मुखियापट्टी मुसहरनियामा ६५ वर्षीय राजेन्द्र माझीको सपना पूरा, पक्की घर पाएपछि खुशी
- BFIS News
- 2026 Apr 19 17:55
ढल्केबर, वैशाख ६ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ६५ वर्षीय राजेन्द्र माझीले वर्षौंदेखिको कष्टकर फुसको छाप्रोको जीवनबाट मुक्ति पाएर पक्की घर पाएपछि अत्यन्तै खुसी व्यक्त गर्नुभएको छ ।
तीन धुर जमिनमा बनेको दुई कोठे छाप्रोमा परिवारसहित बस्दै आउनुभएका उहाँ वर्षामा पानी चुहिने र जाडोमा कठ्याङ्ग्रिनुपर्ने बाध्यतामा हुनुहुन्थ्यो । अहिले शौचालय र भान्छासहितको सुरक्षित पक्की घर पाएपछि जीवन सहज बनेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो जुनीमा यस्तो घर पाइएला भनेर सोचेकै थिइनँ, अब बसोबासको चिन्ता हट्यो, अब परिवार पाल्न मात्रै ध्यान दिनु छ।”
त्यस्तै सोही ठाउँकी निरो देवीले पनि शौचालयसहितको पक्की घर पाएपछि खुशी व्यक्त गर्नुभएको छ । वर्षौंदेखि फुसको घरमा बस्दै आएकी उहाँले अहिलेको घरलाई सपना पूरा भएको अनुभव भएको बताउनुभयो ।
यो परियोजना ह्याबिटेट फर ह्युमनिटी नेपाल, मुखियापट्टी मुसहरनिया गाउँपालिका र रतौली युवा क्लब को सहकार्यमा सुरक्षित आवास सुदृढीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो ।
रतौली युवा क्लबका कार्यक्रम संयोजक निरजकुमार सिंहका अनुसार हालसम्म १४ घर निर्माण गरी हस्तान्तरण गरिसकिएको छ भने थप १६ घर निर्माणाधीन छन् । प्रत्येक घर निर्माणमा करिब ६ लाख ४२ हजार रुपैयाँ लागत लाग्ने गरेको छ ।
उहाँका अनुसार लागतको हिस्सा गाउँपालिका, ह्याबिटेट फर ह्युमनिटी नेपाल र लाभग्राहीको श्रमदानबाट जुटाइएको हो । घरमा दुई कोठा, भान्छा, शौचालय र चापाकल समेत समावेश गरिएको छ ।
घर निर्माणमा बाँसको प्रयोग गरी प्रकृतिमैत्री तथा भूकम्प प्रतिरोधी संरचना बनाइएको छ, जसले ४० वर्षभन्दा बढी टिक्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष जयकुमार यादव ले विपन्न, दलित तथा सीमान्तकृत परिवारका लागि सुरक्षित आवास उपलब्ध गराउनु स्थानीय सरकारको जिम्मेवारी भएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ५६ घर निर्माण भइसकेका छन् भने थप ११४ घर निर्माणको तयारी भइरहेको छ ।
यस परियोजनाले अव्यवस्थित बसोबासीको जीवनस्तर सुधारसँगै सुरक्षित आवासको सुनिश्चिततामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)






प्रतिक्रिया