सरकारद्वारा निजी विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन
- आयुस बस्नेत
- 2026 Apr 13 19:49
काठमाडौँ, चैत ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयहरूलाई नियमअनुसार प्रदान गरिएको छात्रवृत्तिको विवरण अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन तथा नियमावलीअनुसार निजी तथा सार्वजनिक विद्यालयहरूले विद्यार्थी सङ्ख्याका आधारमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति प्रदान गरे–नगरेको विवरण अद्यावधिक गरी अनुगमन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ अनुसार निजी लगानीका विद्यालय तथा सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूले विद्यार्थी सङ्ख्याका आधारमा तोकिएका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै शिक्षा नियमावली, २०५९ मा संस्थागत विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
सोही प्रावधानअनुसार मन्त्रालयले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली तत्काल अद्यावधिक गर्न निर्देशन दिएको छ । साथै विद्यालयहरूले छात्रवृत्ति विवरण अभिभावकले सहज रूपमा हेर्न सक्ने गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।
मन्त्रालयले छात्रवृत्ति विवरण अद्यावधिक नगर्ने विद्यालयहरूलाई कानुनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया