युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय ३२ प्रतिशतले बढ्यो, खर्च र दाबीले मुनाफामा दवाव
- BFIS News
- 2026 Feb 12 13:13
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै व्यवसाय विस्तारमा उल्लेख्य प्रगति गरेको देखिएको छ। कम्पनीको व्यवसाय करिब साढे ३२ प्रतिशतले बढेको छ भने अधिकांश वित्तीय सूचकहरू सुधारतर्फ उन्मुख देखिएका छन्।
यद्यपि नाफातर्फ भने कम्पनी दबाबमा परेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको सोही अवधिमा १० करोड ११ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ३८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३२.४६ प्रतिशतले बढेर ५८ करोड ७८ लाख रुपैयाँ नाघेको छ। कुल आम्दानी ११.८१ प्रतिशतले वृद्धि हुँदा खर्च भने ५४.८६ प्रतिशतले बढेको देखिन्छ। अभिकर्तालाई प्रदान गरिने कमिशन खर्च पनि २५.४९ प्रतिशतले उकालो लागेको छ।
तर लगानी तथा कर्जाबाट हुने ब्याज आम्दानीमा भने गिरावट आएको छ। उक्त शीर्षकअन्तर्गतको आम्दानी ४२.३० प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ।
प्रति शेयर आम्दानी (EPS) ६ रुपैयाँ ६४ पैसाबाट बढेर ९ रुपैयाँ २३ पैसा पुगेको छ। सोल्भेन्सी अनुपात पनि २.१९ प्रतिशतबाट सुधारिँदै २.७३ प्रतिशतमा उक्लिएको छ, जसले कम्पनीको दायित्व वहन क्षमता बलियो बन्दै गएको संकेत गर्छ। प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ १० पैसा कायम भएको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। स्पेशल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ सञ्चित छ भने महाविपत्ति कोषमा करिब साढे ४ करोड रुपैयाँ रहेको छ। जगेडा कोष भने ६ करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ४४ करोड ९४ लाख रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया