निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध
- BFIS News
- 2026 Feb 23 16:17
जलेश्वर, फागुन ११ गते । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा डिजे र मदिरा बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी ले छुट्टाछुट्टै सूचना जारी गरी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा चर्को स्वरमा डिजे बजाएर प्रचार गर्ने गरेको गुनासो आएपछि सार्वजनिक स्थान, जुलुस, र्याली तथा आमसभामा डिजे साउन्ड सिस्टम, ठूला लाउडस्पीकर र ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय पोखरेलले जानकारी दिनुभयो । ध्वनि प्रदूषण नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न डिजे प्रयोगमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डिजे प्रयोगमा रोक लगाइएको सूचनामा उल्लेख छ । प्रतिबन्धको उल्लंघन गरी डिजे साउन्ड सिस्टम प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरी प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
यस्तै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सभ्य, सुव्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरा बिक्री–वितरणमा पनि रोक लगाइएको छ । मतदान हुनुभन्दा सात दिन अगावै फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न निषेध गरिएको सूचनामा जनाइएको छ ।
निर्णयको कार्यान्वयनका लागि सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने जनाइएको छ । अत्यधिक ध्वनिका कारण विद्यार्थीको अध्ययन, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्य र सामाजिक सद्भावमा असर पर्ने भएकाले यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ । निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणसँग सहयोगको अपेक्षा गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया