जीवन बीमा क्षेत्रमा सिटिजन र आइएमई सबैभन्दा आक्रामक, सरकारले प्रिमियम भर्दा राष्ट्रिय जीवन बीमा अगाडि
- BFIS News
- 2025 Nov 06 05:25
काठमाडौं । नेपालको जीवन बीमा बजार यस वर्ष झनै प्रतिस्पर्धी बन्दै गएको छ। नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, चालु आर्थिक वर्षको असोज मसान्तसम्म देशभरका १४ जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८४ प्रतिशतले वृद्धि भएको हो।
बीमा बजारको वृद्धिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी अग्रपंक्तिमा देखिएको छ। राष्ट्रसेवक कर्मचारीको बीमा शुल्क सरकारबाट निकासा भएपछि कम्पनीको व्यवसाय एक्कासी २२२ प्रतिशतले बढेको हो। यसै कारण समग्र बीमा उद्योगको वृद्धिदर पनि उल्लेख्य रूपमा वृद्धि भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार तीन महिनाको अवधिमा कम्पनीहरूले ९ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ३९ अर्ब ६८ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन्। यसरी कुल बीमा शुल्क ४९ अर्ब २२ करोड रुपैयाँ पुगेको हो। गत वर्षको सोही अवधिमा यो रकम ४१ अर्ब ८ करोड रुपैयाँ मात्र थियो।
बीमा शुल्क आर्जनको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रणी रहेका छन्। नेपाल लाइफको बीमा व्यवसाय १२.२० प्रतिशतले बढेर १३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय १५.९० प्रतिशतले बढेर पाँच अर्ब ६८ करोड रुपैयाँमा पुगेको छ।
त्यस्तै, एलआइसी नेपालको कारोबार ८.९६ प्रतिशतले बढेर चार अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको कारोबार २२२ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। हिमालयन लाइफ इन्स्योरेन्सले २.९० प्रतिशत वृद्धि सहित चार अर्ब ४३ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई अर्ब ८८ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ।
बढ्दो प्रतिस्पर्धाबीच आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा आक्रामक रूपमा अघि बढिरहेका छन्। आइएमई लाइफको व्यवसाय २४.८२ प्रतिशत र सिटिजन लाइफको २४.६८ प्रतिशतले वृद्धि भएको छ। यस्तै, रिलायबल नेपाल लाइफको २०.५८ प्रतिशत, मेट लाइफको १५.४० प्रतिशत, सानिमा रिलायन्स लाइफको १५.३८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको १२.९३ प्रतिशतले व्यवसाय बढेको प्राधिकरणले जनाएको छ।
बीमा व्यवसायमा देखिएको यो तीव्र वृद्धि बजारमा नयाँ ग्राहक आकर्षण र बीमा सचेतनाको विस्तारसँगै प्रतिस्पर्धात्मक रणनीतिहरूले समेत टेवा पुर्याएको विश्लेषण गरिएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpg)






प्रतिक्रिया