रास्वपाको दुई तिहाइ बहुमतसँगै सेयर बजारमा उत्साह, स्थिर नीतिले बजार अझै माथि जाने तारा फुल्लेलको विश्लेषण
- BFIS News
- 2026 Mar 09 17:01
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमत ल्याउने सम्भावना देखिएसँगै नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ। चुनावपछि खुलेको पहिलो कारोबार दिनमा नै सकारात्मक सर्किट लाग्यो। आगामी दिनमा पनि बजारमा सकारात्मक माहोल कायम रहने अपेक्षा गरिएको छ।
शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलका अनुसार राजनीतिक स्थिरताको सम्भावनाले लगानीकर्तामा नयाँ आशा जगाएको छ। उनले विगतमा नेपालमा दलहरूले पाएको मतको तुलनामा रास्वपाले उल्लेखनीय समर्थन पाएको देखिएको भन्दै यदि दुई तिहाइ बहुमत प्राप्त भए संविधान तथा नीतिगत अवरोधहरू हटाउँदै काम गर्ने अवसर बढ्ने बताए।
फुल्लेलले भने, “यदि दुई तिहाइ बहुमत आयो भने ‘यो कारणले काम गर्न पाएनौँ’ भन्ने बहाना रहने छैन। त्यसपछि सरकार विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउन सक्षम हुनेछ।”
उनले विगतका राजनीतिक अभ्यासमा भ्रष्टाचार र नीतिगत कमजोरीका कारण देशको विकास गति सुस्त भएको उल्लेख गर्दै अब नयाँ पुस्ताका नेताहरूबाट सुधारको अपेक्षा गरिएको बताए। “देश अघि बढिरहेको थियो तर कछुवाको गतिमा। अब युवा पुस्ता नीति निर्माणको तहमा पुगेपछि देशको विकासका लागि राम्रो नीति आउने आशा छ,” उनले भने।
फुल्लेलका अनुसार देशको समग्र आर्थिक गतिविधि सुदृढ भएमा सेयर बजार पनि स्वाभाविक रूपमा बलियो हुने छ। उद्योग, पर्यटन तथा अन्य क्षेत्रको विकासले पूँजी बजारलाई सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।
“यदि स्थिर नीति बन्यो र सरकार पाँच वर्ष टिक्ने वातावरण बन्यो भने सेयर बजारमा सकारात्मक प्रभाव पर्छ,” उनले बताए। हालको बुलिस प्रवृत्तिबारे उनले बजार अझै माथि जाने सम्भावना रहेको उल्लेख गरे। यद्यपि बजार निरन्तर उकालो मात्रै लाग्ने स्वभाव नभएको भन्दै बीच–बीचमा करेक्सन हुँदै अघि बढ्ने उनको धारणा छ। “बजारले अघिल्लो उच्च बिन्दुलाई तोड्दै अगाडि बढ्ने सम्भावना देखिन्छ,” उनले भने।
फुल्लेलले पूँजी बजार सुधारका लागि सरकार र नियामक निकायले प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औंल्याए। उनका अनुसार नेपालमा अझै पनि पूँजी बजारका धेरै प्रणालीहरू पुराना र कमजोर छन्।
“आज पनि केही ब्रोकर हाउसमा टीएमएस प्रणालीमा समस्या आएको गुनासो आएको छ। यस्तो अवस्थाले बजारको विश्वास बढ्दैन,” उनले बताए।
उनले नेपाल स्टक एक्सचेन्जलाई पनि सुधार गरेर आधुनिक बनाउनु आवश्यक रहेको भन्दै सुधार सुझाव आयोगले दिएका सिफारिसहरू कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए। “नेपालको पूँजी बजारलाई अन्य देशको जस्तै प्राथमिकतामा राखेर नीति बनाइयो भने यो अर्थतन्त्रको ऐना बन्न सक्छ,” फुल्लेलले भने।
लगानीकर्ताको मनोविज्ञानलाई सकारात्मक बनाउनेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ। अहिले कतिपय लगानीकर्तामा ‘सेयर बजारमा लगानी हो कि जुवा खेलिएको हो’ भन्ने मानसिकता देखिन थालेको उनले बताए।
कम्पनीहरूको पारदर्शिता र मूल्य निर्धारणमा देखिएका असन्तुलनका कारण पनि लगानीकर्तामा विश्वासको संकट पैदा हुन सक्ने उनको भनाइ छ। उदाहरण दिँदै उनले रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा आएको ठूलो गिरावटले बजारमा प्रश्न उठाएको बताए।
फुल्लेलले दीर्घकालीन सुधारका लागि प्रतिस्पर्धी वातावरण, क्रस–बोर्डर लिस्टिङ, आधुनिक प्रविधि तथा स्पष्ट नीतिगत ढाँचा आवश्यक रहेको बताए। “दिल्ली र मुम्बईका स्टक मार्केटसँग तुलना गर्दा हामी अझै धेरै पछाडि छौँ। प्रणाली र नीतिमा सुधार गरेर दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनु आवश्यक छ,” उनले भने।
उनका अनुसार सही नीति र पारदर्शितासहित पूँजी बजारलाई प्राथमिकतामा राखिएमा सेयर बजार नेपालमा दीर्घकालीन लगानीको महत्वपूर्ण स्रोतका रूपमा विकास हुन सक्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया