बीमाङ्की तथा विश्लेषकहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
- BFIS News
- 2025 Oct 12 21:48

ललितपुर, असोज २६ – नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको दिगो विकास, प्रवद्र्धन र दीर्घकालीन स्थायित्वका लागि बीमाङ्कीय ज्ञान र जनशक्तिको योगदान अत्यन्तै महत्वपूर्ण रहने उल्लेख गरे।
प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बीमाङ्की विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्भेक्षणको नतिजा प्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा उनीहरूको सहभागिता क्रमशः बढ्दै गएको जानकारी गराए।
त्यसैगरी, प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी (Risk-Based Capital) को कार्यान्वयन, आर्थिक वर्ष २०८१/८२ मा अद्यावधिक भएका व्यवस्था तथा प्रतिवेदन पेश गर्दा बीमकहरूले ध्यान दिनुपर्ने विषयहरूबारे प्रस्तुति दिइन्।
एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले बीमाङ्की विश्लेषकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि सोसाइटी सदैव सहयोग गर्न तत्पर रहेको बताइन्।
कार्यक्रममा सहभागी बीमाङ्की विश्लेषकहरूले आ–आफ्ना कार्य अनुभव, विद्यमान चुनौतीहरू र नियामकीय समर्थन लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा एक्चुरियल सोसाइटी अफ नेपालका पदाधिकारी तथा सदस्यहरू, बीमा विश्लेषकहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सुधा काफ्लेले गरेकी थिइन्।
प्रतिक्रिया