NIMB Header 2
Nepal Life

काठमाडौंका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

National Life
  • BFIS News
  • 2025 Nov 05 14:36
काठमाडौंका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु
Sanima Reliance

काठमाडौं, कात्तिक १९ गते। अब काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा वाइफाइ सेवा विस्तार गरिएको हो।

Shikhar
NIMB

मन्त्रालयका अनुसार यसअघि वाइफाइ सुविधा रहेका स्थानहरूमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको छ। अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन विमानस्थलमा नयाँ वाइफाइ सेवा सञ्चालनमा आएको छ।

त्यस्तै, काठमाडौंको ठुलोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित कार्यालयमा क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधेराधे यातायात व्यवस्था कार्यालयमा पनि नयाँ सेवा स्थापनाको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सेवा दिगो बनाउन सम्बन्धित संस्थाहरूले सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरिसकेका छन्। नेपाल टेलिकम, वल्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ स्थापनामा सहकार्य गरेका हुन्। सञ्चारमन्त्री खरेलको सक्रियतामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीहरूसँगको समन्वयमा वाइफाइ पहुँच विस्तार गरेको हो।

प्राधिकरणका अनुसार वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा इन्टरनेट ब्यान्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस पुर्‍याइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसको डेटा सीमा पनि १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।

नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने कार्ययोजना पनि बनाएको छ। भक्तपुर क्यान्सर अस्पतालमा छ वटा र कीर्तिपुर अस्पतालमा पाँचवटा एक्सेस प्वाइन्टमार्फत नयाँ वाइफाइ सेवा सञ्चालनमा आएको छ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले पहिलो निर्णयका रूपमा दुई महिनाभित्र काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो।

मन्त्रालयका अनुसार अब उपत्यका बाहेकका दस प्रमुख सहरहरूमा पनि निःशुल्क वाइफाइ सेवा विस्तारको तयारी भइरहेको छ।

यसबीच, निःशुल्क वाइफाइ सञ्चालनको अनुगमनका लागि मन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण गर्ने कार्यक्रम रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया