Nepal Life

मुक्तिनाथमा बाक्लो हिमपात, तीर्थयात्री र पर्यटक समस्यामा

NMB Bank
  • BFIS News
  • 2025 Oct 28 15:48
मुक्तिनाथमा बाक्लो हिमपात, तीर्थयात्री र पर्यटक समस्यामा
National Life

मुक्तिनाथ (मुस्ताङ), कात्तिक ११। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा आज विहानैदेखि परेको बाक्लो हिमपातका कारण तीर्थयात्री र पर्यटकहरू समस्यामा परेका छन्।

Shikhar
NIMB

हिमपातका कारण मन्दिर परिसर, रानीपौवा तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। बिहानैदेखि कागबेनी–मुक्तिनाथ सडकखण्डमा सवारीसाधनको आवागमनमा समेत अवरोध भएको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङका अनुसार हिमपात अत्यधिक भएकाले अहिले मन्दिर पुग्ने अवस्था छैन। उहाँले भन्नुभयो, “भारी हिमपातका कारण सवारीसाधन दुर्घटनाको जोखिम भएकाले यात्रुहरूलाई सचेत गराइएको छ।”

मन्दिरका कर्मचारी रविन सुवेदीका अनुसार हिमपातले मुक्तिनाथ मन्दिर परिसरलाई पूर्ण रूपमा सेतो हिउँले ढाकेको छ। मन्दिरका १०८ धारा, कुण्ड र आसपासका क्षेत्र हिउँमुनि छोपिएका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपातका कारण रोकिएका पर्यटकहरूमा ‘हाइअल्टिच्युड’ समस्या हुन सक्ने भन्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टरलाई तयारी अवस्थामा राखेको जनाएको छ। साथै, उपल्लो मुस्ताङ क्षेत्रतर्फ जाने सवारीसाधनलाई कागबेनीमै रोक्ने व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि मुक्तिनाथ मन्दिरतर्फ हाल नजान आग्रह गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कागबेनीदेखि मुक्तिनाथसम्मका बस्तीहरूमा समेत बाक्लो हिमपात हुँदा सवारीसाधन दुर्घटनाको जोखिम उच्च बनेको छ।

मङ्गलबार बिहानैदेखि उपल्लो मुस्ताङका अधिकांश क्षेत्रमा लगातार हिमपात भइरहेको प्रशासनले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया