जेनजी आन्दोलनमा भएको क्षतिबाट बीमा कम्पनीमा २३ अर्बको दाबी, एक महिनामै एक अर्ब ५८ करोड दाबी भुक्तानी
- BFIS News
- 2025 Oct 10 15:23

काठमाडौं। जेनजी आन्दोलन भएको आज एक महिना पुगेको छ। आन्दोलनका क्रममा अर्बौको जन धनको क्षति भयो। यस मध्ये बीमा कम्पनीहरुमा २३ अर्ब भन्दा माथिको दाबी परेकोमा कम्पनीहरुले यस अवधिमा एक अर्ब ५८ करोड दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका ३,०९९ वटा बीमा दाबीबाट यो कूल रकम संकलन भएको हो।
प्राप्त तथ्याङ्कअनुसार, बीमा कम्पनीहरूले हालसम्ममा रू. १ अर्ब ५८ करोड ५६ लाख बराबरको दाबी रकम भुक्तानी गरिसकेका छन्, जसमा अग्रिम भुक्तानी समेत समावेश छन्।
सम्पत्ति बीमामा सबैभन्दा धेरै दाबी
कूल बीमा दाबीमध्ये ६५३ वटा दाबी सम्पत्ति बीमासम्बन्धी छन्, जसअन्तर्गत दाबी रकम रू. १९ अर्ब ६ करोड ७६ लाख पुगेको छ। यसमध्ये बीमकहरूले रू. १ अर्ब ३२ करोड ७२ लाख भुक्तानी गरिसकेका छन्।
सम्पत्ति बीमाको मूल्याङ्कन तथा अनुगमनका लागि ५९८ वटा दाबीमा बीमा सर्भेयर खटाइएको थियो। अहिलेसम्म ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको छ।
मोटर बीमा दाबी
२,२०६ वटा मोटर बीमा दाबी परेका छन्, जसको कूल रकम रू. ३ अर्ब ४१ करोड ६ लाख रहेको छ। यसमा अग्रिम भुक्तानीसहित रू. २४ करोड ९१ लाख भुक्तानी भइसकेको छ।
मूल्याङ्कनका लागि १,९३९ वटा दाबीमा सर्भेयर खटाइएका थिए र हालसम्म ३१४ वटा प्रतिवेदन प्राप्त भएको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा
यसतर्फ १९० वटा दाबी परेका छन्, जसको कूल दाबी रकम रू. ३८ करोड ३ लाख रहेको छ। अग्रिम भुक्तानीसहित रू. ८७ लाख भुक्तानी भइसकेको छ। १२६ वटा दाबी मूल्याङ्कनका लागि सर्भेयर खटाइएकोमा ५ वटा प्रतिवेदन प्राप्त भएको छ।
परिवहन बीमा
परिवहन बीमातर्फ १२ वटा दाबी परेका छन् र रू. १ करोड ६३ लाख दाबी रकम रहेको छ। ११ वटा दाबी मूल्याङ्कनमा छन्।
अन्य बीमा
अन्य बीमा दाबी ३८ वटा रहेका छन् र कूल दाबी रकम रू. ३५ करोड ३७ लाख पुगेको छ। हालसम्म रू. ५ लाख ५० हजार भुक्तानी गरिएको छ। यसतर्फको मूल्याङ्कनका लागि ३६ वटा दाबीमा सर्भेयर खटाइएकोमा ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको छ।
बीमा प्राधिकरणको निर्देशन
नेपाल बीमा प्राधिकरणले बीमितको हित संरक्षणलाई प्राथमिकता दिँदै, बीमा दाबी प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
दाबी छानबिनमा पारदर्शिता, सर्भे प्रतिवेदन समयमै पेश गर्नेलगायत विषयमा विशेष प्राथमिकता दिइएको छ। प्राधिकरणले दाबी भुक्तानी प्रक्रिया निरन्तर अनुगमन गर्दै आएको र सुधारका लागि बीमकहरूलाई निर्देशन दिइरहेको छ। बीमितको अधिकार सुनिश्चित गर्न र दाबी प्रक्रियामा तीव्रता ल्याउन पनि प्राधिकरणले थप कदम चाल्ने जनाएको छ।
प्रतिक्रिया