मकवानपुरमा मतगणना आज बिहान १०ः३० बजेदेखि सुरु हुने
- BFIS News
- 2026 Mar 06 10:13
हेटौँडा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरको मतगणना शुक्रबार बिहान १०ः३० बजेदेखि सुरु हुने भएको छ।
दुवै निर्वाचन क्षेत्रका मतपेटिका मतगणना स्थल हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइसकिएको छ।
सबै मतपेटिका आइसकेपछि शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि १०ः३० बजेदेखि मतगणना सुरु गर्न राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरू सहमत भएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो।
बिहीबार सम्पन्न मतदानमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको थियो। कुल ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ मत खसेको हो। जसमा ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र ५ जना तेस्रो लिङ्गी मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा र क्षेत्र नम्बर २ को मतगणना ‘बी’ ब्लक भवनमा गरिनेछ।
मकवानपुरमा कुल ४४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन क्षेत्र नम्बर १ मा दलका १३ र स्वतन्त्र १० सहित २३ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा दलका १६ र स्वतन्त्र ५ सहित २१ जना उम्मेदवार रहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया