NIMB Header 2
Nepal Life

कञ्चनपुरमा धान खरिद सुरु, तर एकै स्थानबाट मात्र

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 02 16:01
कञ्चनपुरमा धान खरिद सुरु, तर एकै स्थानबाट मात्र
Everest Bank

कञ्चनपुर, कात्तिक १६ गते । कञ्चनपुरमा यस वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले धान खरिद सुरु गरेको छ। आइतबारदेखि सुरु भएको धान खरिद यस वर्ष भने जिल्लाको एकै स्थानबाट मात्र भइरहेको कम्पनीले जनाएको छ।

Shikhar
NIMB

गत वर्ष दुई स्थानबाट धान खरिद गरिएकोमा यस वर्ष कर्मचारी अभावका कारण एक स्थानबाट मात्रै खरिद गर्नुपर्ने अवस्था आएको शाखाका सूचना अधिकारी मनोज चन्दले जानकारी दिनुभयो।
एक स्थानबाट मात्र धान खरिद हुँदा जिल्लाका धान उत्पादक किसानहरू सस्तोमा व्यापारीहरूलाई धान बिक्री गर्न बाध्य भएका छन्।

महेन्द्रनगर शाखाका प्रमुख महिकरण महराका अनुसार यस वर्ष प्रति क्विन्टल रु. ३,४६३.८० मा धान खरिद भइरहेको छ। एक डिपो मात्र सञ्चालनमा आएकाले भीमदत्त र बेदकोट नगरपालिकाका किसानहरूलाई धान बिक्रीमा केही सहजता हुने अपेक्षा गरिएको छ।

तर गत वर्ष झलारी बजार (शुक्लाफाँटा नगरपालिका) मा समेत डिपो सञ्चालनमा ल्याइएको थियो। यस वर्ष डिपो सञ्चालन नहुँदा शुक्लाफाँटाका किसानहरू निराश भएका छन्। उनीहरूका अनुसार, निजी व्यापारीहरूले सरकारले तोकेको मूल्यभन्दा करिब रु. ८०० कममा धान खरिद गरिरहेका छन्।

शुक्लाफाँटाका किसान हरिस दमाइले घरमा भित्र्याएको धान सस्तोमा बेच्नुपर्ने बाध्यता आएको बताउनुभयो। त्यस्तै, कृष्णपुर नगरपालिकाका किसानहरूले पनि डिपो नहुँदा सस्तो मूल्यमै निजी व्यापारीलाई धान बेच्नुपरेको गुनासो गरेका छन्।

शुक्लाफाँटा नगरपालिकामा करिब ४,९०० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। तर यस वर्ष धान खरिद महेन्द्रनगरबाट मात्र हुने भएपछि जिल्लाको दक्षिणी भागका किसानहरू पनि सरकारी मूल्यमा बिक्री गर्न नपाएर सस्तोमा धान बेच्न बाध्य भएका छन्।

बेलौरी नगरपालिकाका किसानहरूले पनि विगतदेखि नै आफ्नै क्षेत्रमा डिपो सञ्चालनको माग गर्दै आएका छन्। बेलौरी–८ का किसान ओमप्रकाश रानाका अनुसार, “एकातिर डिपो छैन, अर्कोतिर व्यापारीले तोकिएको मूल्यभन्दा करिब नौ सय रुपैयाँ कममा धान खरिद गर्छन्, खर्च पनि उठ्दैन।”

कञ्चनपुरको पुर्नवास, लालझाँडी, बेलौरी र बेलडाँडी क्षेत्रमा गरी करिब १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। तर सरकारले तोकेको मूल्यमा बिक्री नहुँदा किसानहरू घाटामा परेको गुनासो गरिरहेका छन्।

बेलौरी र पुर्नवासका किसानहरूले धान महेन्द्रनगर पुर्‍याउँदा उच्च ढुवानी खर्च तिर्नुपर्ने बताउँदै, अन्ततः निजी व्यापारीलाइ नै सस्तोमा बेच्न बाध्य भएको बताएका छन्। जिल्लामा निजी मिल र खाद्य भण्डार सञ्चालकहरूले अहिले प्रति क्विन्टल रु. २,५०० देखि २,७०० मा धान खरिद गरिरहेका छन्।

गत वर्ष खाद्य कार्यालयले १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो, तर दुई डिपो सञ्चालन हुँदाहुँदै पनि जम्मा ३ हजार क्विन्टल मात्र खरिद गर्न सफल भएको थियो। यस वर्ष भने लक्ष्य घटाएर ५ हजार क्विन्टल राखिएको र कर्मचारी अभावका कारण महेन्द्रनगरस्थित एकै डिपोबाट मात्रै खरिद भइरहेको प्रमुख महराले बताउनुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया