राष्ट्रिय सहकारी बैंकको साधारण सभा मङ्सिर ६ गतेदेखि, इलामका बाढी–पहिरो पीडितलाई राहत वितरण गर्ने निर्णय
- BFIS News
- 2025 Oct 16 16:16

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गतेदेखि आयोजना गर्ने भएको छ । सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठकले साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार साधारण सभा अन्तर्गत मङ्सिर ६ गते सातै प्रदेशमा एकाइगत सभा तथा मङ्सिर १३ गते काठमाडौंमा एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा हुनेछ । कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकाइ सभा सञ्चालन गरिनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंका अनुसार साधारण सभा भर्चुअल र भौतिक दुवै माध्यमबाट सम्पन्न गरिनेछ । उद्घाटन सत्र संयुक्त रूपमा हुनेछ भने छलफल सत्र प्रदेशगत रूपमा सञ्चालन गरिनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमका विषयमा छलफल र निर्णय गरिनेछ । साथै, बैंकको विनियम संशोधन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन पौष मसान्तभित्र सम्पन्न गर्ने मिति तय गर्ने, कार्यविधिहरूमा आवश्यक थप तथा संशोधन गर्ने, र नियमनकारी निकायको निर्देशनका विषयमा जानकारी आदिबारे पनि निर्णय हुनेछ ।
त्यसैगरी, बैठकले इलाममा अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट प्रभावित परिवारहरूलाई पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ । अध्यक्ष गिरीका अनुसार सहकारी भावनाअनुसार सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले बैंकले यो पहल अघि सारेको हो । उनले यो अभियानले प्रभावित परिवारहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया