म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजारभन्दा बढी मतान्तरले विजयी
- BFIS News
- 2026 Mar 07 08:46
म्याग्दी, फागुन २३ गते । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार ९३१ मतान्तरसहित निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहनुभएका पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका **कर्णबहादुर भण्डारी (केबी)**ले ६ हजार ६७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार ५३० मत प्राप्त गर्नुभएको छ । मतगणनाको सुरुवातदेखि नै स्वतन्त्र उम्मेदवार पुनले फराकिलो अग्रता कायम गर्नुभएको थियो ।
विजयी पुनले आफ्ना समर्थकहरूलाई विजय उत्सव आयोजना नगर्न सूचना जारी गर्नुभएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि केही बेरमै समानुपातिकतर्फको मतगणना सुरु हुने उहाँले बताउनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया