NIMB Header 2
Nepal Life

भारतमा वन्यजन्तु तस्करी बढ्दै, दुर्लभ प्राइमेट बरामद

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 31 18:04
भारतमा वन्यजन्तु तस्करी बढ्दै, दुर्लभ प्राइमेट बरामद
Everest Bank

मुम्बई (भारत), कात्तिक १४ गते। भारतका भन्सार अधिकारीहरूले मुम्बई विमानस्थलमा तस्करी हुँदै ल्याइएका दुर्लभ जनावर जफत गरेका छन्। जाँच गर्दा झोलाभित्र दुईवटा लुप्तप्राय ‘सिल्भरी लङ्गुर’ फेला परेपछि एक जना विमान यात्रु पक्राउ गरिएको छ।

Shikhar
NIMB

भन्सार विभागका अनुसार ती जनावर मलेसियाबाट थाइल्यान्ड हुँदै भारत ल्याइएका थिए। पक्राउ परेका यात्रु वन्यजन्तु तस्करीमा संलग्न ‘अन्तर्राष्ट्रिय सिन्डिकेट’ को सदस्य भएको शङ्का गरिएको छ। विशेष खुफिया सूचनाका आधारमा बिहीबार मुम्बई विमानस्थलमा उनको झोलाको तलासी लिँदा दुई लङ्गुर भेटिएका थिए।

तीमध्ये एक लङ्गुर मृत फेला परेको थियो भने अर्को जीवित रहेको थियो। भन्सारले सार्वजनिक गरेको भिडियोमा बाँचेको लङ्गुर अफिसरको हातमा झुकेको देखिन्छ, जसले आफ्नो अनुहार ढाक्दै बिस्तारै हल्लिरहेको दृश्य मन छुने रहेको छ। अधिकारीहरूले जनावरलाई टोकरीमा लुकाएर राखिएको र भारतमा बिक्रीका लागि ल्याइएको बताए। हाल जीवित लङ्गुरलाई पशु चिकित्सकको निगरानीमा राखिएको छ।

वन्यजन्तु संरक्षण निकाय ‘ट्राफिक’ले यसअघि विदेशी घरपालुवा जनावरको अवैध व्यापारमा वृद्धि भएको चेतावनी दिइसकेको थियो। पछिल्ला साढे तीन वर्षमा मात्रै थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको तथ्याङ्कले देखाउँछ। सिल्भरी लङ्गुर इन्डोनेसियाको जाभा टापुमा बसोबास गर्ने सानो प्राइमेट हो।

इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार जङ्गलको विनाश, अवैध शिकार र घरपालुवा जनावरको अवैध व्यापारका कारण सिल्भरी लङ्गुर विलुप्तिको जोखिममा छन्। विश्वभर बाँचेका सिल्भरी लङ्गुरको सङ्ख्या अनुमानित दुई हजार ५००–चार हजारबीच रहेको छ।

मुम्बई विमानस्थलमा पछिल्ला महिनामा वन्यजन्तु तस्करीका घटना बढ्दै आएका छन्। यसै महिनाको सुरुमा भन्सार अधिकारीहरूले सर्प, कछुवा र र्याकुन बोकेका एक तस्करलाई नियन्त्रणमा लिएका थिए। जुन महिनामा थाइल्यान्डबाट आएका दुई यात्रुबाट १०० भन्दा बढी जीवित जनावर—जसमा विषालु भाइपर, छेपारो, सनबर्ड र रूख चढ्ने पोसमसमेत समावेश—जफत गरिएको थियो। फेब्रुअरीमा पनि इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका जङ्गलमा पाइने पाँच सियामाङ लङ्गुरसहितका बाँदर बोकेर ल्याइरहेका एक तस्करलाई समातिएको थियो।

भन्सार विभागका अधिकारीहरूले वन्यजन्तु तस्करीविरुद्ध निगरानी कडा बनाइएको र यसमा संलग्न समूहलाई कानूनी रूपमा कडा कारबाही गरिने चेतावनी दिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया