनुपर्ने, क्षति भएका स्थानहरूमा सहज पहुँचको व्यवस्था मिलाइनु पर्ने तथा सर्भेयरहरूको जिम्मेवारी र जवाफदेहिता थप बढाइनु पर्ने जस्ता विषयहरू उठाएका थिए।

कार्यकारी निर्देशक सुवेदीले बीमा नियमावली, २०८१ अन्तर्गत गम्भीर प्रकृतिका विपद्को अवस्थामा प्राधिकरणले दाबी भुक्तानीका लागि सङ्क्षिप्त कार्यविधि लागू गर्न सक्ने व्यवस्था रहेको बताउँदै, तीन दिनभित्र सर्भेयर संघबाट राय–सुझाव दिन आग्रह गरे। साथै, सर्भेयरहरूले आफ्नो इजाजतपत्रको आधारमा अहिलेको अवस्थामा पनि निर्बाध रूपमा कार्य गर्न सक्ने स्पष्ट पारे।

छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक निर्मल अधिकारी, निर्देशक शाम्भराज लामिछाने तथा बीमा सर्भेयर संघका पदाधिकारीहरूको उपस्थिति थियो।

आन्दोलनका क्रममा भएका क्षतिको प्रभावबारे नेपाल बीमा प्राधिकरणले बीमक र सर्भेयर सँग गर्यो छलफल

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया