पूर्वसूचना प्रणाली प्रभावकारी भए विपद् क्षति घटाउन सकिन्छ : सरोकारवाला
- आयुस बस्नेत
- 2026 Apr 20 21:59
काठमाडौँ, वैशाख ६ गते । विपद्जन्य घटनाको पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकारवाला निकायका प्रतिनिधिहरूले बताएका छन् ।
काठमाडौँमा पूर्वसूचना प्रणालीसम्बन्धी राष्ट्रिय कृत्रिम घटना अभ्यासअन्तर्गत तीनदिने कार्यक्रमको उद्घाटनका अवसरमा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले पूर्वसूचना प्रणाली प्रभावकारी र समयसापेक्ष भएमा पूर्वतयारी तथा प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले सबैका लागि पूर्वसूचनासम्बन्धी राष्ट्रिय मार्गचित्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले सरकारले पूर्वसूचनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सोहीअन्तर्गत यो अभ्यास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्ल, आइएफआरसीका हेड अफ कन्ट्री डेलिगेसन डेभिड फिसर र विश्व खाद्य कार्यक्रमका कार्यक्रम निर्देशक हेइले अबेराले पनि पूर्वसूचना प्रणालीको महत्वबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।
अभ्यासमा संघीय मन्त्रालय तथा विभाग, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । दोस्रो दिन टेबल–टप अभ्यास र तेस्रो दिन कीर्तिपुरको टौदहमा स्थलगत अभ्यास हुने प्राधिकरणले जनाएको छ ।
सबैका लागि पूर्वसूचना प्रणालीका चार प्रमुख स्तम्भ रहेका छन् । ती हुन्—विपद् जोखिमको ज्ञान, अवलोकन/विश्लेषण/पूर्वानुमान, चेतावनीको प्रवाह तथा सञ्चार, र पूर्वतयारी/प्रतिकार्य तथा क्षमता विकास ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया