NIMB Header 2
Nepal Life

काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन

National Life
  • BFIS News
  • 2025 Nov 02 15:56
काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन
Sanima Reliance

काठमाडौं, कात्तिक १६ गते । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ। स्थानीयको अवरोध हटेसँगै सडकमा थुनिएका फोहोर बोकेका गाडी ल्याण्डफिल साइटतर्फ गएका छन्।

Shikhar
NIMB

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री  कुलमान घिसिङ ले स्थानीय माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटाइएको हो। मन्त्री घिसिङ आइतबार बिहान शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली लिएर बञ्चरेडाँडा पुगेका थिए। टोलीले स्थलगत निरीक्षण गर्दै धादिङको धुनिबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, प्रभावित वडाध्यक्ष र स्थानीयवासीसँग अन्तर्क्रिया गरेको थियो।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै १५ दिनको समय माग गरे। र “म आश्वासन दिन आएको होइन, कार्यान्वयन गर्न आएको हुँ,” उनले भने, “अवरोध हटाएर सकारात्मक सन्देश दिनुहोस्, वार्ता र संवादमार्फत सौहार्दपूर्ण समाधान खोजिन्छ।” उनले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना अघि बढाइने उल्लेख गर्दै तत्काल गर्न सकिने काम तुरुन्त सुरु गर्न निर्देशन दिएका छन्।

स्थानीयको प्रमुख गुनासो—फोहोरबाट निस्कने लिच्चड (फोहोरपानी) व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति गठन गरिने भएको छ। पोखरीमा जम्मा भएको लिच्चड खोलामा नपुगोस् भनेर तत्काल पम्प सञ्चालनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी, ल्याण्डफिल साइटमा जथाभावी फोहोर फालिएको समस्या समाधान गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका प्रतिनिधि सम्मिलित   अनुगमन समिति  समेत गठन गरिनेछ।

रातको समयमा फोहोर व्यवस्थापन सहज बनाउन ल्याण्डफिल साइटमा बत्ती जडान सुरु गरिने मन्त्री घिसिङले जानकारी दिए।
उनका अनुसार सोमबारदेखि नै बत्ती जडानको काम सुरु हुनेछ।

मन्त्री घिसिङले वैज्ञानिक ढङ्गले फोहोर व्यवस्थापन गर्न फोहोर छुट्याउने स्थान पहिचान गरी स्थानीय तहलाई आवश्यक सार्वजनिक जग्गा उपलब्ध गराउन मन्त्रिपरिषदबाट निर्णय लिइने बताए।
उनका अनुसार बञ्चरेडाँडा साइटको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) पूरा गर्न केही समय लाग्ने भएकाले स्थानीयवासीको सहयोग आवश्यक छ। “EIAपछि प्रभावित क्षेत्रको पहिचान हुनेछ र त्यसअनुसार जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइनेछ,” उनले स्पष्ट पारे।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि लगानी बोर्डमार्फत अघि बढाइएको प्रक्रिया कानुनी अड्चनका कारण रोकिएको छ। उक्त समस्या समाधानका लागि काठमाडौं उपत्यकाका मेयरहरूको फोरम समेत समावेश गरी अगाडि बढाइने मन्त्री घिसिङले बताए।

धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र स्थानीय सरोकारवालाले विगतका सहमति कार्यान्वयन नभएकाले समस्या दोहोरिने गरेको बताएका छन्। उनीहरूले फोहोर व्यवस्थापन दीर्घकालीन योजनासहित गर्नुपर्ने, फोहोर फाल्ने स्थान र बस्तीबीच स्पष्ट दूरी र नीति आवश्यक रहेको उल्लेख गरेका छन्।

अवरोधका कारण पाँच दिनदेखि साइटमा पुग्न नसकेका फोहोर बोकेका गाडी आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्।
शहरी विकास मन्त्रालयका अनुसार मन्त्री घिसिङले स्थानीयसँग प्रत्यक्ष संवाद गरी विगतका सम्झौता कार्यान्वयन गर्ने आश्वासन दिएपछि फोहोर विसर्जन पुनः सुरु भएको हो।
 
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया