Nepal Life

लोकतन्त्र सुदृढीकरण र सुशासनमा जोड, सञ्चारमाध्यमको भूमिकाबारे छलफल

NMB Bank
  • BFIS News
  • 2026 Apr 13 20:16
लोकतन्त्र सुदृढीकरण र सुशासनमा जोड, सञ्चारमाध्यमको भूमिकाबारे छलफल
United Ajod

सल्यान, चैत ३० गते । सल्यानमा आयोजित एक कार्यक्रममा वक्ताहरूले लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुशासन र पारदर्शितामा विशेष जोड दिएका छन् । सदरमुकाम खलङ्गामा सोमबार बिहान आयोजित कार्यक्रममा सङ्घीय, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले जनआन्दोलन र सङ्घर्षबाट प्राप्त नागरिक स्वतन्त्रता र लोकतन्त्रमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने धारणा व्यक्त गरे ।

 

Shikhar
Nepal Life
NIMB

नेपाल पत्रकार महासङ्घ सल्यानद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सल्यानका प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले वर्तमान सरकारले लोकतन्त्र र लोकतान्त्रिक संस्थामाथि अंकुश लगाउने प्रयास गरेको आरोप लगाउनुभयो ।

उहाँले नागरिक सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतन्त्र कमजोर पार्ने गतिविधि बढ्दै गएको भन्दै विश्वविद्यालयजस्ता शैक्षिक संस्थामा समेत हस्तक्षेप भइरहेको बताउनुभयो । राजनीतिक प्रभावबाट टाढा राख्ने नाममा संस्थाहरू नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने उहाँको भनाइ थियो । साथै, सरकारले गरेका केही सकारात्मक कामको भने समर्थन गर्ने उल्लेख गर्दै संसदीय प्रक्रियामा जनताको आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व कृषि मन्त्री तथा कर्णाली प्रदेश सांसद भीमप्रकाश शर्मा ले सुशासन र पारदर्शिता कायम राख्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उहाँले सरकारका कमजोरीहरू पनि उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

सल्यान जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले पत्रकार र सञ्चारमाध्यमको भूमिकालाई प्रशंसनीय भन्दै सरकारी गतिविधिहरू सार्वजनिक गर्न मिडियाको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

उपप्रमुख अस्विर बुढाथोकीले पत्रकार तथा सञ्चारमाध्यमको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा वली (डीसी) ले स्थानीय तह र सञ्चारकर्मीबीच समन्वय अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सञ्चारमाध्यमलाई राज्यको चौथो अंग भन्दै सहकार्यबाट मात्र देश समृद्ध हुने बताउनुभयो । उहाँले हालका दिनमा केही असावधान समाचारले भ्रम सिर्जना गरेको भन्दै जिम्मेवार ढङ्गले सूचना संकलन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सल्यानका पूर्व अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) कर्णाली प्रदेश अध्यक्ष प्रतीक ईश्क शर्मा र महासङ्घ सल्यानका पूर्व कार्यवाहक अध्यक्ष शान्त शर्मा लगायतले नवनिर्वाचित सांसद मल्ललाई बधाई दिएका थिए ।

कार्यक्रममा महासङ्घ सल्यानका अध्यक्ष दिलीराज रावत, उपाध्यक्ष शिव दाङी, सचिव बुद्धि पुनलगायत पत्रकारहरूले पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया